
छायाँमा
सत्य कुरीरहेछ, महोदय।
उज्यालोमा
हामी त्यसै झुलिरहेछौं।
संसार
उज्यालोको भाषामा बोल्छ।
छायाँले
प्रश्न गर्दैन, मात्रै पर्खन्छ।
उज्यालो
जसले छायाको मुटु चिन्दैन,
छायाँले बुझ्छ
उज्यालो मात्रै एक सजावट हो।
घामले
कुरा गर्दैन, केवल देखाउँछ।
म बुझेको नाटकमा
आफ्ना आँखा बन्द गरिदिन्छु।
कहिलेकाहीँ
अन्धकारको गहिराइ बिर्सिएरै
आँखाको उज्यालो नाप्न खोज्दा
आफ्नै मुटुका घाउहरूलाई नै
म फूलहरूको रूपक बनाईरहेको भेट्छु।
सत्य
त्यो मुक्ति, त्यो रोग,
जो आफ्नै प्रतिबिम्बमा हराउँछ,
जुन आफ्नो स्वीकृतिमा मर्छ।
एकै
शरीरका दुई मौनता,
एउटा प्रश्न बनेर बाँचिरहेको,
अर्को जवाफ भएर हराइरहेको।
सन्तुलन
त्यसरी नै टिकाइरहेको हुन्छु,
जसरी
म हराइरहेको हुन्छु।
हरेक दिन
थोरै उज्यालो मर्छ,
थोरै अन्धकार बाँच्छ।
न नाममा, न इतिहासमा,
न मुटुका ती कुनामा।
छालाभित्र
न्यानो सास मात्र बाँकी रहन्छ।
जसरी नदी
शब्दहरू नाघेर, अर्थहरू बिर्सेर,
पहाड फोरेर बगेको हुन्छ,
म बोल्छु, उसले सुन्छ,
म हिँड्छु, उसले बाटो सम्झिन्छ।
छायाँको
न्यानोपनमा म सबै कुरा बिर्सन्छु।
उज्यालोको दायरा, विपनाको करार,
भाषाको भार, भविष्यको सूची,
आधा उज्यालो, आधा अस्वीकार,
थप शान्ति, थप एक्लोपन।
सत्य
रातको खाचोमोचामा,
छायाँको शरीरमा
नबोलेको, नसोचेको,
धेरै नजिक, अझै धेरै टाढा,
स-साना बिन्दुमा टिकेको भेट्टाउँछु।
बिन्दुले
सत्यको नजिक पुग्दा
आ-आफ्नो आकार लिन्छन्।
आकारले अन्त्य बोल्छन्।
अन्तिम सास
जसले आवाज बन्न अस्वीकार गर्छ।
हावाजस्तै
छुन नसकिने, नछोएरै पनि दुख्ने।
जसलाई
उज्यालोले मात्र हल्लाउँछ।
जसलाई
छायाँले मात्र बचाइराख्छ।
सत्य
सायद त्यही आवाज,
जसलाई कोही सुन्दैन,
जसले सबै कुरा सुन्छ।
छायाँको औँठामा
उज्यालोको
अर्को सुन्दर भ्रमभित्र,
थोरै बढी, थोरै सत्य,
छायाँको तापमा
जलिरहेका शब्दहरू।
छायाँमा
सत्य कुरीरहेछ, महोदय।
यसपटक
उज्यालो मभित्र झुलिरहेछ।
- E/A ट्रेन,
जमैका, न्युयोर्क


Leave a comment