मौनताको अर्थ धेरै छ यसोधरा, शव्दमा त अर्थ सिमित हुन्छ, भाव- आँखामा लुकेको हुन्छ, छातीभित्र उम्लिएर नफुटेका प्रश्नहरूमा।
कुनै बन्धनले बाँध्न सकेन उसलाई, न दरवारले- न पत्नि प्यारले, न नवजात पुत्रको अनुहारले, सर्वज्ञान सम्पन्न भूतपूर्व राजकुमार उ आज तिम्रो सामु नाजवाफ उभेको छ।
तिमीले सोधेको कुरा सोध्न सक्दैन कसैले; किन भाग्यो उ सबैदेखी? के दरवारमा ज्ञान सम्भब थिएन? कि ज्ञान जङ्गलमा मात्रै फुल्छ? बाधक थियो कि तिम्रो प्रेम? बाधक थियो कि शीशुको त्यो मुस्कान? बाधक थियो कि राजमहला सुनौला झ्यालहरू?
आज- उसको मौनताको अर्थ के यसोधरा? तिम्रो प्रशनको उत्तर के त्यही हो त?
चिवर वस्त्रमा यतिखेर राजमहलको ढोकामा, उभिएको छ यौटा भुतपूर्व राजकुमार, माग्न आयो कि दिन आयो उ? केहि बिर्सेको थियो र लिन आयो कि?
शब्दमा त उत्तर छैन यसोधरा, भेट्नै परथ्यो र भेट्यो तिमिलाई, सोध्नै परथ्यो र सोध्यौ तिमिले। तर सर्वज्ञान सम्पन्न उसमा, यतिखेर तिम्रो प्रश्नको उत्तर छैन यसोधरा, उ गुरु त बन्यो, तर तिमी सामु मौन उभिएको छ ।
समय छ बलवान, समयमै छ सबैकुरा, आखिर तिमिले त्यो मौका पनि पायौ, कि राहुललाई एकैपल्ट ढाल र तरवार देऊ; तिम्रो प्रश्नको तैपनि उत्तर छैन यसोधरा, तिमिलाई निर्जन बनाएर गएको थियो उ; जसको उत्तर-बुद्धले समेत दिन सकेन, ज्ञान प्राप्तिको लागि गएको उ; यतिखेर बुद्ध पनि मौन छ।
काहीँ छैन, कसैसित छैन तिम्रो प्रश्नको उत्तर; यसोधरा- समयसँगै तिम्रो प्रश्न पनि मौन भएको छ, त्यसैले त आजभोली कोहि-कतै प्रश्न गर्दैनन् मौन-बुद्धलाई।
Leave a comment