घाम त आखिर घाम नै हो - उसको त धर्म नै हो आफ्नै आगोमा अनवरत जल्ने, टाढैबाट चम्केर उज्यालो छर्ने।
उसको कर्म नै हो - सारा सृष्टिलाई सुनौलो पार्ने, अनन्त आकाश छिचोल्दै निरन्तर अघि बढिरहने।
घाम टाढा छे - आकाशको अर्को पाटामा, बादलको अँगालोभित्र बस्छे। ऊ आफैं जल्छे, आफैं चम्किन्छे, आफ्नै मुस्कान आफैंलाई बाँड्छे; रातको अर्धविराम चिरेर बिहान अझ प्रखर फक्रन्छे।
फूल त आखिर फूल नै हो - माटोको आत्मामा टाँसिएको, उसको त रहरनै हुन्छ- घामकै आशामा फुलिरहने, ओइलिने नियत बुझेर पनि फुल्ने रहर मार्न नसक्ने।
उसका पातहरूमा - लेखिएका छन् घामका अक्षर। उसको प्राणहरू - जलेका छन् घामकै नाममा। उसको जीवन - बगेको छ उज्यालोको प्रतीक्षामा । उसको मुटुमा - कुँदिएका छन् घामकै छायाँ। उसको गन्धमा - घुलिएका छन् घामको सम्झना। उ देखिएन भने पनि बाँच्छ, उ बुझिएन भने पनि बोल्छ।
घामले थाहा नपाए पनि फूलको आँखा सधैं घामकै बाटो कुर्छ; रातको अँध्यारोले छोप्दा बिहान फेरि फक्रिने आशामा एक तमास आँखा चिम्लन्छ, उज्यालोको प्रतीक्षामा रात बाँच्छ।
रात पर्छ, बादल टाँसिन्छन्, साँझ तारा ओर्लँदा फूल आफूलाई सम्झाउँछ - घामको न्यानोले मात्रै होइन, उसको टाढाइले पनि फूललाई जिउँदो राख्छ।
र बिहान - घामको एउटा झुल्को उज्यालोले उसको पर्खाइ रोकिन्छ, रातहरू उज्यालो हुन्छन्, रंग फेरिन्छ, उ आँखा खोल्छ, र आफ्ना रंगहरू फेरि एकपटक घामलाई चढाउँछ।
फूल बुझ्छ - घामले शायद कहिल्यै उसको मुटुको कम्पन सुन्नेछैन, तर ऊ अझै घामकै लागि रंगहरू चढाउँछ, गन्ध बाँच्छ, र आफ्ना सपनाहरू जलाउँछ।
घामकै नाममा ओइलिनु पनि प्रेमको एउटा रूप हो।
अनि कहिलेकाहीँ - बादलले छेकिएर सही घामको नजर केही क्षण फूलमाथि पर्यो भने, फूलको सम्पूर्ण ब्रह्माण्ड उज्यालिन्छ; घामलाई थाहा हुँदैन उसको एक झिल्काले फूलको आत्मा फेरि फक्रन्छ।
अस्तित्वभन्दा बाहिरको विश्वास, टाढैबाट पूजा गर्ने साहस, घामले देख्ला कि नदेख्ला भन्ने डरमै फुलिरहने आत्मा।
घामकै नाममा फक्रँदै घामकै नाममा ओइलिनु पर्ने नियति।
घाम उदाउँछ र अस्ताउँछ, फूल फुल्छ र ओइलिन्छ; त्यसैले घाम र फूलको कथा कहिल्यै पूरा हुँदैन - कविताजस्तै - शब्द सकिए पनि भाव बाँकी रहने, रात ओइलिँदा पनि आशा बाँकी रहने।
घाम त आखिर घाम नै हो - टाढैबाट जलिरहने; र फूल त आखिर फूल नै हो - घामकै लागि फुलिरहने।
Leave a comment