म माटो थिएँ- थिचिएको, जोतिएको, कुल्चिएको; रगत, पसिना र आँसुको थुप्रोले बनेको।
जहाँ न्याय रोपिएन, जहाँ सत्य उम्रँदैन।
म माटो थिएँ- जहाँ हरेक चोट इतिहास बनेर उम्रन्थ्यो।
म मौन रहँदा- तिमीहरूले सम्झियौ म कमजोर छु; भुल्यौ- म धैर्य हुँ म विस्मरण होइन।
म माटो थिएँ- म शब्द बनेको छु। म पीडाभित्र कविता लेख्छु, म मौनताभित्र विद्रोह बोल्छु।
जुन थिचियो, त्यो सृजना बन्यो; जुन कुल्चियो, त्यो विद्रोह बन्यो।
म प्रश्न गर्न सिकेको माटो हुँ- अब म तिमीहरूको नक्साभित्र अटाउँदिन।
म बाँच्छु- ती खण्डहरहरूमा, जहाँ भाषण रोपेर कुर्सी फलाउँछौ, जहाँ राष्ट्र निर्माणको नाममा रगत रोपिन्छ र सपना काटिन्छ।
के म फेरि मल बनूँ? कि चुपचाप तिम्रा वाक्यहरू बोकुँ? अब म प्रश्न मात्रै होइन- उत्तर खोज्ने भूमि हुँ।
अब म- तिम्रो सत्तालाई उब्जनी दिन सक्दिन म आफैंमा एउटा भूगोल हुँ जहाँ आँसु सिंचाइ हो, र विद्रोह अन्न।
म माटो थिएँ- अब कविता बनेको छु; बिना अनुमति, बिना बखान। म सास लिन्छु- चिन्तनको धुवाँबाट; र उब्जाउँछु- कविता, प्रतिरोध र प्रश्न।
म थिचिएको होइन, प्रश्न सोध्न थालेको माटो। म अब चेतनाको माटो बनेको छु तिमीहरूका अन्तिम प्रश्न बनेको छु। म उब्जन्छु अब शब्दमा- जहाँ भोकको खेती हुँदैन, चेतनाको जंगल फैलिन्छ।
म माटो हुँ- जो चुपचाप उभिँदैन; विद्रोहको बीउ बोकेर, शब्दमा उम्रिन थालेको माटो हुँ। म भाषा बन्छु- जसले भोकको उच्चारण गर्छ, र दलनको वर्णमाला बिगार्छ।
Leave a comment