यस पसलमा मूल्य छैन- बाल्यकालको न्यानो पसिना धूलोले ढाकिएका चाहना टुक्रिएको हाँसो च्यातिएको समय हातमा बाँधिएको घाम, सबै कुरा स्मृतिमा तौलिन्छ सबै यहाँ सजिएको छ न बेचिन्छ, न खरिद हुन्छ।
पसलको ढोकाबाट छिर्नासाथ- पहिलो शेल्फका बग्रेल्ती सम्झनाहरु परालको गन्ध अझै सुगन्धित छ हजुर दिदीको ढाड अझै तातो हजुरबुबाको काँध अझै हलुका, एउटा असम्भव उचाइमा जहाँ आकाशलाई छोइन्छ तर आकाश खाली फिर्ता फर्कन्छ।
बाल्यकालको हावा टुक्रिन्छ- अब ती काँध हराइसकेछन् त्यो हल्कापन अझै बाँकी स्मरणका खेलौनामा आकांक्षाको सपनामा, बाल्यकाल त अब मात्रै पसलको भित्तामा अडिएको धूलो टाँसिएको फोटोमा बाँकि रहछ।
एउटा कुनामा- हरियो अनन्त फैलिएको छ चियापातको हरियो पातमा उसको अनुहार टाँसिएको छ प्रत्येक सुगन्धमा उसको स्पर्श लुकेको छ, म उसको आँखामा हराउँछु कहिल्यै आकाश- कहिल्यै पोखरी उसको मौनता- मेरो कविता उसको हाँसो- मेरो अधूरो वाक्य माया भन्न नसकिएको तर माया भइसकेको।
बिचको शेल्फमा- बसको गर्जन- त्यस्तै चर्कन्छ फलाम च्यातिन्छ- समय थुनिन्छ मानिसहरू भन्छन् “भाग्यमानी” भाग्यमानी हुनु भनेको मृत्यु बोकेर हिँड्नु रहेछ, मेरो छालामुनि उसको अपुरो सास अझै अड्किरहेको छ एउटा सानो स्वर जसले भनिरहन्छ “अब तिमी मात्र होइन, म पनि तिमीभित्र बाँचिरहेको छु।”
अर्को शेल्फमा- पुस्तकका पानाहरूले देखाए इतिहासको हड्डी मात्रै अवशेष मठका धूपको बाक्लो धुवाँले स्मृतिलाई अझ बाक्लो बनाउँदै मुट्ठीभरि शून्यता मात्र दिन्छन, प्रश्नका कुनै जवाफ दिन सक्दैन निस्तब्धताले घाँटी च्यापेको मलाई उसको सम्झनाले बिउँझाएर गिज्याउँदै भन्छ “पश्चात्ताप त प्रार्थनाजस्तै शुद्ध हुन्छ।“
सहर त पसल भित्रै पस्छ- भीडको एकान्तले च्यापेर धूलोभित्रै हराएको घामलाई उसको छायाँले उज्यालिएको देख्छु, हरेक गल्लीमा उसको अधुरो अनुहार बाँचेको छ ट्राफिकको कोलाहलमा उसको आवाज अझै न्यानो बज्छ।
मानिसहरू समुद्र जस्ता बग्छन्- म मानिसहरूसँग हिँड्छु मेरा प्रत्येक कदम जुनमाथी- भुइँमुनि भूकम्पजस्तै थरथरी, शरीरको समुद्रभित्र उभिएको म मात्र एक टापु अनि उसको अनुपस्थिति सधैँ बाढी ल्याउने छायाँ।
आखिरी कुनाको शेल्फमा- स्मृतिको एउटा ऐना छ जसको प्रतिबिम्बमा म सँधैभरि उसलाई उभिएको भेट्छु उसको आँखामा म अझै बाँकी छु, मेरो आँखामा ऊ अझै बाँचिरहेकी ऊ न आँसु हो, न मृत्यु अनन्त गहिरो दृष्टि उस्तै निरन्तर उज्यालो।
नोस्टालजिया पसलमा क्रय- विक्रय हुँदैन स्मृतिहरूको सम्झौता गरिन्छ उसको सम्झना निर्दयी छ मलाई क्षमा गर्दैन, उसको कठोर स्मृतिले मलाई बाँच्न सिकाउँछ ऊ दृढ बनेर सम्झाइरहन्छे “हाम्रा सपना बाँच्न थाँति नै छ।”
नोस्टालजिया पसल- कहिल्यै बन्द हुँदैन यहाँ जीवन टुक्रिन्छ र समय हुर्किन्छ, उसका अधुरा सम्झनाहरू गुनासो र मायाको छाप बोकेर मलाई बाँधिरहन्छ।
म पसल छोड्न खोज्छु, तर ढोकाबाहिर निस्कँदा फेरि पसलमै फर्केको पाउँछु, “उसको अनुपस्थिति नै मेरो उपस्थितिको कारण हो।”
नोस्टालजिया पसल- मभित्र छ र म यस पसलको, नियमित ग्राहक सम्झनाहरू बाँचिरहेको।
Leave a comment