आज, २०८१ साल असोज २३ गते, पुरेत बाजेको निम्ति षष्टीको दिन, दशैँ मनाउनेहरूको निम्ति दशैँ सुरु हुन अघिको दिन, दशैँ नमनाउनेहरुको निम्ति बिदा सुरु हुने दिन, मेरो निम्ति, फेरी अर्को शिशिर-वसन्तको यात्रा सुरु गर्ने दिन, साथीहरू भन्ने गर्थे, आडम्बर देखाउनै भएपनि मैले केक र मोमबत्ती बाल्नुपर्छ रे, दुनियाँलाई देखाउनै भएपनि मैले मिठाई बाँड्नुपर्छ रे; मर्दा-मर्दै बाँचिरहेको अनि बाँच्दा-बाँच्दै मरिरहेको समयमा, फोस्रो आडम्बर र देखावटी शोख कसरी पो देखाउनु।
देखेका, सुनेका, टुटेका, फुटेका, सकिनसकी अडिएका एक थान सपनाहरू, दूर्गन्तव्यमा पुग्ने अठोटको साथ, एउटै गति, लय र सुरमा, अगाडी पछाडी, दायाँ बायाँका बादलहरू छिचोल्ने प्रयास गर्दा गर्दै- अड्किरहेको, अनकन्टारको जंगलमा, अल्झिरेहेको बन्धनमा, निरन्तर अघि बढिरहेको, शिखर छुने सोच, हुनु-नहुनुको आभाषमा, केही बन्ने प्रयास।
सोचेका, सिंचेका, हलुका, गार्हो, रित्तिएका हज्जार खुसीहरू, सजिएका विपनाहरू, वैरङ्गी सपनाहरू, संसारलाई जित्ने रहर, शिखर चढ्ने अहम्, प्राप्तीको आश, अभावको त्रास, त्याग र भोग, फरक फरक पारामा बाँधिएका यथार्थहरू; सबै पाएर पनि केही नपाए जस्तो, सबै भएर पनि केही नभए जस्तो, केही गुमाए जस्तो, केही हराए जस्तो, संसार जित्ने प्रतिस्पर्धामा भाग नै नलिइ हारेर, अनवरत चलिरहेको पाहडी मन: अस्तित्व यात्रा।
इच्छा-अकांछा, संघर्ष-आत्मस्विक्रृतिका, आशा, अभिलाषा, अस्तित्वका तानाबानाहरू, के के न थाह छ भन्दै डुक्रने यो बुद्धी, के के होला कि भन्दै सुस्कने यो सुद्धी, अशान्त मन, व्यथा र बेदना, एक मुरी आँधिपुराणहरू, केही नहुनुमा नै केही हुनु रहेछ, भनेर जान्दा जान्दै पनि रित्तोपनमा तड्पने मन, थाह छ अब यहि, थाह छैन सबै केही, जे हुँ जस्तो हुँ, स्विकार्दै आफुलाई, अस्तित्व खौज्दै-हराँदै-भुल्दै, जिन्दगी रमिरहेको थियो, समय यन्त्रले सम्झनाहरू बजाइदिएछ, सुचना तन्त्र, हिजोको, भविष्यको, फेरि अर्को जन्मदिनको, खुल्चेको मनलाई सुल्झ्याउने उल्झान: आत्मआलोचना को कविता, बस यही हो मेरो जन्मदिनको सेलेब्रेसन।
नोट: कविताको सुरुका हरफहरू मदन भन्डारीको 'आज मेरो जन्मदिन' कविता बाट।
Leave a comment