उज्यालो-
र अँध्यारोको संगम
प्रतिबिम्ब र बास्तविकता बिच
अल्झिएको यौटा सुन्दर उन्माद।
प्रेम र बेदनाको दोसाँध
अधुरो कथा- फक्रिएको पिडा
फक्रिएर पनि एक्लो
रङ्गिन भएर पनि मौन।
हावाजस्तै-
छाल भित्र चिप्लने
एक अदृश्य हलचल
तरल सतहमा अड्किएको
उसको यो मौन प्रतिबिम्ब।
छुन सकिन्न
तर छातीमा बिझाइरहन्छ
समाउन सकिन्न
तर हर दिन गुमाइन्छ
मौनताले हरेक दिन केही चोर्छ
शब्दहरू, सासहरू, निद्राहरू ।
भिडको-
एकान्तमा फक्रिएको मोहक उन्माद
एकनासको बेहोसीपछी देखा परेको
एक सुन्दर सपना।
देख्न नसकिने
तर ओठमै अल्झिएको
एक अस्फुष्ट चित्कार
सुर्यास्त पछिको अन्धकार जस्तै
मनको एकान्तमा अझै केही
उज्यालो बाँकी छ।
मनभित्र-
गुँड बनाउनेले किन होला
बारम्बार खोज्ने उड्नलाई?
आकाश अझै फाटेको छैन
तर सपना भत्किँदै जान्छ
अर्धचन्द्रमा बनेर।
केही चर्किने- कही भत्कने
अर्ध- सपना, अर्ध- सन्देह
समाउन खोज्दा हराउने
छुन खोज्दा अझै टाढिने
मेरो सपनाभित्रको शहरमा
छाएको केवल अर्धचन्द्रमा।
अनगन्ति-
प्रवाहको गर्जन
प्रवाहको स्पर्श
प्रवाहको टक्कर
प्रवाहको गीत
तरलको खेल
ठोसको धैर्य
आगोको राप
हिउँको ताप
वसन्तको उन्माद।
थाहा कसले पाओस, कसरी-
आखिरमा- कसको हुने जीत?
को टिक्ला, कसको हुने क्षय
कस्तो होला जीत
कस्तो होला त्यो निदान।
भोली-
जब म उसलाई फेरी देख्नेछु
हामीलाई देखेर घाम हाँस्ने
अनि म पनि हाँसिदिँउला सँग-सँगै।
सम्भव-
छैन भन्ने कुनै बाटो हुँदैन
हावा जस्तै हामी
छिद्रबाट पस्छौं
दूरी स्थिर कहिल्यै नबस्ने
दूरीहरू चिरेर पनि
कहिल्यै पुग्न नसकिने।
हामीले हिँडेको बाटोमा
अक्षरहरूले गुँड बनाएका छन्
एक दिन-
कसैले पढ्नेछन्
अवश्य पढ्नेछन्
हाम्रो मौन प्रतिबिम्ब।
Occasional reader, occasional writer and photographer, mostly a cancer researcher.
Leave a comment