आफ्नै संस्मरण २- कविताका कुरा


अब कविताका कुरा- यसका नि खण्डहरू छन्- पख्नु न। कविताको कुरा गर्दा भुपी कसोगरी भुल्ने- 
घुम्ने बेन्चमा बसेर लेखिरहेको म, हतार के छ र।

अङ्रेजी कविहरुमा मैले पहिले किट्स र थोमस भेटेँ। यौटाले ‘रातो गुलाफ र रातको जुनकरी’को कुरा गरेर नथाक्ने अर्कोले ‘रातलाई हलुका न ले, विद्रोह गर्न छाड्न हुन् है’ भन्न नछाड्ने। डाइलन थोमस र बब डाइलनका कविताहरु उस्तै लाग्थे- मधुर शब्दहरू बीचका विद्रोही सुरहरू!

डाइलन दाजुभाइको केही कविताहरु पढेर एकै हुन भन्ठानेर बसिराखेको थिएँ म। मलाई निकैपछी, मेरो लागि त्यो बेलाको इन्टरनेट- कान्छा काकाले; कान्छो डाइलन पढेको देखेपछी ‘यो को हो थाह छ’ भनेर सोध्नुभएको थियो। त्यसपछि बल्ल थाह पाएको- यि दुई बीचको फरक - एकजना लयका कवि थिए, अर्का कविताका लय।

अनि अर्को यौटा सन्सार थपियो, “टाइम्स द्याट आर चेन्जिङ” सुनेपछि सुरु भएको रक एन्ड रोलसँगको मेरो चिनापर्ची। कविता, संगीत, समय- सबै एउटै लयमा गुथिएर आउने। त्यसपछि काकासँग क्यासेट मगाउन थालेँ। आउँथे क्यास, बिटल्स, फ्लोयड, जोनी बाएज अनि मिचेलहरु, कविता जहाँ थियो, संगीत पनि त्यही आएर बस्यो। हेमिङ्वे, भर्जिनिया, काफ्का- शब्दहरूको संसार फराकिलो हुँदै गयो। आज, कविताहरूकै कुरामा फर्किने फेरि।

मेरिले ‘तिमी यो जिन्दगानी कसरी बिताउँछौ’ भनेर सोध्थिन, सिल्भियाले ‘मेरा काला बादल तानेर सिसाको ऐनामा’ झुन्ड्याई दिन्थिन् अनि भर्जिनियाले ‘यो सबै पानी हो’ भनेर थप्थप्याइकन राखिदिन्थिन्। त्यही बाटोमा नेरुदाको कविताहरू पनि भेटियो - समुद्रको ज्वारभाटा जस्तो, शब्दको सानो लहरले माइ खोलैमा बाढी नै ल्याउला कि जस्तो लाग्ने।

त्यो बेला छिमेकी पूर्र्बछाने बढाउको घरमा जाँडको माम्री मात्रै, कुरेर- मीठो मान्दै खान पाउथेँ म। बुकोस्की आइपुग्थ्यो मलाई साथ दिन आफ्नो तातो बियर बोकेर। मलाई उसका कविता, कविता लेख्ने शैली दूवै खुबै मनपर्छ, तर मेरो उ सँग आफ्नै खाले अन्तरद्वन्द पनि छ : कविताहरू त धैरै नै राम्रा लाग्छन्, तर उसका किताबहरूमा लेखेका कुरा चाहिँ खै कुन्नी?

उसका बारे कसैले एकपटक भनेको झल्झली सम्झन्छु- ‘बुकोस्की ले लेखेको त पढेको छस्- तर उसले भनेका कुरा कहिल्यै सुनेको छस्?’ किन-किन सँधै झस्काइरहन्छन् यी शब्दहरूले। उसले भन्न खोजेको डार्क कमेडी हो कि उसको सोच- उसैले जानुन्। उसका शब्दहरूले कहिलेकाहीँ असहज बनाउँछन्, तर हामी हेनरी चिनास्की बन्न हुन्न भनेर लिए त होला कि? 

त्यसपछि थपिए बिट्स कविहरू, केरोवाकले बाटो देखाए.. त्यो जाबोको ‘इन द रोड’ किन यतिधेरै पढ्छस् भन्ने पनि त भेटेकै हुँ। गिन्सबर्गले समयका भित्तामा "हाउल" लेख्यो, मैले उसैको लहैलहैमा ‘मुलोक’ दोर्याउँदा चर्चबाट झन्डै लखेटिएको छु, राधाबारे सोध्दा इस्कनबाट लखेटिएझैँ। अहिले मैले उसको ‘अमेरिका’ दोहर्याएँ भने के गर्लान खोइ यिनिहरुले?

पुरानाहरु अरु कविहरू पनि थिए, तर खासै टस नलाग्ने। किन किन मनका भावहरू शब्दको लयहरु भित्र समेटिन सक्दैन कि जस्तो लाग्दै लागेन। नेपाली कविताहरू नि त्यस्तै नै बढी मनपर्ने।

देवकोटा लाई पागल र भिखारी सँग भेटेँ, रिमाल ले ‘आमाको सपना’ देखाइदिए। श्रेष्ठले ‘तँ बहुला होइनस्’ भनेर सुझाए। कटुवालले ‘फ्रेम हालेर राख्ने आदर्शभन्दा भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ’ भनेर जराकान्ड नै एकैपटक देखाइदिएका थिए।

शेरचन हुने नै भए, अनि पारिजात; दुवै नभए मेरा सब्बै कविताहरु नै अपूर्ण हुन्थे होला। उनिहरुले लेखेको कविताहरू नपढेको त धेरै नै भैसक्यो अब, तैपनि कता-कता मैले लेख्ने, वा लेख्न-खोजे जस्तो कविताहरूमा उनैको छनक छरपस्ट पाउँछु। त्यो बुकोस्की पनि त हुने नै भो सँगसँगै। मेरा कविताहरू राम्रा त खासै नहोलान्, तर आफ्ना चाहिँ हुन्, यत्तिकै लेख्नकै लागि भनेर लेख्नै नसक्ने।

IV.
मलाई पढ्न त जतिपनि आउने, पढेको कुराको कुरा जतिपनि गर्न सक्ने, लेख्न चाहिँ फिटिक्कै कलम नचल्ने मेरो। कक्षा ६ मा हो पहिलो पटक, खै के-को उपलक्ष्यमा स्कुलमा सुनाउनका लागि भनेर लेखेको। लेखेको के सारेको, पुरानो कुनै यौटा साहित्यिक किताबबाट।

आफ्नै स्तरको होला, अनि बाबाले थाह नपाए अरुले के थाह पाउलान भनेर देखाएँ, ‘जिजीविषा’ शब्द परेछ मरिगए अर्थ आउनु र आफूलाई। एक भारी साहित्यिक इतिहास र प्लागरिजम बारे कुरा सुनेपछि, आफै प्रयास गरेर पहिलो पटक लेखेथेँ। म दोस्रो भएँ, ए लेखे त हुने रहेछ भनेर कलमले बाह्रखरी सुरु गर्यो त्यसैगरि नै।

बेला त्यस्तै, राता किताब उस्तै, मेरा कविताहरू पनि त्यस्तै हुन्थे। आजभोलि जस्तो सबैकुरा बारे लेख्न नआउने त्यो बेला। एकपटक ८ कक्षातिर हो त्यस्तै खाले “अब बेला भएको छ” सुनाउँदा धारावासी सरले कति गज्जब भनेर झनै प्रेरणा पनि मिलेको थियो मलाई।

यो कविता लेख्ने हुटहुटी कस्तो हो कुन्नी, लागेपछि छुट्नै गार्हो, छुटेपछि फेरी जोडिनै गाह्रो।

कविता लेख्ने क्रम एक-दुई वर्ष त्यसरी  नै चलिरेहेको थियो। डायरीहरु भरिए, केही पुरस्कारहरु पनि जितें क्यार। एक दुई पटक लीला दिदीले कन्चनजङ्गा एफ् एम् मा बाचन पनि गर्नुभएको थियो। नेपाली व्याकरणमा मेरो दखल त्यतिबेलाबाटै कमजोर थियो। बुझे भै हाल्यो नि भन्ने लहड, सार्न भन्दा सम्झेर-सुनेर लेख्न बढी मन पर्ने बानी त्यस्तै थियो।

हिज्जे नै मिलेको हुँदैन भनेर छपाउनतिर कहिल्यै लागिन- बानी त्यस्तै छ। नियमहरु बुझिन, जान्न खोजेको भए पनि हुन्थ्यो होला। तर, किन-किन व्याकरण शब्दहरुको कानुन जस्तो लाग्थ्यो मलाई। भावनालाई बाँधेर राखि दिन्छ कि जस्तो लाग्ने- फेरि दु:खहरु मिलाएर लेख्न कहाँ सक्नु। बाँचेका कथाको कविताहरु, कविताका सबै नियम मिचेर लेखिएका कविताहरू अनगढ, अपूर्ण जे भए पनि मेरा थिए, त्यसरी नै लेखिरहेको थिएँ।

“अब बेला भएको” सुनाएको झन्डै दुई वर्ष पछि हो, स्कुलमा छानिएर गएको थिएँ- कविता सुनाउन। ९ कक्षामा पढ्ने मेरो स्वर अरुहरु जस्तो बदलिएको थिएन, अझै उस्तै छ। जम्मा भएको भीडबाट आवाज आएको थियो- "तेरो आवाज राम्रो छैन, कविता नसुना-नलेख्।

शब्दहरू मभित्र नै घोंटिए, मौनताले मात्र बुझ्न सक्थ्यो म भित्रका बिन्तीहरु। मनभित्रका शब्दहरू जहिल्यै पनि फुटेका घट्टजस्तै खरखर गर्थे, लेख्न चाहिँ एकैपटक छाडेँ। मौनताको भारी बोकेर बुद्ध खोज्दै जंगल पसेको म, काफ्का र डोस्तोभोस्कीको शरणमा पुगेको थिएँ। मभित्रका भावनाहरू मनभित्रै रहे, गुम्सिएका भावनाले कहिल्यै आवाज पाएनन्।

फेरि कसका लागि हुन् यी कविताहरू, के-का लागि यी कविताहरु? लेखेर मनलाई अझ बढी सकस किन दिने? आफैले "जसका लागि लेख्छौ, उसले कहिल्यै पढ्दैन, न छपाउन सक्छौ न त वाचन गर्न नै" भनेर भन्दा भन्दै ड्राफ्टहरू पनि पातलिँदै गए। बिस्तारै जिन्दगी, सुस्तरी पढाइले पनि गाँज्यो, अरु डिस्ट्राक्सनहरू पनि थपिए, पढ्ने बानी नै पो घट्दै गएछ।

अनि मेरो सानो संसारमा ‘साम्साले’ आफ्ना चिन्ताहरु रक्सी सँग साट्दै झुम्म नियतिको बेतुकतालाई स्वीकार गर्दै बसिरह्यो। आफू चाहिँ ‘चिनास्की’ झैँ वास्तविक साङ्लो बनेँ- कुनै कठोर कवचभित्र होइन, तर सधैंभरि दुःस्वप्नहरूको भूलभुलैयामा अल्झिएको आत्मा झैँ। अनि त्यो अवसादको गहिराइ? त्यसमा बासी बियरको गन्ध छ, चिसो कागजमा पुरिएका सपनाहरू छन्। केही जोडिएका, केही छुटेका, केही नभेटीएका आत्माहरूको क्रन्दन बोकेर त्यसै गरि नै बसिरहेको थिएँ।

कोही संसारमा भएर मात्रै पनि कति फरक पर्ने रहेछ। कसैले आएर एक दिन “मनपरेको खाने, मन लागेको लेख्ने - बोल्ने, मन लागि… आफूखुसी गर्ने, आफ्ना लागि बाँच्ने” भन्दिन पर्यो मलाई। त्यसैको भरमा, ब्रम्हाण्डमा एक्लो छु भन्ठानेर आफैलाई भुलिसकेको मलाई, यिनै शब्दहरूले घचेटेर यतिसम्म लेख्ने बनायो आज।

आफैलाई खोज्ने प्रयास गर्ने जमर्को गरेको छु, पारिजातले भनेजस्तै “मलाई त्यहाँ पुग्न थिएन, तर नपुगी रोकिन सकिँन पनि”। सुतिरहेको जस्तो गरेर कपाल खुल्याउँदै बसिरहेको मलाई जर्याक्क-जुरुक्क उठाउनेले यो सबै पढ्ने हुन कि होइन, थाहा छैन।

फेरी कलमले बामे सर्न खोज्दैछ, यो कविता लेख्ने हुटहुटी यस्तै, लागेपछि छुट्नै गाह्रो । लेखिएका कुराहरू ट्विटर र ब्लगमा हाल्दै गर्छु। यो मनोवाद, यी कविताहरु मेरा लागि नै हुन, भित्र गुम्सिएका आवाजहरूलाई बाहिर निकाल्न। मलाई थाहा छ, लेखिएका मानिसले सायद कहिल्यै पढ्नेछैन्, वा बुझ्ने छैनन्। तर म लेखिरहन्छु, किनकि मेरा शब्दहरू मलाई नै सुन्न जरुरी छ।


अनि लेख्न सघाउने क्रिस्टल, निर्जला अनि हिज्जे सुधार गर्न सहयोग गर्ने स्वर्णिम लाई एकदमै धन्यवाद।
Posted in , , , , ,


Leave a comment

One response to “आफ्नै संस्मरण २- कविताका कुरा”

  1. Bookaholic Swarnim Avatar

    Keep writing✍️😍

    Liked by 1 person


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun





kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.