सत्ताको महाभारत, सञ्जयको रिपोर्टिङ्ग, हामी धृतराष्ट्रहरू।


म, अमेरिकामा बस्ने, थाक थलो सबै नेपालमा भएको, राजनीतिमा रुचि राख्ने, पढ्न भनेर आएको, पढाइ सकेर युनिभर्सिटीमा रिसर्च गरिरहेको एक सामान्य मान्छे। अझ भन्न पर्दा, चिने जानेका सबैले हुन्न-हुन्न भन्दा-भन्दै, अनि सायद आफैँले पनि जान्दा-जान्दै, जे होला-जसो होला नेपाल नै फर्केर केही गर्छु भनेर अड्डी कसेर बसेको, सायद गैर नागरिक हुन नचाहने हाल अनागरिक? 

बिहान सबेरै बुवाले रेडियोमा समाचार बजाउनुहुन्थ्यो, पहिले रेडियो नेपालमा अनि अलिपछि कान्तिपुरमा। त्यही रेडियोमा समाचार सुनेर बिहान उठ्ने बानी परेर हुर्केको म। त्यही रेडियोमा सुनेको मदन-आश्रित दुर्घटना होला मेरो पहिलो सम्झना नेपालको राजनीतिको। त्यही रेडियोमा धेरै पटक नयाँ सरकार, शासन, जनयुद्ध, संविधान बनेको-भत्केको समाचार सुनेर ठुलो भएको म।

बिस्तारै पत्रिका, पछि केवल अनि अलिपछि इन्टरनेट आए। अहिले टाढाबाटै भए नि नेपालको समाचार बिहानै हेर्दै-सुन्दै-पढ्दै उठ्ने बानी अझै छ। बिहानै उठ्छु, नेपालका केही समाचारहरू निहाल्छु। त्यही समाचारहरू, कसले कसो भने, कुन पदका लागि के सहमति भयो आदि-इत्यादि। हरेक बिहान लामो सुस्केरा तान्छु, सोच्छु के हामी सधैँ यस्तै हो त? अनि सम्झन्छु सञ्जयलाई। महाभारतलाई। अन्धा धृतराष्ट्रलाई। 

पहिले कुरा गरौँ महाभारतको। आजभोलि राष्ट्रपतिको लागि तँछाडमछाड जो चलिरहेको छ। देशको सेरोमोनिएल चिफ। कसैले मलाई नदिए हामी सरकार छाड्छौ भनेको छ। कसले पाए पार्टी मिलाउने रे। आज बिहानै ट्विटरमा एक जना साथीले आजसम्मका राष्ट्रपति पदका दाबेदारहरू जम्मा गर्नुभएको देखेको थिएँ, साढे एक दर्जन। पूर्व सभापति, पूर्व प्रधानमन्त्री, पूर्व सिपाही/छापामार, पूर्व न्यायाधीश, पूर्व राजा; जसलाई पनि चाहिएको छ, सबैको आफ्नै आफ्नै एंगल छ। केही दिन अघि लामिछाने र गृह, केही महिना अघि ओली-देउवा, ओली-प्रचण्ड, प्रधानन्यायाधीश र अरू प्रमुख बिचको खिचातानी। हाम्रो देशको राजनीति सत्ता र पदको म्युजिकल चेयर,  अनि शासन-प्रशासन चाहिँ पदका लागि हुने भित्री महाभारत?

जुन जोगी आए पनि कानै चिरेका भए। मैले ठ्याक्कै आस गर्न छाडेको चैँ, देशमा हजारौँ दिन-दिनै मरिरहेको कोभिड महामारीको माझमा काठमाडौँमा भेला भएका तीन खाले भीड देखेर हो। कारण त्यही सत्ता। यहाँ सबैलाई पद नै चाहिएको रहेछ, सरकारमा सामेल हुने, मन्त्री- प्रधानमन्त्री- राष्ट्रपति बन्ने। बनेर के गर्ने हो?

प्रचण्डले जनयुद्धमा अन्तरे काकालाई के के बाचा गरेका थिए कुन्नि? ओलीले पञ्चायत कालमा लुक्दा पुष्प काकासँग सङ्कल्प नि गरेका थिए होलान् की? देउवाले त्यत्रो वर्ष जेल अनि प्रवासमा बस्दा देशको प्रधानमन्त्री बन्छु भनेर ठानेका थिए होला त, यदि ठानेका भए के गर्छु भन्दा हुन? अनि बालेन, रवि, रवीन्द्र, राजेन्द्र, नेपाल, राउत सबैले के के भने, के के गर्दै छन्, के गर्लान्, लेखाजोखा छ र? सत्ताको भोग या रोग हो, पुराना नयाँ सबैलाई लागेको छ। जसरी हुन्छ ठाउँमा पुग्ने, पुगेर आफूलाई र आफ्नालाई सके जति गर्ने?   

अनि कुरा सञ्जयको, सञ्जयले धृतराष्ट्रलाई महाभारत जस्ताको त्यस्तै सुनाए झैँ, नेपालको समाचार हामीलाई सुनाउने नेपालका मिडियाहरू। आजको हेडलाइनमा जताततै राष्ट्रपति पदका लागि फलानोले यसो बने, ढिस्कनाले यिनलाई सिफारिस गरे, चिलानाले यसो भने आदि आदि….। अँ! कतै-कतै अदालतले बलात्कारको फैसला कुरी रहेका आरोपी को बढाइँ पनि छ है।

केही दिन पहिले प्लेन दुर्घटना भयो, विगत दुई-दशकको सबैभन्दा ठुलो, गएको १० वर्षमा १७ औँ पटक। सबैले समावेदनको सन्देश लेखे, एक-दुई दिन कभर पनि गरे। सरकारले एक दिन बिदा दियो, समिति बनायो, पुराना प्लेन, पुराना सामान प्रविधि पाइलट या विमान कसको गल्ती हो, न सत्य तथ्य थाह हुन्छ, न कसैलाई अर्को हप्ताबाट चासो नै। दुर्घटना भन्दा तातो तातो त रविको नागरिकता थियो नि।

त्यसको केही दिन पछि, बिच सडकमा एक जनाले रिनको मारमा आत्मदाह गरे। त्यो दिनको सबैभन्दा ठुलो  समाचार तोसमा हस्पिटल जानु बन्यो। सबै उनैको पछि लागे गाली गर्न, भोलिपल्ट को मुख्य समाचार रविको नागरिकता बन्यो। घटनाको पर्सी पल्टबाट सबैले बिर्सिए, न कसैले कारण जान्न खोजे, न कसैले आत्मदाह गर्नेले सोधेका प्रश्नबारे नै चासो राखे, न त उनलाई त्यस्तो कदम उठाउन बाध्य बनाउने लोन सार्कबारे कसैले अनुसन्धान गर्न खोजे।

दुवै घटना हुन नदिन के गर्न सकिएला त, कसैले पनि सोच्यो होला त? 

म पत्रकारिता त खासै जान्दिन, तर पत्रकारिता भनेको नयाँ राजाहरूको को नाङ्गो जात्रा जस्ताको त्यस्तै ट्रान्सक्राइब गर्ने मात्रै त पक्कै पनि होइन होला नि? हो, हाम्रो देशको राजनीति एकदमै पत्रु छ, तर त्यही पत्रु राजनीतिलाई, रङ्गमञ्चको रिपोर्टिङ गरेझैँ दुरुस्तै छापेर मात्रै हुन्छ र? एउटा सेरेमोनीएल पदका लागि देश ठप्प छ। चुनावमा सबै जानाले के के गर्छौँ भन्ने बाचा गरेको थिए, कहाँ पुग्यो के गर्नु भयो त भनेर कसले सोध्ने?

देशको अर्थतन्त्र धरापमा छ, फेरी अर्को महामारी आयो भने के गर्ने, नयाँ रेल-नयाँ बाटा हरू कता पुगे, किन हो जताततै भ्यु-टावर बनाउनुपर्ने? आज नहरको फैसला सुनेँ, किन हो सबै कुरा पनि बन्ने बित्तिकै भत्कने, अनि भत्के पछि बल्ल खोट भेटिने? साझाका बसहरू कता हराए, पुराना उद्योगहरू किन कि बन्द- कि घाटामा, कब्जा गरिएका सरकारी जमिनहरू कसरी फिर्ता गर्ने, देशको पूर्वाधार निर्माण गर्न के के गर्ने, के के गरे? लोडसेडिङ हटाउन, सवारी/हवाई दुर्घटना कम गराउन, महिला-जातीय हिंसा निर्मूल गर्न के के हुँदै छ त, छुवाछुत, छाउपडी, दाइजो हरू अझै किन छ त? जिम्मेवारीमा भएका सबै नेतालाई भेट्दा “तपाइ पनि राष्ट्रपति को दाबेदार हो” भनेर सबैलाई सोध्नको साटो, कसैलाई त यस्ता गाह्रा प्रश्नहरू गर्ने हो की?

यी सबै प्रश्नहरू, सबैको जबाफदेहिता खोज्ने जिम्मा पक्कै एक्ली सूमना को मात्रै होइन होला नि?  महाभारतमा, असोस्थामा ले पाण्डव भन्ठानेर पाँच पाण्डव पुत्रको वध गरेपछि सञ्जयले मैले सकिन भनेर छाडेका थिए रे। तपाइहरू कहिले सम्म यस्तै चल्दै छ, यस्तै चलाइराख्ने हो भन्दै बस्नुहुन्छ?

अनि बाँकी भयौँ हामी आम जनता, देख्ने तर अन्धा धृतराष्ट्रहरू। धृतराष्ट्रको लागि संसारमा सबैभन्दा प्यारो दुर्योधन थियो रे, जसका लागि उ हरेक हदसम्म जान तयार थियो। हामी पनि त्यस्तै छौँ। हामीले मन पराएको मान्छे सबैभन्दा राम्रो, उसको सबै कुरा ठिक, बाँकी सबै बेठीक। चाहे समर्थक जसको सुकै हुन, समर्थकका लागि उनिनै ठिक, बाँकी सबै बेठीक हुन्छ। सबै हनुमान, सबैको पुच्छर लामो। कहिले बाह्र भाइ, कहिले अमेरिका-चाइना-इन्डिया, दोष जति सधैँ अरूको नै हुन्छ। अनि हामी पनि ठिकै हो ज्यु भनेर बस्छौ। होइन, निस्कन्छौ  इन्टरनेट र पत्र पत्रिकामा आफ्नो मान्छे र कुराको समर्थनमा अनि व्यस्त हुन्छौँ, हो-हल्ला अनि विपक्षीलाई नाना भाँती गाली गर्न। अनि डलरवादी र कसको दलाल भनेर तक्मा लगाउने हतारोमा, हामीलाई न याद हुन्छ, न मतलब, खास कुरा के थियो भनेर। 

अङ्ग्रेजी एउटा शब्द छ, “whataboutism”, हामी नेपालीहरूलाई एकदमै सुहाउने। बालेनले त्यसो गरे रे, अनि विद्यासुन्दर ले चाहिँ के गर्‍या थियो त? सन्दीपलाई आरोप लाउने, ऊ पनि त सँगै होटेल गएकी थिई त? पत्रिका र पत्रकारले रविकै मात्र पछि किन लाग्ने? आफूसँग परिचित र आफूले समर्थन गर्ने कि त सबै निर्दोष हुन्छन्, कि कसैले फसाउन खोजेको हुन्छ। अस्ति, गृहमन्त्री नपाएको झोँकमा रविले पत्रकार सम्मेलन गरेर भने “मैले गल्ती गरेको होइन भनेको होइन, तर मेरो जस्तो गल्ती गर्ने अरूको पछि खै लागेको त?” नेपथ्यमा हो हो र, हाम्रो रवि राम्रो रवि राम्रैसँग गुन्जिएकै थियो। सायद “whataboutism” को चरम उदाहरण सायद त्यही होला।

नयाँलाई आशा गर्नु पहिलो पटक पक्कै होइन, एक पटक माओवादलाई हेर्‍यौँ क्यारे, एक पटक राप्रपालाई, अहिले स्वतन्त्रलाई। भन्नै पर्दा, म उनको “हो मैले गहना चोरेको हो, तर मैले गहना लगाएको त छैन” वाला बचाउ मा सहमत छैन। म रविसँग खासै आशा राखेको मान्छे होइन, मलाई उनले प्रयोग गर्ने भाषा, उनको नार्सीजम मन पर्दैन। अनि त्यसैको पछि लागेर हो हो भन्दै कराउने भीडसँग एकदमै विमति पनि छ। न कसैले सोध्यो, खोज्यौँ या राम्रोसँग बुझ्यौँ, पार्टीको सिद्धान्त के हो, सरकारमा गए-नगए के गर्ने हो? हल्ला र इन्टरनेटको प्रचारको भरमा पछि लाग्यौ नो नट एगेन भन्दै जितायौँ नयाँ अनुहार, देख्यौँ पुरानै सत्ता लालाश भएका राजनेतालाई। देखेर पनि नदेखे झैँ गर्‍यौँ। त्यहीँ कतै भनेका थिए, “गर्लफ्रेन्ड थिई, कुरा मिलेन बच्चा भयो सकियो त”, के भनेको हो, १२ भाइमा भुलेर न कसैले जबाफदेहिता खोज्ने, न कसैले खोज्न सक्ने नै। दलबल हनुमान सेना तयार छ, ह्वात एबाउट दिस् एन्ड द्याट् भन्दै।

मन्त्री र नेता मात्रै होइन, भुवन, पल, सन्दीप सबैको आफ्नै आफ्नै हनुमान सेना। कसैले पनि बलात्कार वा कुनै पनि त्यस्तो अपराध गर्न सक्दैनन् भन्ने। कहिले, कोही आँट गरेर अघि आए सबै जना खनिन्छन् उनैको पछि, फेरी अर्को पटक इज्जत लुट्न। अहिले, केही दिन अघि बलात्कार आरोपी सन्दीपको नेपालको तर्फबाट क्रिकेट खेले। हामी थोरैले विरोध गरी हेर्‍यौँ, केहीले क्रिकेटका लागि भनेर मतलब गरेनन्, धेरै खुसी पनि भए। उनको समर्थनमा एक खाले झुन्ड छ, जसले सन्दीपलाई निर्दोष देख्छ र दोष जति सबै आरोप लगाउने महिलाको हो, फसाएको हो भन्छ। अनि अर्को खाले झुन्ड छ, जसले बलात्कारकै आरोप लागेको भए पनि देशको लागि अपरिहार्य भएकोले कारबाही गर्न हुन्न भन्ने।

केही दिनअघि सन्दीप सङ्ग स्कटल्यान्डका खेलाडीले हात मिलाउन नमानेकोमा धन्यवाद भन्दै पोस्ट गरेको थिए, केही चिने जानेका साथीहरूले पारस, बाह्र-भाइ अनि सोरोस’को दलाल समेत भन्न भ्याएका थिए। कसैले सोच्यो होला त, ती आरोप लगाउने नानी आफैले चिनेको भए कस्तो लाग्दो होला, ओहो यस्तो असामान्य घटनालाई हामीले कति हल्का बनाएर सोचिरहेको रहेछौँ, संसार भरि नेपालको इज्जत कस्तो भयो भनेर? हुन त, टिकटकमा भिडियो केलाएर “सन्दीपले पो नमिलाएको हो त” भनेर सबैतिर कराउनबाट फुर्सद भए पो? 

बिहान उठ्यो, चिया सँग युट्युब-टिकटक अनि समाचारमा देशको सर्कस हेर्दै रमाउने बानी जो परेको छ। हाम्रो रवि राम्रो रवि, के पी ओली we love you, १२ भाइ होसियार, २० लाख खोइ यस्तै यस्तै। 

रमाइलो छ, कहिलेसम्म हो कुन्नि।

Posted in ,


Leave a comment


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun





kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.