हरेक दिन- पुर्वी आकाशमा: उदाउँछ सुर्य, दिनभरि ज्योति बनेर हाँस्छ, हरेक रात- पश्चिम आकाशमा: चन्द्रमा, त्यसैगरी, चमकन्छ। यी दुई- कहिल्यै भेटेनन्, कहिल्यै भेट्नेछैनन फेरि, न कहिल्यै आँखा जुधाउँछन्, हरेक पल तड्पिरहेका छन्, समाहित हुन- एक आपसमा। एक दिवास्वप्न- मिलनको। मलाई थाहा छ, तिमीलाई कहिल्यै आलिङ्गनमा बाँध्न पाउने छैन, तै पनि, तिम्रो - अँगालो खोजी बसेको छु, हरेक दिन आलोकसँग, हरेक रात चाँदनीसँग। एउटै सुर्य- एउटै चन्द्रको समानान्तर ब्रह्माण्ड हौँ, मैले तिमीलाई खोज्न छोडेँ भने के तिमी हराउँछ्यौ? कि अझ नजिक भइदिन्छ्यौ? हराएको- मृगजस्तै एक्लो- नितान्त एक्लो अँधेरी रातमा, आफूलाई एक्लै पाएर, चपाइ हेर्छु- टुटेफुटेका सपनाहरू, निरस ती सपनाहरू, थामिएका ती उन्मादहरू। देखिरहन्छु- सपनाहरू विपनामै, परीपरीका, थरीथरीका, रङ्गविरङ्गका, अनुभव गर्न सक्दिनँ, अँगाल्न पाउँदिनँ, अनि यथार्थले किच्छ। त्यसपछि सोच्छु- कस्का लागि हुन् यी सपनाहरू? केका लागि हुन् यी सपनाहरू? भक्कानिएर आउँछ, दुख्छ छाती। किन दुख्छ छाती? छातीभित्र मुटु हुन्छ। मुटु किन दुख्दैन त? फेरि कसले हाँसीदिने उसको खुसीमा। माया, साँच्चिकै यस्तै हो त? कतैबाट आवाज निस्कन्छ- "तिमी बादल फाडेर, आकाश छिचोल्न हिँडेको मान्छे, तिमीलाई अन्तरिक्षको ट्रकमा हालेर कसैले, स्टेरिङ देखाइ दिउन्, तिमीले ट्रकको स्टेरिङ घुमाएर, अन्तरिक्ष चहार्न-जित्न जो छ।" सपना टुट्छ, अनि किच्छ बिपनाले, एक्लो- अस्थिपञ्जरले ढाकेको मन, छालाको खोल, मष्तिष्क र आत्मा, कहिलेकाहीँ टुट्दोरहेछ, सबै; जितिएर जितिन्न, हारेर पनि सकिन्न। अनि- एक पेग, दुई पेग, धेरै पेग, एक खिल्ली, दुई खिल्ली, अनगन्ती खिल्लीहरूसँग- साटिन्छ साहस, बाँच्ने- हाँस्ने। अन्तरिक्ष चहार्ने सपना, तुहिन्छ आखिर, अर्को एक पेगको चाह बनेर।
Occasional reader, occasional writer and photographer, mostly a cancer researcher.
Leave a comment