I.
सानो बेलाबाट नै किताबहरूप्रति मेरो बिछट्टकै मोह थियो। अक्षरहरूकै छाँयामा हुर्किएको मेरा लागि किताबहरु आसक्ति मात्रै थिएनन्, साथीहरु नै तिनै बनेका थिए। आजसम्म पनि रहिरहेका केही नजिकका साथीहरु लाई छाडेर भन्ने हो भने, मेरा सहयात्रीहरू नै किताबका ति पात्रहरू थिए। अझैपनि तिनै रहिरहेका छन्।
बाबालाई सोध्न पर्ला कुनै दिन, उहाँले ल्याउने पत्रिका मैले पढ्न धेरै रुचाएँ भनेर हो कि, उहाँको पत्रिकामा समय धेरै ओगटेँ भनेर हो, खोइ कुन्नी किन हो, मैले अक्षर खुट्याउन सक्ने भए देखि नै नछुटाईकन मुना, सुनकेशरी र अरू बजारमा पाउने सबै बाल पुस्तकहरू ल्याइदिनु हुन्थ्यो। सुरु-सुरुमा म मात्रै पढ्थेँ, पछि बहिनी र म पालैपालो पढ्न थाल्यौँ, कतिपटक कसले पहिले कुन पढ्ने भनेर झगडा पनि पर्थ्यो। जुन पढ्ने पालो आउँथ्यो, पाउने बित्तिकै पढि सकाइ हाल्न पर्ने, सकेपछी यस्तो छ भनेर स्कुलमा साथीहरूलाई देखाउने हतार झन् उत्तिकै हुन्थ्यो।
काका हरुले कहिलेकाहीँ स्पोर्ट्स-स्टार, विस्डम र रिडर्स डाइजेस्ट अनि विज्ञानका मासिक पत्रिका हरु ल्याइदिनु हुन्थ्यो। मैले क्रो र लारा, साम्प्रास र स्टेफी-मोनिका अनि म्यारोडोना र बाजीयोलाई पहलो पल्ट स्पोर्टस्-स्टार बाट नै हो चिनेको।
सन् १९९६ मा जुपिटरमा खसेको एस्टोरोइड, ‘बुढाथोकि बाबैले बनाएको डोको थापेर रोक्न सकिन्छ कि’ भनेर पनि सोच्न भ्याएको थिएँ मैले। उहाँले बुन्ने डोकोले आकाश त अड्याउन सक्थ्यो कि सक्दैन थियो कुन्नि? पोलियोले बाँस झ्याङमै सीमित गरेपनि, सधैँ जसो दिनभरि बुनी-बनाइ रहेका हुन्थे। त्यसो त, एक (भारतीय) विज्ञान पत्रिकामा पढेको कथा “सालामान्डर कारक” कै प्रभावमा यो विषय पढेर आजको म भएको भन्दा सायद बेठीक नहोला कि जस्तो पनि लाग्छ, कारणहरू त अरू पनि छन्।
बुवाले घरमा दिउँसो सधैँ पाठ गर्नुहुन्थ्यो; कहिले मुना र मदनका कुरा, कहिले गौरी-शान्ति र कान्तिका कुरा, धेरै जसो देवासुर संग्राम र अरू ‘धर्म ग्रन्थहरु’ सुनाउनु हुन्थ्यो। अहिले पनि, कसैले ‘गौरी’ पढ्यो भने, म त्यहि सानो बेलामा पुगि हाल्छु। हजुरदिदीको अनुहार झल्झल्ती छाउँछ, बुवाको त्यही आवाज गुञ्जन्छ; सुनेकै भरमा दिदीले दोहोर्याएको अझ उत्तिकै सम्झन्छु। म आज फेरि त्यही पुरानो घरको बार्दलीमा उभिएको छु- किताबका अक्षर र पात्रहरूमा हराउँदै-खोज्दै-भुल्दै।
अहिलेको मलाई, कसैले ‘तैँले पढेको पहिलो किताब कुन हो?’ भनेर सोधे भने “चम्किलो रातो तारा” भनि हिँड्ने गरेको छु। नेपालीमा पढेँ कि हिन्दीमा एकिन सम्झन सक्दिनँ म; किताब पनि त के कति बुझेँ होला र खै। सम्झनामा एउटा केटो छ- कभरमा रातो तारा बोकेको, उसैलाई देखेर पढ्न तम्सेको थिएँ म।
मैलै साँच्चिकै छिचोलेर पढेको पहिलो नेपाली किताब देवकोटाको मुनामदन नै हो क्यार। रुँदै-रुँदै पढेको, सुक्क-सुक्क गर्दै बुवालाई सोध्थेँ;
बुवा -
‘झ्याउरे भाका भनेको के हो?’,
‘किन अरू सबै किताब जलाइदिनु भनेका?’,
‘क्षत्रीले मात्रै किन हो ढोग्न पर्ने?’,
‘काजी हरू सबै त्यस्तै हुन्छन् हो?’,
‘मानिस ठूलो जातले हुँदैन भने, आमाले ठूल्दीदीलाई दही/मही दिन किन नहुने?’
त्यतिबेला बुवाले मेरा यी यावत् प्रश्नहरूको उत्तर दिनुभयो कि नाइँ यकिन सम्झन्न। किताबको लत चाहिँ त्यहिबाट नै लाग्यो मलाई। चार कक्षामा पढ्दै गर्दा, चार महिना बिरामी भएर घर बसेको थिएँ, चार गुणा बढी पढ्ने बानीले छोप्यो त्यसपछि। किताबहरू प्रश्न मात्र थिएनन् अब, उत्तर पनि बनेर आएका थिए। मनभरिका जिज्ञासका उत्तर खोज्न आजकाल जस्तो इन्टरनेट थिएन त्यो बेला, तर घरभरि जति पनि किताबहरू थिए ति पर्याप्त थिए साथ दिनको लागि।
पञ्चायतको बेला, बाबाका वामपन्थी साथीहरूको भद्र आन्दोलन रे- भुमिगत जन-जागृती पुस्तकालय। पञ्चायत सकेर बहुदल को सुलसुलोमा म पनि आइपुगेको थिएँ र सँग-सँगै हाम्रो घरमा आइपुगेका थिए त्यहाँका अधिकांश किताबहरू; दुई अलमारी कोचा-कोच ।
केही राता, धेरै नेपाली साहित्यका, केही अंग्रेजी साहित्यका, अनगिन्ति नेपाली साहित्यिक-असाहित्यिक पत्रिकाहरु। मधुपर्क र गरिमामा नयाँ रचना र चेतनाका पुराना; कथा-कविताहरुसँगको लत चाहिँ यिनैले बसाए सुरुमा मलाई। अँ कविता को कुरा गर्न भनेर लेख्न सुरु गरेको, पर्खनु न, अलि एक छिनमा गर्दै गरौँला।
II.
अलि अलि बुझ्दै पढ्न सुरु गर्ने बेला, मैले सुरुमा प्रश्रितको देवासुर सङ्ग्राम, मानव र गोलघरका संदेश भटाएको थिएँ; थापा/नेपालको ‘खुइते कडरिया’ अनि बान्तवाको जीवनी, यिनिहरू नै पहिलो चरणमा परेका थिए मेरा लागि।
स्कुलको पाठ सजिलो लाग्थ्यो, कक्षामा सोध्दा सबै जान्ने, जाँचमा चाहिँ कहिल्यै राम्रो गर्न नसक्ने, सर-मिस तथा घरमा सबैजाना अवाक हुनुहुन्थ्यो- किताबहरू खोस्नुभएको चाहिँ याद छैन मलाई, गर्नु भएन नै होला। तर, स्कुलका किताब पछाडि लुकाएर नै भए पनि सही, सुरु गरेपछी नसकाई सुत्नै नसक्ने बानी लागेको थियो, अझै पनि छाडेको छैन।
यात्रामा बिस्तारै अरूहरू पनि जोडीएका थिए। महाकवि त छँदै नै थिए, पछि मैनाली ‘नासो’ र ‘कर्तव्य’, अनि रिमाल ‘मसान’ लिएर आइ पुगेका थिए। अर्यालले ‘भोलीबादी’ बनाइदिए, श्रेष्ठ ले ‘बाँचिरहेको आवाज’ सुनाए, संग-संगै कटुवालले ‘यो जिन्दगी खै के जिन्दगानी’ भन्दै करङ्ग देखाएर जङ्रङ्ग बनाएका थिए।
तराइ उहि: बत्ति-पंखा केही थिएनन्, गर्मीमा स्कुल छुट्टी भएपछि पढ्ने ठाउँ भन्दै लिच्चीको रुखको टुप्पोमा बस्ने ठाउँ आफैले बनाएको थिएँ। त्यही ‘पढ्ने ठाउँमा’ बसेर नहरचोक हेर्दै पहिलोपटक पढेको “मेरो चोक” कविताका ‘मान्छेले बनाएको इश्वर कि इश्वरले बनाएको मान्छे’ भन्ने शब्दहरुले अझै पनि घँचेटी नै रहन्छ।
मैले रामायण त अलि पहिले नै पढेको थिएँ क्यार। मोदि आइन र सुम्निमा पढेर अवाक भएपछि महाभारत पढेको जस्तो लाग्छ। टिभीमा त हेरेको नै हो। पढ्नु अघि नै स्वस्थानी या तीजको कुरामा त कहिले चित्त बुझ्दैन थियो मेरो:
‘ब्रत किन बस्नपर्ने’, ‘पानी खान किन नहुने’, ‘के-का लागि’,
‘छोरा नभए मीत छोरालाई किन दिन पर्ने रे, छोरीलाई दिए के हुन्छ’,
‘सती ले देहत्याग गरेपछी शिव पागल भएर नै त त्यसो गरी हिँडेको होला’,
‘विष्णुले वृन्दालाई गरेको छलको सजाए के हो त’,
‘अनि ७० वर्षको मान्छेले मागेकै भरमा त्यति सानि फुच्चीसँग बिहे गर्न पनि पाइन्छ र’,
‘देवताहरुका राजालाई हतियार चाहियो भन्दैमा एक जना ऋषी मारिन पर्ने’,
‘फेरि सधैँ सुरा-पानमा मस्त झुल्ने देवताहरू नसकेपछि देवी डाक्न पर्ने’,
‘देवीहरू किन अरुले जित्न नसकेका राक्षस वध गर्न चाहिने बेला मात्रै देखा पर्छन्’,
‘विचारा देवव्रत-कर्ण, एकलब्य, अभिमन्यु र बार्बरिकहरू’,
‘के कृष्णले चाहे युद्ध रोक्न सक्दैन थिए र’,
‘अनि सबै कुरा थाहा हुँदा-हुँदै पनि किन सबैले द्रौपदी हाँसिन भनेर उनैलाई महाभारतको दोष लगाइएको होला?’
हाम्रो घरमा टिभी थिएन, मैले महाभारत/रामायण हेर्न नपाएर नै झगडा गरेर टिभी किन्न लगाएको। बहिनीले ऋषीपन्चमीमा व्रत लिन पर्छ भन्ने सुनपछी मनुस्मृतिसम्म पुगेको थिएँ म। त्यसपछि त आस्थाहरुको भंगालो कता पुग्यो कता। खाजाको पैसा बचाएर बरू अरू धर्म ग्रन्थ पढ्न थालेँ- अरु पनि उस्तै छन् कि भनेर जान्न खोजेर।
सबै उस्तै, सबैका सिद्धान्तहरू उस्तै, पुरुषकै कुरा, पुरुषका लागि, पुरुषहरुले लेखेका। चाहिएको बेला मिल्ने पुरेत र जजमान जस्तै जे गरे पनि ठ्याक्क मिलाइ हाल्ने, र्यासनलाइज (Rationalize) गर्न मिलि हाल्ने। गोमा-वृन्धा-राधा, शिखन्डी पनि पच्यो, प्रजापति-यसोधरा पनि पच्यो, मेरी मेगडोलीन पनि पच्यो, खादिजा पनि पचेकै छ।
धर्मग्रन्थमा मात्रै होइन, नेपाली लेखनमा पनि महिलाहरूको भुमिका खै त? बरु, रिकुटे कथाको नायक हुन्छ, जयमायालाई लिखुपानीबाट नेपाल ल्याइपुर्याउन हामीले झन्डै ३० वर्ष कुर्नु पर्यो। नेपाली लेखिकाका किताबहरू पनि कहाँबाट पाउने, पारिजात बाहेक।
मलाई लेखिका भनेर चिन्नु भन्दा धेरै पहिले, नामबाट नै मन परेकी पारिजात। ४-५ वर्षको थिएँ, समाचारले दिदीको मृत्यु संदेश सुनाउँदा, भन्डारी-आश्रितको त्यस्तै समचारले त विचलित नहुनु भएको मेरो बाबाको आँखामा खसेको आँसु अझै पनि सम्झन्छु।
पारिजातको उपन्यास पढ्न सक्ने, बुझ्न सक्ने हुन त अरु केही कपाल झर्न पर्यो नै। अर्को वर्ष स्कुलको एक्सट्रा करिकुलर एक्टीभिटी परिक्षामा केही बनाएर लिएर जान पर्ने थियो, मैले र काका मिलेर त्यस वर्ष मदन आश्रित चौतारीमा पासाङ-ल्यामु शेर्पाले “शिरिषको फूल” पढिरहेको बनाएको (काकालाई बनाउन लगाएको) याद सँधै ताजै छ।
सुयोगवीर, सकम्बरी, फुलहरू र बुढी पसल्नी लाई पहिले भेटेँ, अन्तरमुखीमा आँफूलाई पाएँ, परिभाषित आँखाहरुले पर्खालबाहिर धुपी सल्ला र लालीगुराँसको फेदीमा पुर्यायो, अनि महत्ताहिनले थाहै नपाइ बैँसालु वर्तमानमा लगेर छाडी राखेको थियो। लामिछानेले शिरिषको फूलको भूमिकामा पहिले नै त्यसोगरि भनी नसकेका भए, मैले पनि भन्ने थिएँ- म पारिजात लाई प्रेम गर्छु, किन-किन र कसरी… म आज यस्तो हुनुमा उनैको कारण हो- उनका किताबका शब्दहरू, शब्दभित्रका पात्रहरू।
धत्, कता कता हराएछुँ आफूलाई खोज्ने-भेट्टाउने चक्करमा.. काफ्काको साम्सा, अनि बुकोस्कीको चिनास्की झैँ।
नेपाली भाषामा पढाइ हुने बोर्डिङ स्कुलमा पढेको म, अङ्रेजी राम्रो हुने यसै पनि भएन। पढ्न पनि पछि नै सुरु गरेको थिएँ। केही अङ्ग्रेजी किताबहरू थिए घरको लाइब्रेरीमा; ट्वाइन, डिकेन्स, टोल्स्ट्वाए, अरवेल, टोल्कीन र हेमिङ्गवेलाई त्यतिबेला नै भेट भएको हो।
नेपालीमा इलिएड र अडेसी पढेको मलाई पनि ह्यारी पोर्टरले तानेको थियो त्यसबेला। किताब किन्ने पैसा जम्मा गर्न नसकेर बुवाको कोटबाट पैसा पनि निकालेको थिएँ; पक्राउ परेपछिको नरमाइलो जहिल्यै सम्झन्छु।
कुन्देराको ‘अनवियारएबल लाइटनेस अफ बिइङ’ को थोमस आफैँजस्तो लाग्न थालिसकेको थियो, भन्थ्यो ‘पूर्णता झुट हो, यहाँ त जिन्दगी मात्रै छ’। स्कुल सकिने बेलामा कामु पनि भेटिएका थिए, ‘मिथ अफ सिसिपस’ पढेर हौसिएको मलाई स्ट्रेन्जरले एक हजार जुनीको दु:ख दियो, फनफनी घुमाएको थियो कयौँ हप्ता- घनचक्करमा उप्रेती घुमे जस्तै।
म स्कुले बेला सक्केपछी धम्मपद र त्रिपीटक खोज्दै हिँडेको थिएँ बुद्ध त पाइन बरु ‘सिद्धार्थ’ भेटेँ, अनि कता-कताबाट काफ्का कहाँ पुगेर ठोक्किएँ। काफ्का कै लहैलयमा परेको चिठ्ठी लेख्ने बानी अझै उस्तै छँदैछ, मेरी मिलेना कता छिन् कुन्नी। काफ्काले डोस्तोभेस्कीसंग भेट गराइदियो, अनि त्यसपछि नित्से र कान्ट।
कसैले मेरो दु:खको कारण म नै हो भन्ने, कसैले दु:ख छ दु:खको कारण म हुँदै होइन भन्ने। अनि कोही चाहिँ दु:ख-सु:खको कारण छरपष्ट खोजेर राखिदिन खोज्ने। नित्सेको जरासुत्रले मलाई त्यो बेला नै भनेको ‘गड इज डेड’ र ‘डान्स लाइक नो वान इज वाचिङ’ ले पछि सम्मै गहिरो गरि छोइरह्यो। निहिलीजम र उवरमेन बुझ्न त बाँकी नै थियो, खुट्याउनलाई धेरैँ नै समय लाग्यो पनि।
अहिले पनि वाइल्ड छ, सधैँभरिको साथी भनि रहन्छ ‘आफू बन, अरू त पहिले नै छन्’। थोरो ले सधैँ भनिरहन्छ, ‘मलाई प्रेम चाहिएन, धन चाहिएन, प्रसिद्धि चाहिएन; बरु सत्य देउ’, त्यसैले त दगुराई रहन्छ आज पनि।
अर्को भागमा कविताका कुरा।

kafkaintherun
who tells the birds where to fly?

Subscribe to get the latest posts sent to your email.
Discover more from kafkaintherun
- Articles (23)
- English (23)
- English Poetry (8)
- History (12)
- Letters (3)
- Monologues (6)
- Musings (24)
- Nepali (44)
- Nepali literature (39)
- Nepali Poetry (38)
- Poetry (44)
- Ramblings (36)
- Science (7)
- Stories (2)
- December 2025 (4)
- November 2025 (6)
- October 2025 (6)
- September 2025 (2)
- August 2025 (7)
- July 2025 (3)
- June 2025 (4)
- May 2025 (4)
- April 2025 (27)
- March 2025 (6)
- December 2024 (1)
- October 2024 (1)
- September 2024 (1)
- March 2023 (1)
- February 2023 (1)
Akkad (5) Biology (5) hinduism (6) History (9) life (3) literature (48) little poems (3) love (7) love poems (5) Mesopotamia (6) muse (21) Musing (19) Nepal (27) Nepali (5) Nepali Poetry (5) nepali politics (15) Nepali Society (4) New York (10) nostalgia (4) Poetry (45) random musing (27) romance (8) romantic (5) Science (5) Sumer (7) Writing (32) कविता (5) नेपाल (32) नेपाली कविता (13) नेपाली राजनीति (3)
who tells the birds where to fly?
© 2025 all rights reserved. Designed with WordPress.
Leave a comment