(ऐनाभित्रको काल्पनिक म, ऐनाबाहिरको वास्तविक म बीचको संवाद)
आजको रात आकाश स्थिर छ; जुनको उज्यालो धुमिल छ र तिमी पनि थकित छौ।
रात चकमन्न छ कोठा चुपचाप; भित्तेपात्रोले काँचुली फेरेसँगै घडीहरू पनि थाकेर बसेका छन्। भित्ताको छायाँ- एउटा अदृश्य आकृति बनेर तिमीलाई- तिमी हुनुको आभास दिइरहन्छन्।
चिसो सतहपारि यो ऐनाभित्रैबाट तिमीरुपी म; तिमीलाई नै हेर्दैछु।
तिमी- आफैँसँग कुरा गरिरहेका छौ जसरी छायाँले छायाँसँग गर्छ। म- सुनिरहेको छु, साससँग तौरिँदै छालाभित्र चलिरहेका अधुरा संवादहरू।
सहरको कोकोहोलोको अस्तित्वविहीन हुलमा; जब- सोचमग्न, आफ्नै अस्तित्वको खोज गर्छौ, तब- आफ्ना हरेक गल्तीहरूको गन्ती गर्छौ। जसरी- रुखले हरेक पतनलाई शरदमा झरेका पातको नामले हिउँदभरि सम्झन्छ।
म सुन्छु- तिम्रो हड्डीहरूको आवाज; उनीहरू भन्छन्, “होस्टे, हैंसे। होस्टे, हैंसे।”
हड्डीभन्दा गहिरो ठाउँमा एक्कासि अर्को डर पलाउँछ; तिमी आफू बन्ने डर।
जुन डरलाई त धेरै पहिलेदेखि तिमीले आफ्नो साथी बनाएका छौ। जो- तिमीसँगै बस्छ, तिमीसँगै हिँड्छ, तिम्रो काँपिरहेको छायामा, तिम्रा ओठभित्रका सासहरूमा।
रातको सन्नाटा कोठाभरि छ; एउटा आशाको झिनो त्यान्द्रो बोकेर; शायद बाहिर बिहान सुरु हुँदैछ तिमी रातको त्यही ऐनाभित्र अझै कतै अड्किरहेको पाउँछौ। तिम्रा अन्तर्मनका आवाजहरू म पानीझैँ ओसिलो मौनताले भिजेका भेट्छु।
तिमी सोच्छौ; कति जन्महरू बिर्सन बाँकी आफ्नै गल्तीहरू सम्झँदै, कति मरणहरू बाँच्न बाँकी केवल विगतका उत्तर खोज्दै। दुखाइ केवल पीडा होइन, दुखाइ- साक्षी हो, प्रत्येक आँसु- अर्को कविता जसले तिमीलाई धरातल फर्काउँछ।
न्यानो, सजीव पीडाहरू; जहाँ- आँसुले आँखाको ढुसी फुकाउँछ, जहाँ- हरेक चोटहरूलाई जीवनले नयाँ कविताको पानामा बदल्छ। जहाँ- तिमी आफू नहुनुको पीडा महसुस गर्छौ, जसले- अझै तिमीलाई जिजीविषा सिकाइरहेका छन्।
जीवनले अर्थ खोज्दैन, मात्रै उपस्थितिको आग्रह गर्छ। जब आत्मा निरन्तर प्रश्न गर्छ; “के बाँच्नु नै सजाय हो?” म ऐनाको सतहमा रगतले लेखिदिन्छु, “तिमी यहाँ छौ। तिमी अहिले छौ। तिमी छौ। तिमी छौ। तिमी छौ।”
तिमी उपस्थित हुन्छौ, आफ्ना- थकानसँग, मौनतासँग, आफ्ना- गल्तीहरू, डरहरूसँग। न कसैले तिमीलाई बुझ्न सक्यो न तिमीले कसैलाई बुझाउन जीवनको गहिराइ कस्तो अनौठो! शरीरको दुखाइ बुझाउनै नसकिने।
बिहान बिस्तारै झ्यालबाट तिमीलाई चियाएर हेर्छ, बिहानको पहिलो घाम- पुराना घाउहरूमा पस्छ हावा भित्रिन्छ; थकानजस्तो, तर नयाँ।
तिमी माफ गर्छौ- ती आँखाहरूलाई जसले तिमीलाई गलत पढे, ती हातहरूलाई- जसले तिम्रा साथ छाडे। म ऐनाभित्रै सुन्छु बिहानीको पहिलो आवाज; “म माफ गर्छु आफैँलाई पनि अघिल्ला गल्तीहरू, मौनहरू, आकांक्षाहरू, थकानहरू सबैलाई।”
छतमा पहिलो उज्यालो शान्त झरेको छ। तिमी बिस्तारै उठ्छौ; म बसेको ऐना तिम्रो सासले धुमिल बन्दै जान्छ। तिम्रो नाङ्गो मनले जब बिहानीको पहिलो शीतलाई छुन्छ, तिमी नयाँ यात्रामा निस्कन्छौ अर्थ नखोजी, छायाँसँग।
तिमी बुझ्नेछौ; स्थिरता असम्भव छ, तर सुन्दरता हरेक बिहान सम्भव हुन्छ।
अन्ततः ऐनाले तिम्रो अनुहार बोक्दैन अब त्यहाँ, तिम्रो आत्मा झल्किन्छ; ऐनाभित्रको घामको झिल्कोमा म लुप्त हुन्छु, तिमी बाँच्छौ; अरू धेरै जन्मदिनहरूका निमित्त।
जानुअघि म भन्छु; “तिमी बाँच्न छाड्ने छैनौ, तिमी आफू हुन छोड्ने छैनौ, तिमीभित्रको तिमीका लागि अनि ऐनाभित्रको मेरा लागि।”
उही तिम्रै नाममा, तिम्रै लागि, तिमी स्वयम्, ऐनाभित्रको म।
Leave a comment