कोठाभित्रको मानचित्र



म कोठाभित्र बस्छु-
कोठा साँघुरो, छालाभन्दा गहिरो।
मेरो छाला आँफैमा एक मानचित्र,
घाउका नदीहरूको चित्र-
औँलाले छोए काँडा फुल्छ,
हावाले छेड्छ, धुलोले ढाक्छ,
तर- सधैँ चलायमान,
सधैँ ज्वलन्त,
सधैँ असह्य।

कहिलेकाहीँ म
आफ्नै छालाबाट बाहिर निस्केको छायाँ बन्छु-
छायाँ जो हिँड्छ, तर वजन महसुस गर्न सक्दैन।
छायाभित्रको शरीरलाई तानेर हेर्दा
आफ्नै सास काट्ने सुइँ देख्छु।
लाग्छ- कुनै नाटकको पर्दा,
जो बारम्बार तानिन्छ,
तर अन्त्य- कहिल्यै आउँदैन।

सहर कोठाभित्रै पस्छ,
मेरो छाती कराउँछ-
काठको बाकस भत्किन्छ,
आगोको स्वर मर्छ,
चिहानको ढोका च्यातिन्छ।
न रातो, न सेतो-
भित्ताभित्र फूल उब्जिन्छ,
हजारौँ आवाजहरूको
रङले रंगिएको।

कोठाभित्र अर्को कोठा,
नदी बन्न थाल्छ-
नदी बनेर सहर डुबाउँछ,
घाम पोल्छ- पानी बन्छ,
पानी बग्छ- गीत बन्छ,
गीत बाँच्छ- मौनता भत्काउँछ।
मानिसहरू मृत भगवानको
अस्थिमाथि नाचिरहेका छन्
र प्रत्येक हाँसो
चाकु बनेर आकाश चिरेर जान्छ।

कहिलेकाहीँ-
आकाश च्यातिन्छ
कागहरू उडेर आउँछन्
र मन्दिरको ढोकामा
मेरो अनुहार चित्र्छन्।
मेरो त्यो अनुहारमा-
नाक छैन, ओठ छैन।
केवल आँखा छन्-
अनवरत पोल्ने आँखा,
अनवरत खोज्ने आँखा,
अझै उज्यालो खोजिरहने आँखा।

दुनियाँ,
तिमीलाई थाहा छ?
मेरो छातीभित्र एउटा घण्टी
ब्रह्माण्ड थर्काउँदै बजिरहेको छ।
त्यो घण्टीले न समय सुन्छ,
न धर्म।
त्यो घण्टीले केवल
मृत्यु र पुनर्जन्मबीच फाटेको
परालजस्तो मौनता सुन्छ।

र म-
म त्यो मौनतालाई गीत बनाउँछु।
गीतलाई छोरीका कपालमा बेर्छु।
गीतलाई बहिनीका खुट्टामा छर्छु।
गीतलाई आमाका सासमा फुक्छु।
त्यो गीत-
घामको लय,
पानीको स्वर,
माटोको प्रतिरोध,
आकाशको उज्यालो।

त्यो गीत सँधैभरि
बाँचिरहन्छ-
म भित्र,
तिमी भित्र,
हामी सबै भित्र।

Posted in , , ,


Leave a comment


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun





kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.