मधुबनको माटोमा हुर्किएकी मिथिलाकी छोरी म। तिमी परदेशी - मैले मागिनँ, मैले रोजिनँ, मेरो प्रेम थिएन, म जितिएकी थिएँ, धनुषवाणको पुरुषार्थमा; म मात्र पुरस्कार बनेँ, विजेताको, विजेताहरूका कुलको।
बारीका फूल - माटोको सुगन्ध, माटोसँगै हुर्केका सपना छाडेर, आफ्नै बगैँचाबाट टाढा–टाढा, म दुलही भएर आएकी थिएँ - मर्यादा पुरुषोत्तम राम, तिम्रो विदेशी राजमहलमा। तिम्रो साथले मलाई वनवासको एकान्त दियो, अपहरणको अँध्यारोमा बाँधेर रावणको बगैँचा पुर्यायो।
त्यसपछि - युद्धको गाथा, हतियारको गर्जन, वीरहरूको कथा। तिमी युद्ध जितेर फर्कियौ सिंहासनमा; मलाई कुरेर बसिरहेका थिए पुरुषसत्ताका शंकालु प्रश्न - “के सीताले आफ्नो सतित्व बचाएर राखी होली त?” अग्निपरीक्षामा भष्म भएर मैले साबित गर्नुपर्यो - “म पवित्र छु!”
तिमीले त - शंकाको आगोमा जलेर मलाई जंगलवासी बन्न बाध्य पारेका थियौ। तिमी, त्यो धोबी, पुरुष - शंका र अपमानले थाकेर गर्भमा दुई प्रश्न - लव र कुश बोकेर म फेरि एकपटक प्रवासी बनेकी थिएँ।
जंगलमै जन्मिए लव र कुश, माटो भित्रैबाट उम्रीएका नामहरू, माटोको घर, माटोकै गन्ध, माटोकै कोखबाट जन्मिए पनि बुवा र देश - दुवै नखुलेका आत्मा।
राम - म तिमीलाई प्रश्न गर्छु; तिमीले के कहिल्यै सोच्यौ - रावणले अपहरण गर्दा मेरो आँसु कहाँ खसे? मैले मात्र किन दिनुपर्यो - तिमीलाई पवित्रताको प्रमाणपत्र? लव र कुशलाई जन्मनासाथ - किन राज्यविहीन बनाएका थियौ? तिम्रो उत्तराधिकारी बन्न - किन पितृवंशको कागज देखाउनुपर्ने?
म सीता, म माटोकी छोरी, अझै वनवासी, अझै प्रश्नवाची। कहिले जनकपुर, कहिले अयोध्या, कहिले वनवास, कहिले ऋषिको कुटी; म कहिल्यै घरकी भइन। कसरी प्रमाणित गरूँ - म यही माटोकी छोरी? कसरी देखाउँ तिमीलाई - मेरो गर्भमा हुर्किएको पीडा?
मन्दिरका ढुङ्गामा त म स्त्री-शक्ति हुँ, लेख्छन् धर्मग्रन्थहरूमा - सीता शुद्ध, सीता पवित्र, सीता सहनशील; देशकी छोरी - देवी - माता - मेरो आँसुमा पवित्रता खोजिन्छ, मेरो देशमा मेरै छोराहरूलाई विदेशी लेखिन्छ?
राजाले प्रेम दिएन, धर्मग्रन्थले न्याय दिएन, आज कानुनले पनि ओठ टोक्यो। कसरी बुझ्न सकिन्थ्यो - देशको परिभाषा यति साँघुरो होला? जन्म दिनुअघि थाहा हुँदैन - मातृत्व एकदिन अपराध हुनेछ।
मायाले जन्मिएका - लव र कुशहरूलाई नियमको कागजले अस्वीकृत गरिरहन्छ। राम र धोबीहरूले लेखेका संविधानका पानाले अझै भनिरहन्छ - “विदेशीकी श्रीमती।” “अब जन्मने तिम्रा छोराहरू उसैको देशका हुने भए।”
Leave a comment