एकाबिहानै- एकमाना कालो चिया दिएर कार्कीनीले भनिन्- “जिउनु पर्यो, हैन त?” कालो टोपी अलिअलि टल्काउँदै कार्की दाई निस्किएका थिए काम खोज्न- छाक जोड्न।
बाउको- पछि-पछि सिँगान पुछ्दै झुत्रो लुगाले शरीर छोपेर थोत्रो चप्पल पड्काउँदै निस्किएको सानो छोरो- भर्खर चार पुगेको। बाउको साथी बनेर आएको, बिहानको भोक टर्छ कि भनेर, केही खाजा जुर्ला कि भनेर, बाउले काम गर्ने ठाउँमा केही देलान कि भनेर।
सुनेको थिएँ- अर्को छोरो पनि छ रे, कुनै महाजनकोमा पठाएको काम गर्न। बेला-बेला कार्कीनी झोक्किन्छे- “मेरो छोरा फिर्ता ल्याइदेउ- एक चोटि देख्न पाउँ।” तर दुई वर्षदेखि आएको छैन रे, साउँ- ब्याज असुल नहुन्नजेल फिर्ता ल्याउन दिनेवाला छैनन् रे।
हिजो बिहानै- आइपुगेका थिए कार्की दाई हाम्रो दलानमा। टोपीले पसिना पुछ्दै भन्दैथिए, “आज रोजी थिएन, केही भेटिन्छ कि भन्दै आएको।” भन्यौं- “आउनुस् चिया-खाजा खाऔं, केही बिरुवा लगाउनु छ- खाल्डो खनिदेउ।”
बिहान सात बजेको समाचार- रेडियोमा फुकिरहेको थियो गणतन्त्र र राजतन्त्रवादीले एक अर्काको अनुहार च्यातिरहेको समाचार।
कार्की दाइलाई सोधेँ- “दाइ, तपाईँलाई राजा चाहिने कि राष्ट्रपति?” उनि फिस्स हाँसे, तर त्यो हाँसो हाँसो थिएन, तर त्यो हाँसो- सडकमा लडेको सपना जस्तै, टुक्रिएको थियो। भोक, थकाइ, र झोकको घोल थियो।
“रामे-ज्ञाने जो आएपनि जो भएपनि के हुने हो र? एकपटक हटाएर नयाँ संविधान त बनिसक्यो- म तरपनि अझै पनि बिहानको छाक खोज्दै छु।" राजा फर्के भने के हुन्छ? गणतन्त्र रहे नै के हुन्छ? मलाई त त्यही भए हुन्छ- जो हरेक बिहान काम दिन्छ। जो यो नाङ्गा खुट्टामा- जुत्ता ल्याइदिन्छ। जो यो फुच्चेलाई- स्कुल पठाइदिन्छ। जो त्यो ठुलो छोरालाई- घर ल्याइदिन्छ। मलाई त्यही आए हुन्छ।
कार्की दाइको खोक्रो पेटले- शान्तिको गीत गाउँदैन, विद्रोही कविता लेख्न पनि जान्दैन बुद्ध र गोर्खालीको गौरव सम्झिएन, उनको मुटुमा- राष्ट्रगान भन्दा पहिले भोक गुञ्जिन्छ। उनले- न राजा राजा ढोग्न खोजे, न राष्ट्रपतिको भाषणमा हाँसे, न कुनै पार्टीको झन्डा समाते।
हिजो, आज, भोलि- ध्याउन्न एउटै रह्यो: भरे बेलुका छाक कसरी टार्ने? सँधैभरि झुत्रे लुगा लाएर छोराको लाज कसरी ढाक्ने?
कार्की दाइलाई- शान्ति चाहिएन, क्रान्ति चाहिएन, राजा चाहिएन, गणतन्त्र चाहिएन, संक्रमण, संविधान, सिद्धान्त- केही पनि होइन, मात्रै- आजको छाक चाहिएको छ।
दिन्छौ भने- आजको छाक टारिदेऊ, फुच्चेलाई एक जोर लुगा लगाइदेऊ, कार्कीनीको हत्ते- उसको छोरा फिर्ता ल्याइदेऊ।
Leave a comment