उनीहरू भन्छन- खै कुन ढुङ्गामा र खै कुन मूर्तीमा, ईश्वर भेटिन्छ अरे, हामी हिन्दू, ऊ ख्रिस्टियन, र त्यो मुसलमान अरे। फेरि थप्छन- हामी ब्राह्मण, ऊ अछुत, र तिनीहरू म्लेच्छ अरे।
म भनेँ- ढुङ्गाले कसैको पेट भर्न सक्दैन, मूर्तिले कसैको घाउ निको पार्दैन, धर्मको नाममा बाँधिएका हातहरू, कहिल्यै-कसैको घाउमा मल्हम बन्दैनन्; धर्मको नाममा ठड्याइएका पर्खालहरूले, भोका को चीत्कार मेटाउन सक्दैनन्।
म ढुङ्गा पूज्न सक्दिन, म मान्छे-मान्छे बीचको- सिमाना मान्दिन, मलाई ईश्वरको नानाथरी- नाम राखेर टुक्राउन पनि आँउदैन, धर्मको सिमाना चिरेर निस्केकै कारण, मलाई बहुलाएको आरोप लगाइयो।
उनीहरु- शीवलाई सर्वशक्तिमान मात्र देख्ने, विष्णुलाई पालक मात्र देख्ने, रामलाई न्यायी मात्र देख्ने, कृष्णलाई आदर्श-पूरुष बनाउने।
मैले- शिवलाई भाङ्ग-धतुरो खाने पनि देखेँ, मैले व्रिन्दालाई गरेको छल पनि देखेँ, मैले सीतामाथी गरेको अन्याय पनि देखेँ, मैले कृष्णको छल-कपट पनि देखेँ।
मैले भनेँ- ईश्वर भए एउटै हो- साझा हो। तर उनीहरू पहिल्यै- ईश्वरलाई टुक्रा-टुक्रामा बाँडेर, अनगिन्ति नाम टाँसिएका पो रहेछन्।
मैले भनेँ- मानव सेवा परमधर्म हो, उनीहरूका मन्दिर अनि मूर्तिहरू - टड्कारो उभिएका रहेछन् उनीहरू- रिसाए, फुस्रो ओठहरूबाट घृणा चुहियो- “तँ वंशको कलंक होस्! तँ बहुला होस्!”
अनि, फेरि सुनाइएका थिए, पाप र पुण्यका ती पुराना कथाहरू- त्यहाँ भीष्म थिएनन, अभिमन्यु थिएनन, त्यहाँ एकलब्य थिएनन - कर्ण थिएनन, न त सीता, द्रौपदी- राधा र वृन्दाहरू नै थिए।
हो, म बहुला हुँ, मलाई तिम्रो वैकुण्ठ जानु छैन- मेरो 'युटोपिया’ यहिँ छ।
उनीहरूले के- एक मूँठी गाँसका लागि छटपटाइरहेका, लडीरहेका हरुलाई देखेका छन्? ती निर्दोष ओठहरूमा- छाउन नसकेको हाँसो देखेका छन्?
मेरो लागि- तिनको पेट भर्न सक्दा- हराएको हाँसो फिर्ता गर्दा, आशिर्वाद त्यही- स्वर्ग त्यही, मेरो ईश्वर पनि त्यही हो।
मलाई- मन्दिर बनाएर वैकुण्ठ पुग्ने रहर छैन, ऋचाहरुले पेट भर्न, अनि- पञ्चामृतले तीर्खा मेट्नु पनि छैन। अरूले छोएको खाएर- नर्क जाने डर पनि ममा छैन्, म बरु- पाठशाला बानाएर पीषाच हुन तयार छु।
मलाई चाहे- जेसुकै उपमा किन नदिउन, बहुला, पीषाच या वंशको कलङ्क, जे सुकै भनुन- अहँ, बाहिर उभिएका अशाहयलाई लात्ति हानेर, शेठहरूले बनाएको मन्दिरमा भेटी, अनि ढुङ्गामा दूध चढाउने अपराध गर्न सक्दिन।
Leave a comment