म पनि-
सपना देख्थें देशको,
जहाँ भोकले होइन,
भविष्यले झस्किन्थ्यो बालक।
जहाँ बाल-बालिकाहरूले
कुर्न पर्दैनथ्यो
अब बाँच्ने पालो।
म पनि-
सपना देख्थें देशको,
नक्शा होइन,
अनुहार भएको देश।
जहाँ कविले बन्दुक होइन,
कलम बोकेर
गर्थे प्रतिवाद।
जहाँ सपना-
सिर्जनाको गर्भ,
सिर्जना-
विद्रोहको आवाज।
तर मेरो
सपना हरायो!
हरायो- काठमाडौंको
कन्क्रिट क्यानभासमा।
जहाँ सडक चिल्लिन्छ
र सपना चिप्लिन्छ।
जहाँ सँधै-
झिल्के सतहले घाम च्यात्छ
आकाशले आफैँलाई -आफ्नो
प्रतिविम्बमा चिन्दैन,
अनि साँझसम्म-
ट्राफिक बत्तीझैँ नभनी निभ्छ।
जहाँ सँधै-
कालो सिसा भएका नेताको गाडी
जनताको पसिना मिच्दै
जनताको छायामा गुड्छन्।
जसको गन्तव्य सधैं
सिंहदरबार हुन्छ।
यहाँ आज-
सपना बेच्नेहरू सिंहदरबारमा छन्:
चाउरिएको झन्डा,
झुटा नाराको पर्दा।
रातभर चिच्याएका
नाराहरू बिहानै
संसदको हीटरमा-
चुप लाग्छन्,
ओइलाइजान्छन,
तापिइरहन्छन विद्रोहशून्य।
अब सिंहदरबारभित्र-
न सपना छ, न देशको गन्ध।
छ केवल-
नेताको भाषण,
जसको पानामा
हामी देश खोजिरहन्छौं।
जहाँ अहिले-
“जनता” शब्द,
सन्दर्भविहीन बिम्ब भएको छ-
जसको अर्थ छैन,
केवल नारा बनेर बाँच्छ;
शान्तिको नाममा
युद्धको सपना बेचिन्छ
अनि चुपचाप पचाइन्छ।
अब जनतासँग-
न देश, न सपना,
न भरोसा।
के बाँकी छ?
छ त केवल-
सम्झनामा बचेको
एक पुरानो कविता,
एक पुरानो झरी,
एक पुरानो देश
अपुरो बिलौना।
अब म-
देश सम्झिंदा भेट्छु
कविको काँधमा चुँडिएको
सपनाको घाँटी,
बाँच्न नपाएका
गीतहरूको बिलौना।
एउटा वाक्य-
बाँकी रहन्छ
“हामी एउटा सपना थियौं
जसले आफ्नै देशलाई हरायो।”
र लाग्छ,
देशले हामीलाई होइन,
हामीले देशलाई
हराइरहेको छौँ।
जमैका, न्युयोर्क, जुन २०, २०२५।
Occasional reader, occasional writer and photographer, mostly a cancer researcher.
Leave a comment