म गर्भवति मान्छे, मलाई ..


म गर्भवति मान्छे
मलाई, रानीपोखरी जन्माउने रहर छ।
मैले जन्माउने रानीपोखरी-
कसैको- यादमा खनिएको नहोस,
कहिलेकाहीँ आगन्तुकको लागि-
सजाउने मात्र नहोस।

मैले जन्माएको रानीपोखरी,
फलामे बारले- छेकीएको हुनेछैन,
थुनिएर कुन्णित- पारिएको हुनेछैन।
बाँच्नको लागि एक टुक्रा जमिन
र एक चोक्टा आकाश नपाएर
हतोत्साहितहरुको- शरण लिने
ठाउँ मात्रै हुने छैन।


मैले जन्माउने रानीपोखरी-
थकित पाइलाहरूको-
सम्भावनाको घर बन्नेछ,
आशाका लहरहरू तर्ने
साहस बन्नेछ,
जहाँ- उसले- संग-संगै भन्नेछ;
‘मृत्यु सजिलो छ हौ साथी,
जिन्दगी पो गार्हो छ जीउन,
सकिएपछी त सक्किहाल्यो'।

म गर्भवति मान्छे,
मलाई- धरहरा जन्माउने रहर छ।
मैले जन्माउने धरहरा,
सँधै- एक्लै- उभिएको
एक्लोपनको स्तम्भ नहोस।
जसले- आफ्नै छहारीमा
एक्लोपनलाई भुल्न सकोस।

एक्लै- उभिँदा– उभिँदा,
थकित– चकित, उदाश– निरस,
सुन्धाराको रुपमा, अकस्मात ढल्ने पीरले-
विरहको अविरल आँसु बगाउँदै,
सँधैभरि उभिन विवश नहोस।

मैले जन्माएको धरहरा,
आफैँ झुक्न- सक्ने हुनेछ।
त्यसको टुप्पाबाट घामले हेर्नेछ,
तल- छायाँ तापिरहेका आँखा हरूलाई
आकाशमा सपना देख्ने साहस देओस।
नजरहरूको व्यथा सुन्ने छ;
हात फैलाएर- सपनाहरू
देख्न सिकाउने छ।
जो- आफ्नै भरमा-
आफ्नैलागि ठडिएको हुनेछ।

म गर्भवति मान्छे,
मलाई, सुनौलो बिहानी जन्माउने रहर छ।
जहाँ उज्यालो- रातको अल्झिएको धागो-
पखालिन बाँकी अँध्यारोको
कुरूप अवशेष मात्रै नहोस।

मैले जन्माउने- नयाँ दिन,
घामको नौलो उपहार बनेर आउनेछ।
जहाँ प्रकाशलाई- आँखाले देख्ने मात्रै हैन,
बुझ्न सकियोस- छुन सकियोस-
समाउन सकियोस- अनि-
दिनैपिच्छे रातको-
अँध्यारोमा गुमाइ
रहन नपरोस।

मलाई विश्वास छ, मेरा-
शब्दहरू- सपनाहरु- सम्भावनाहरू बाट,
हुर्काउँदै गरेको- यो सुषुप्त भ्रुण- 
भोली- स्वतन्त्र र स्वच्छ रानीपोखरी,
र हँसिलो धरहरा बनेर आउनेछ,
नयाँ बिहान- बनेर अवस्य आउनेछ।

त्यो बिहानी-जहाँ-
नयाँ दिनका किरणहरू,
अन्धो-झ्याल खोलेर चिहाउने हैन,
ढोकाहरू ढकढक्याएर 'प्रकाशको लहर'
घामको उपहार बनि  भित्र छिर्र्छ्न्।
जसले- सारङ्गी जस्तो पेट लिएर
घामले रेग्ने गोरेटो पार गर्नेको
भोक र पीडाका गीत मात्रै गाउने छैन।

मलाई जन्माउनु छ,
सन्ठि र परालले ठडिएका,
गाउँ– बस्तिका- अँध्यारा झुप्राहरुमा
उज्यालोको नयाँ गीत जन्माउनु छ।
उकाली ओराली- भन्ज्याङ्ग चौतारीमा
जिन्दगी खियाउनेहरुको निमित्त-
पेट भर्ने आहार जुटाउनु छ,
हरेक इच्छा- आकांक्षालाई,
'लजारस्' झै ब्युँताउनु छ।

आकाशले मात्र हैन,
सारा भुगोललाई पनि बुझेको-
सबैको सपना र रहरहरू लाई चिनेको
सुनौलो बिहानी जन्माउनु छ।
रानीपोखरी जन्माउनु छ,
धरहरा जन्माउनु छ।
Posted in , , , ,


Leave a comment


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun





kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.