शब्दहरूको छेउमा बसेर म,
मौनको आकार नाप्दै छु।
कहिलेकाहीँ-
तिम्रो अनुहारजस्तो लाग्छ,
कहिलेकाहीँ मेरो आफ्नै छायाँ।
बोल्न नसकिएका कुराहरू
हावामा टाँसिएर- अड्कीएर बसेका छन्।
म तिनको अर्थ खोज्दै,
फेरि मौनकै साथमा फर्किएको भेटाउँछु।
तिमीले पढिरहेकीछ्यौ मेरो मौनता,
ओल्टाइ- पल्टाइ,
भित्तामा झुण्डाइएका फोटाहरूमा
अड्किएका प्रश्नहरु जस्तै।
के तिमीले सुनेकीछ्यौ
मैले नबोल्दै, म बाट पोखिएका शब्दहरू?
तिमीले त सोध्यौ- “पर्खूँ कि फर्कूँ?”
म ति, प्रश्नहरूमै बाँचिरहेको छु।
न पर्खाइको समय टुङ्गिन्छ,
न फर्काइको बाटो खुल्छ।
हरेक साँझको अँध्यारोमा,
मुटुले नस्विकारेका-
नभोगेका- स्मृतिहरु
गन्ध बोकी आउँछन्;
शब्दहरूभन्दा गहिरो,
मौनताको आवरण भिर्छन।
म त्यहि मौनभित्र,
तिमी, म, हामी र म बीचको
दूरी नाप्दै बसेको पाउँछु।
पर्खाइमा होस्, अथवा,
यिनै असीमित शून्यता हरू भित्र।
यो चिसो मौन;
दूरी कुनै दूरी होइन,
शब्दहरूको भीडबाट
थाकेर बाँचेको स्वास-परिभाष हो।
जहाँ म,
तिमीलाई गुमाउन तयार छु,
तिम्रो यादलाई भुलाउन सक्दिन।
मौन पनि त संवाद हुँदो रहेछ,
तिमीले खोजेको उत्तर
मौनता कै भाषामा सुन।
Occasional reader, occasional writer and photographer, mostly a cancer researcher.
Leave a comment