हरेक दिन, उसैको प्रतिक्षामा पलेटी कसेका मेरा कुण्ठाहरू, उसको आगमनमा उल्लादका उडान भर्छन।
लाग्छ, धेरै ताराहरू मिलेर बनेकी छे ऊ; रातको अँध्यारोमा चम्कन्छे उही, लाग्छ, ऊ घाम हो; जसको वरिपरी घुमिरहेको छु, जसको उज्यालोमा, मस्त झुलेका- मेरा नयनहरू, हरेक ति कुण्ठाहरू, शरीरभरी चलेका आँधीपुराणहरू।
रमिरहेको छु, ती सम्झनाहरूमा, ती कल्पनाहरूमा, बाँच्न बाँकी दिनहरू, रमाउन बाँकी सपनाहृरू, कुरेर बसेका कल्पनाहरू, साकार बनाउन थाँती- रहरहरू।
ऊ आँउछे- मेरो पाखुरामा बेरिन, मेरो छातीको बाँसझ्यांङ्गमा, गुनगुनाउँछन उसका अधर, उसको केशराशीको लहरमा, हराएका मेरा कुण्ठाहरू।
जब, जब, मेरा ओठले उसको- ओठको नोटेसन मुताबिक, चुम्बन गाँउन थाल्छन्, लाग्छ, उसको स्पर्श एक जादु हो, एक सहारा हो, मेरो मनको अँध्यारो अविलम्ब गर्छ, मेरो सारा अभिलाषा प्रकाश गर्छ।
सम्भव छ, यो समयको हूरीमा, यो ह्रदयको दूरीमा, उसको स्पर्श, त्यो सुरुवात- बेहोशीको छेउबाट, उज्यालोको काखमा टेकेको, आशालाई अलिअलि हम्किरहेको।
त्यो स्वर्ण स्पर्श, ममा आओस्, म बाट त्यसले, दुनियाँ भिजाओस्, देखोस् दुनियाँले- ऊ र म, म र ऊ, हामी, हरेक ती घामहरू, हरेक ती ताराहरू।
Leave a comment