वाद्यहरूको विरोध संगित


म सारंगी हुँ;
मेरो तारमा लुकेको छ
थिचिएका अनुहारहरूको सास।
मेरो तालमा धड्किरहेको छ
भत्किएका सडकहरूको धुन।

मेरो तारमा अड्किएको छ;
थारु आमाको लोरी,
तामाङ दाइका गीत,
मधेसका लोकसुर,
जनजातिका बिहानी भाका।

सारंगी हुँ म;
सजावटको कोठामा झुन्ड्याएर
मलाई चुप बस्ने नबनाउ।
रेट मलाई-
ताकि सुतेका कानहरू बिउँझून्,
रेट मलाई-
ताकि भुलाइएका नामहरू उच्चरित हुन्।

म ढोल हुँ;
मलाई कुनामा थन्काएर नछोड,
धुलोको थुप्रोमुनि लुकाएर नछोड।
बजाउ मलाई-
त्यो भाकामा- जसले निदाएको गाउँ उठाओस्,
त्यो तालमा- जसले मौन सहर हल्लाओस्।

ढोल हुँ म;
म बज्दा एक्लो हुँदैन,
मेरो तालमा सयौँ हात जोडिन्छन्,
मेरो धड्कनमा हजारौँ हृदय मिसिन्छन्,
बजाउ मलाई-
मेरो आवाज सुनेर दमनका ढोकाहरू काँपून्,
डराएर अन्यायका पर्खालहरू भत्किउन।

थाह पाउन;
मेरो आवाज केवल नाचको लागि होइन,
मेरो आवाज विद्रोहको भाषा पनि हो।

बाँसुरी बन्छु म;
साँसले बोल्ने प्रमाण,
भुलेका भाषाहरूको आह्वान।
बजाउ मलाई-
मेरो स्वरले मातृभाषाको पहिचान फुकालोस्
विद्यालयको पाठ्यपुस्तकमा,
सभाको भाषामा, कानुनको शब्दमा।

बाँसुरी हुँ म;
मलाई दबाउन खोज्नेलाई
मेरो स्वरले स्मरण गराओस्:
भाषा नटुन्ने अधिकार हो।

मादल, तबला, ढल्के
हाम्रो सङ्गीतले मात्र नृत्य बल्दैन;
महिलाहरू उठ्छन्-
“आमाहरू केवल घरकै होइनन्,
हामी राष्ट्रको मेरुदण्ड हौं।”
आदिवासीहरूले चिच्याउँछन्-
“यो जमिन हाम्रो पूर्वजको रगतले रोपिएको हो।”
मधेस कराउँछ-
“हामीलाई सीमाना होइन, अधिकार चाहिन्छ।”

वाद्यहरूको यो सेना उठोस्;
सारंगीका तार, ढोलका ठोका,
बाँसुरीका श्वासहरू एउटै तालमा मिल्छन
हाम्रो सङ्गीतले कागजातमा
लेखिएका दावीहरू पनि बचाउन।

म सारंगी हुँ- मेरो तारबाट उठ्ने ध्वनि सुन।
म ढोल हुँ- मेरो ठोकाबाट उठ्ने कदम देख।

रेट मलाई- हामीलाई बजाउ-
संगीत भित्र निहित आत्माको बल लिएर,
एक दिन
तिमी पनि त्यो तालमा नाँच्नु पर्नेछ,
नाच्नुपर्ने छैन भने, कमसेकम सुन्न पर्नेछ।

- जमैका, न्युयोर्क।

Posted in , , ,


Leave a comment


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun





kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.