
सहरको छातीमा
उठिरहेको धुवाँ,
फगत बाफ न हो,
ठहरिएको सहर तताउन
मानिसहरूले फालेको-
सडकले थाम्न नसकेको।
रोकिएको त
यात्रु बस हैन,
रोकिएका त
अनुहारहरू छन्,
बिहान-बेलुकीको-
हतार-लतारा-चतारामा,
सडकमै हराएका सपनाहरू,
सहरले थिचेका आकांक्षाहरू।
सहरले थोपरिदिएको
अदृश्य थकान बोकेर,
समयको ऋण तिर्दै,
मूल्य तिर्दैछन्-
समयको, धैर्यको, रहरको,
सहरले थोपरेको
अदृश्य पीडाको।
धुवाँमा अनुहार हराए,
सडकमा पाइला हराए,
सहरमा सबैले-
ठेगाना सोध्दै हिँड्छन्,
तर यहाँ कसैलाई-
बाटो थाहा हुँदैन।
हिँडिरहने कोही-
सपना बोकेर,
कोही—छोडेर,
कोही—भुल्न,
कोही—सम्झन।
ट्रेन, बस, कार,
बाइक चढेर,
या हिँडेरै नै-
पुग्न त पुगिन्छ,
दिनैपिच्छै-
सहर हिँडिरहन्छ,
संगसंगै-
हामी हराइरहन्छौं;
साँच्चिकै पुग्ने-
गन्तव्य कता हो?


Leave a comment