साँझको त्यो एक घन्टा- जसलाई कहिल्यै घडीले देखाउँदैन, तर सँधै आकाशले नियालिरहन्छ। आकाश खुल्ला थियो– हावासँगको असमझदारी जारी थियो, त्यो मौन बगैंचामा स्मृतिको। उसको गुलाबी गालामा बादल बिसाएझैँ लाग्थ्यो, जहाँ सूर्य अस्ताउँदै थियो– तर सामान्य अस्त होइन– हाम्रो सम्बन्धको अन्तिम उज्यालो।
सपनाहरू पनि थाक्दारहेछन्– दिउँसोका पर्खाइहरू रातिमा, र रातिहरू फेरि दिनमा बिलाएपछि। सपना र यथार्थबीच अल्झिएको हावा– जस्तै ऊ, मेरो जीवनमा, तर मेरो जीवनभित्र होइन। मनको आँधी लिएर– फूल्ने कि बिझाउने?
सपनाभित्र सपना थियो– ऊ थिई, अस्पष्ट, अपूरो, तर साँचिकै सम्पूर्ण। तर उसको मौनता– उसको शब्दभन्दा गहिरो। म मौनताभित्र सुनिरहेछु एउटा अस्पष्ट चित्कार– जसले मेरो हृदयमा जमेको हिउँ पगाल्छ र फेरि जमाउँछ। सपनाहरू फुटेका छन्, तर एउटा विश्वास बाँकी छ।
चिसा साँझहरू साक्षी छन्– चिसा चिसा सम्झनाहरूका। म डराउँदिन उसभित्रको शून्यसँग; उसले देखेको खालीपनमा म आफ्नै प्रतिबिम्ब भेट्छु। शब्द नभएका उसका नजरहरू– म मौनताकै गीत बनाउँछु, एक–अर्कामा हराउने साहस खोज्ने मेरा आफ्नै कहाली छन्। हामी दुबै सँगै डराउँछौं, तर डरको छायाँमै त प्रेमको सानो उज्यालो पल्किन्छ।
एउटा स्पर्श– जसले ऊसलाई छुन सक्दैन, जसले मलाई कहिल्यै छोड्दैन। मेरो मुटुभित्र गुँड लगाउने चरा– किन उड्न खोजीरहन्छ बारम्बार? कुनै दिन उसले पछाडि फर्केर हेरी भने, उसले पाउनेछे– एउटा शून्य, जहाँ म थिएँ– फागुनको रातले वसन्त कुरेझैँ उसको आगमनको प्रतीक्षामा।
मेरो मौनताभित्र– न त कथा छन्, न चिच्याहट। म केही विशेष छैन, मभित्र शब्द छैनन्। म न पूर्ण छु, न प्रकाशले भरिएको। शून्यतामै प्रेम भरिएछ– बिना आवरण, बिना डर। माया त उसले पनि गर्छे– तर त्यस माया भित्र म पनि त समेटिने साहस गर्न सक्दिन। म त एउटा पात्र– उसको कथा बाहिरको वाक्य।
हावामा झुन्डिएको प्रश्नजस्तै मेरो आत्मा टाँगिएको छ– एउटा पुरानो भित्तामा, जहाँ सायद म उसको पीडामा साक्षी, उसको खोक्रोपनको साथी बन्न सक्थेँ भन्ने डरले, कुनै समय लेखेकी थिई– “म फर्केर आउँदिन।”
सम्झनाहरू– भिजेका चिठीजस्तै, छातीभित्र गुन्जने एउटा कविता बाँचेको छ। उसले नहेरेको हाँसोभित्र, उसले नछुन खोजेको स्पर्शभित्र, असंख्य अव्यक्तित्वहरूसँग म त्यही अड्किरहेको छु। चिहानबगैंचाको त्यो साँझ– स्मृतिको गन्ध बोकेर, झरनाजस्तै झरिरहेको छु– नदी बनेर तलाउमा डुबिरहेछु।
Leave a comment