अन्तरेको कथा: माओवादी कसरी बन्नुपर्‍यो, कसरी माओवादीले बिर्सियो?


‘पूर्वछाने बढाउले दोस्रो विश्वयुद्धको गोली बोके, अन्तरेले आफ्नै देशको अन्याय सह्यो

अन्तरेकी छोरीले बाबाले बनाउन नपाएको स्कुलमै पढेर, न्याय जिती। 

तीन पुस्ताको कथा हो यो- राज्य, अन्याय, विद्रोह र सम्झनाहरूको। 

भर्खरै अस्तित्व हराएको पार्टीले अस्तित्व हराउनुको प्रमाण।’

हाम्रो गाउँमा एउटा स्कुल छ, प्रतिभा सेकेन्डरी। म सानै थिएँ, त्यो बेला। कसैको घरमा भएको स्कुलको, नयाँ बिल्डिङ बनाउने तरखर सुरु हुन लागेको थियो। अन्तरे काका त्यहीँ काम गर्थे, बिल्डिङ बनाउने ज्यामी। कहिले इँटा बोक्ने, कहिले बालुवा छान्ने, कहिले ढुङ्गा फोड्ने। बिहान सबेरैबाटै काममा जानुपर्ने, घाम नअस्ताउँदा सम्म खटीनपर्ने। अन्तरे, दिनभरिको कामबाट थाकेर अबेर मात्रै फर्कन पाउँथे। केही वर्ष अघि मात्रै बिहे भएको थियो उनको, छोरी अझै अन्तरीको पेटभित्र हुर्कँदै मात्रै थिई, भेट्न आठ वर्ष कुर्न पर्यो।

त्यो बेला, असार-साउनमा लामो गर्मी बिदा हुने गर्र्थ्यो। घरमा, धान रोप्ने मैझारो सकेपछि, ममीसँगै बहिनी र म छुट्टी मनाउन मामाघर गएका थियौँ। त्यहीबेला, दिनभरि स्कुलको नयाँ बिल्डिङमा काम गरेका अन्तरे, रातको गर्मी छल्न छाप्रो-घर बाहिर बनाएको चौखुटमा सुतिहेरेका थिए रे। राती एघार बजेतिर आएका पुलिसले अन्तरे काकालाई कारण केही नदेखाई, समातेर लगेको रहेछ। हामी झन्डै पन्ध्र दिनको बिदा मनाएर हामी घर फर्कँदा, अन्तरे काका कहाँ छन्, बाँची रहेका छन् की इन्काउन्टरमा मरिसके? कति कुटाइ खाए होलान्, शरीरका के-के र कति हड्डी भाँचिसके की? किन पक्राउ गरेको, के अपराधका लागि हो, केही अत्तोपत्तो कसैलाई थिएन रहेछ।

अन्तरे काका पक्राउ पर्दा, उनी माओवादी भएका थिएनन्। उनलाई माओवादी भनेर पक्राउ गरिएको पनि थिएन। हाम्रो गाउँ नजिकै, माईधारमा भएको बस लुटपाटको नाइके भएको आरोपमा पक्राउ गरिएको रहेछ, झन्डै एक-डेढ महिना पछि थाह भएको थियो। दिनभरि स्कुलमा काम गरेका अन्तरे, लुटेरा हुने सम्भावना नै भएन, फेरी बस लुट्नलाई कतै बस लुटिएको पनि हुन पर्‍यो नि?  तर, प्रहरीको आरोपले प्रमाण नमाग्ने बेला थियो त्यो। छिमेकमै बस्थे, उनका मामाको छोरा, अहिले कमरेड सन्देश, त्यति बेला भर्खरै माओवादी बनेका रहेछन्। पुलिसले झुक्किएर पक्राउ परेका अन्तरे काका, बस लुटेरा करार भएका थिए। चन्द्रगढी जिल्ला अदालतले उनलाई उन्नाइस वर्षको सजाय दिएर जेल चलान गरेको थियो, त्रिपन्न सालमा।

पुर्वछाने बढाउका चारजना छोरा मध्ये एक हुन् अन्तरे। पुर्वछाने बढाउ, नबिराई बिहान हामीसँगै चिया खान आउनु हुन्थ्यो। पहिले आफुँमात्रै, पछि अन्तरेकी छोरी, नातिनी सँगै। कति पटक मैले, “ए बढाउ ढुङ्गा लडाऊ” भनेर जिस्काएको छु, गनिसाध्य छैन। हाम्रो सबैभन्दा नगिचका छिमेकी, तेह्रथुमका थापामगर, पूर्वछाने बढाउले ‘सोझो-मगर’ भएकै कारण जिन्दगीमा धेरै हन्डरहरू खानु परेको थियो। दोस्रो विश्वयुद्धमा खाएको गोलीको प्रमाण त उनले जिन्दगीभरी बोकेर हिँडीरहेका थिए। 

प्रथम विश्वयुद्धमा बेलायतबाट लड्न सिपाही पठाउँदा पाएको रोयल्टी देखेर पल्केका त्यति बेलाका राणा शासकहरूलाई सन् १९३९, मा सुरु भएको दोस्रो विश्वयुद्ध सुनको हात्ती जस्तै अवसर बनेको थियो। तेह्रथुममा उर्दी नै जारी हुने गर्थ्यो अरे, सोह्र वर्षभन्दा माथिका सबैले बेलायतको आर्मीमा भर्ना हुन जानुपर्ने भन्दै। राणाहरूको त्यो उर्दी, थापामगर पुर्वछानेको गाउँमा अझै कडासँग पुगेको थिएछ। साथीहरूसँगै, जम्माजम्मी पाँच फिट पनि नपुग्ने, पूर्व छाने पनि भर्ना भएर दोस्रो विश्वयुद्ध लड्न गएका थिए अरे।

पूर्वछाने बढाउ इस्ट-इन्डिया ब्रिगेडका उनको काम भने सेन्ट्री थिए। पहिले सिलोन, त्यसपछि बर्मा, मलाया, इन्डोचाइना- पूर्वी-एसियाको प्राय सबै देशहरूका लडाइँमा पुगेका थिए छन्। मलायामा चढीरहेको पिलेन बिग्रिएपछि, प्यारासुट कसरी चलाउने वा काम गर्छ कि गर्दैन, दुवैको अत्तो-पत्तो नहुँदा हाम फाल्नु परेको थियो भन्थे। त्यतिबेला बल्लतल्ल बाँचेका उनलाई, त्यसपछिको इन्डो-चाइनाको लडाइँमा, सन् १९४३ मा गोली लागेको थिए छ। पुर्वछानेको युद्ध त्यहाँबाटै सकिएको थियो, देब्रे तिघ्रामा लागेको दुई गोलीकै कारण जिन्दगीभरी खुट्टा खोच्याउँदै, लट्ठी-टेकेर हिँड्नुपर्ने भएर नेपाल फर्किएका थिए।

पुर्वाछाने बढाउ सन् १९४४ मा चार वर्ष बचाएको तलब-भत्ता लिएर घर फर्केका थिए। घरजम गरेर लामो समय पहाड घर तेह्रथुममै बसे। प्रजातन्त्र आएपछि, बेलायतका तर्फबाट पहिलो र दोस्रो विश्वयुद्धमा लडेका “गोर्खे” सिपाहीको पेन्सन भत्ताको कुरा उठ्न थाल्यो। पूर्वछाने, पेन्सेनको कुरा सुनेर, धेरै दिन हिँडेर दरभङ्गा पुग्दा,‌ सिपाहीहरूको नाम पहिले नै पठाइसकेको थिए अरे। अड्डामा काम गर्ने कर्मचारी सँगै लडेका सिपाही भेटेछन्, ‘अहिले भारतीय सेना भनेर गरिदिन्छु महिनाको थोरै पाउँछस् तर पाउँछस्’, भनेर कागजपत्र बनाइदिएछ। फुरुङ्ग भएर फेरी गाउँ नै फर्किएछन्।

वर्षको दुई पटक धरान झर्‍यो, पेन्सन, नुन-चामल बोकेर फर्कियो, त्यति पैसाले पुगिहाल्ने, निकै समय पहाडमै बसेका थिए, पूर्वछाने। त्यसको केही वर्सपछि पञ्चायत आएको थियो, युएसएडको सहयोगमा तराइ खोलियो। बिसको दशकको सुरुमा, चार कोशे झाडी फाँडेर बस्ती बसाउँदा पूर्वछानेको भेट मेरो हजुरबुवा सँग भएको थिएछ। 

हजुरबुवाले, यी पूर्वछाने दाइ, कहिले मकैमा किरा लाग्यो भनेर तातोपानी खन्याउने, कहिले उखु रोप्दा मलको साटो चिनी हाल्ने गर्थे भन्दै कति पटक हामीलाई सुनाउनु भएको थियो। सोझोपनको फाइदा भने, भारतकै अरू कसैले लिइसकेको थिए छन्। दरभङगाबाट पुर्णिया सरेको दख्तरमा धेरै वर्सपछि बेलायतको सेनाबाट लडेको प्रमाण खोज्दै हजुरबुवाले नै लिएर जानुभएको थियो। अरू कसैले पहिलेबाट नै, पूर्वछाने मगर बनेर  बेलायतको पेन्सन उम्काइसकेको भेटाउनु भएको थिएछ, सच्चाउने प्रयास सफल हुन सकेन। बेलायती सेनाबाट लडेका पूर्वछाने, पूर्वी भारतीय सेना करार भएका थिए।

त्यो बेला, पुर्वछाने पहाड-घर बाट बसाइँ सरेर जहान परिवारको साथ हाम्रो छिमेकी बन्न आइसकेका थिए। तलब-भत्ता पुगिसरी जस्तै हुन्थ्यो, त्यसैमा चित्त बुझाएर बसेका थिए। गाउँभरिमा मासु काट्नु परे सबैलाई पुर्वछाने नै चाहिने। अलि-अलि जन्त्र-मन्त्र गर्न पनि आउँथ्यो, धामी, मुन्दुम पूजा गर्न पनि सबैलाई उनिनै चाहिने। जिन्दगी त्यसै गरी आफ्नै सुरमा रमाइरहेका उनको परिवार पनि क्रमैसँग बढ्दै गयो।  मैले थाह पाउँदा, अन्तरेको भाइ र उनका दुई जना दाइ, जम्मा चार जना मात्रै बाँचेका थिए। पूर्वछाने हजुरबुवाको साथी, छोराहरू मेरो बाबा-काकाहरूका साथी बने। एक जना छोराले, तीस सालमा हाम्रो पुरानो घर नै जलाइदिएका रहेछन्। कहिलेकाहीँ “देउता चढ्ने” साइँला-काकाको जलाउने नियत भने थिएन। त्यसपछि, हामीले नयाँ घर बनाएपछि त झन्डै-झन्डै हाम्रो आँगन नै जोडिन गएको थियो।

हाम्रो गाउँमा शुक्रवार सधैँ हटिया लाग्छ, शुक्रवारे बजार। हरेक हप्ता, हाटमा बेच्नको लागि बिहीबार बेलुकै बाट बढ्यामाले घरमा जाँड पार्नु हुन्थ्यो। सानो बेलाको मलाई जाँड छानेर के-कसरी बेच्नुहुन्थ्यो थाह छैन, जाँडको स्वाद पनि धेरैपछि मात्रै पत्तो पाएको हुँ। जाँड बनाउँदा बन्ने माम्री भने मलाई असाध्य मन पर्ने, कति खाइयो-खाइयो, गनिसाध्य छैन। बढ्यामाले हाँस, सुँगुर, राँगा बँदेलको मासु बनाउँदा मलाई सधैँ बचाएर राखिदिने गर्नुहुन्थ्यो। काइँला-काकाले नाक छोएको देख्यो कि, पिट्न आइहाल्ने, रुघा लाग्दा देख्लानकी भनेर सधैँ डराउन पर्थ्यो। यी दुई छोरा, अन्तरेका दाइहरूलाई बेला-बेला देउता लाग्ने, त्यो बेला अलि-अलि सास्ती दिन्थे, त्योबाहेक हाम्रा दुई परिवारमा मनमुटाब भएको मलाई खासै सम्झना पनि छैन।

अन्तरेले, अन्तरीलाई माओवादीले रुकुममा युद्धको बिगुल फेर्दै गर्दा, भगाएर विवाह गरेका थिए। उनी थापामगर, अन्तरी छेत्रीकी छोरी। अन्तरीले “थापा भनेर आएको, थापामगर परेर मरेछ” धेरै पटक भनेको सानो बेलाको त्यो सम्झना, अझै ताजै छ।बिहे गरेको केही बर्सपछि, अन्तरे-अन्तरी छुट्टिएर हाम्रो घरको अझै नगिच आइपुगेका थिए। सानो फुसको छाप्रो र अंशमा आएको केही धुर जग्गा; त्यति नै थियो अन्तरे र अन्तरीको संसार। अन्तरे गाउँभरि ज्यालामा काम गर्थे। अन्तरे-अन्तरीको सानो संसारमा सानी छोरीको प्रवेश हुनै लागेको थियो, त्यसअघि नै पुलिसले अन्तरेलाई घरको आँगनबाटै राती पक्रेर लगेको थियो। 

अन्तरेलाई लुटेरा करार गरेर पक्राउ गरिएको थियो, पुलिसले माओवादी भनेर राम्रै केर-कार गरेछ। पक्राउ गरेको झन्डै एक महिना पछि उनको खबर थाह भएको थियो। प्रहरीले पिट्दा हात-खुट्टा नभाँचे पनि टाउकोमा ठुलै चोट लागेको रहेछ। अस्पतालमा भर्ना गर्ने बेला परिवारलाई खबर गरेका थिए, ‘तिमेर्को मान्छे बुझ्न आओ’ भनेर। त्यसको केही महिनामा प्रहरीको केर-कार जे-जस्तो भए पनि, अदालतले फर्जी लुटपाटको नाइके भन्दै तक्मा भिराएर उन्नाइस वर्षको सजाय सुनाएको थियो। 

त्यसपछि अन्तरी काकी पुर्वछानेकै घरमा फर्किएकी थिइन्। छोरी जन्मँदा, अन्तरे चन्द्रगढी जेलमा थिए। बाबाले छोरी जन्मेको खबर अन्तरेलाई सुनाइदिनु भएको थियो। माओवादी भएको कारण अन्तरे जेल पर्‍यो भनेर सबैतिर हल्ला चलेको थियो त्यो बेला। झापामा भर्खरै सलबलाउन थालेका माओवादी कार्यकर्ताहरूले अन्तरीलाई पनि भेटाएका थिए। अन्तरीले पनि पार्टी सदस्यताको पुर्जी काटीन- श्रम सङ्घटनको सदस्य बनिन। भर्खरै जन्मेकी छोरी हुर्काइरहेकी काकी, क्रियाशील भएर आन्गेदोलनमा लागको भने मलाई याद छैन। छोरी झन्डै एक वर्षकी भएकी थिइ होला, विराटनगरको गोप्य सभामा कता-बाट पुगेकी रहिछिन्, त्यहिँ पक्राउ परिन्। माओवादीको श्रीमती करार अन्तरी काकीलाई, दुई वर्षको लागि जेल चलान गरिएको थियो।

झन्डै डेढ वर्ष अन्तरे-अन्तरी सँगै, एउटै जेलमा कैदमा बन्द थिए।दिउँसो-दिउँसो भेट गर्न पाउँथे दुबैजना। पुर्वछाने बढाउ र बढ्यामाले नातिनी जसोतसो हुर्काइरहेका थियो। बाबा त्यति बेला चन्द्रगढी गइरहनु हुने, बन्दीसँग भेट्न खुला भएको दिन परे सधैँ भेट्न जाने गर्नुहुन्थ्यो। लामो समयसम्म बोली नखुलेकी छोरीले बोल्न थाली कि नाइँ भनेर सोधी रहन्थे। दुवैले जेलभित्र नै इलम गर्थे, बनाएका सामानहरू बेचेर अलिअलि पैसा जम्मा पनि गरेको थिएँ। फुच्चे म, एक पटक बाबाको साथ लागेर जेलमा भेट्न जाँदा एक छिन पख भन्दै जेलभित्रको पसलबाट किनेर क्याडबेरी दिनुभएको, अझै सम्झन्छु।

अन्तरी जेलबाट झन्डै डेढवर्षपछी छुटिन। फर्केर माओवादीमा फेरी लागिनन्, बरु जाँड छान्न सिकिन्। सासू-बुहारी दुई जना हाटमा बेच्न थालेका थिए। पूर्वछाने बढाउ जता गए पनि नातिनी सँगै हुने, पहिले ढाडमा बोकेर, पछि हात समाउँदै। बिस्तारै बोल्न थालेकी थिई, स्कुल भर्ना गर्ने बेला भएको थियो। प्रतिभा स्कुल बनाउँदा पक्राउ परेका अन्तरकी छोरीलाई, प्रतिभा स्कुलले नै पढाइदिने भएको थियो।

वीरेन्द्रको परिवारको हत्यापछि देशको राजा ज्ञानेन्द्र भएको एक-दुई वर्ष जति भएको थियो। राजाको जन्मदिनको अवसरमा दिइने आममाफीमा काका पनि परेको थिए- झुट्टा मुद्दा पनि फिर्ता गरिएको थियो। शुक्रवार स्कुल चाँडै छुट्टी हुने, दिउँसो घर फर्कँदा अन्तरे आठ वर्ष जेल बिताएर घर फर्किएका थिए। सबैभन्दा पहिले, अन्तरेलाई कहिल्यै नदेखेकी सानी छोरीले “अबुई बाबा आउनु भएछ!” भनेर चिनेकी रहिछ; गाउँभरिका मान्छेले अन्तरे-अन्तरीको त्यो छाप्रो घेरेका थिए। सबैको आँखामा खुसीको आँसु छताछुल्ल देखिन्थ्यो, कसैको आँखा ओभानो थिएनन्।

अन्तरे काका जेलबाट छुटेर फर्कँदा, देशमा माओवादी आन्दोलन चरम चुलीमा थियो, अझ सेनापनि परिचालित भइसकेको थियो। जेलबाट फर्केका उनी, माओवादीमा बनेर फर्केका भने थिएनन्। साहुको रिन लिएर पैसा कमाउन विदेश गएका थिए बरु माओवादी बनेर जङ्गल छिर्नको सट्टा। पक्राउ र केरकारमा टाउकोमा देखिएको चोट, मलेसियामा भएको मेडिकल चेक गर्दा मात्रै देखियो। टाउकाको चोट देखेर, कम्पनीले एक महिना नपुग्दै घर फर्काइ दिएको थियो। विदेश जान लिएको रिन तिर्न सक्ने अवस्था थिएन, चिनजानकै साहुँ, ब्याज मात्रै दिए हुन्छ भने, कति वर्ष लगाएर भर्खरै मात्रै तिरी भ्याए क्यार। अन्तरे, पुरानै ज्यामी काममा फर्किए। त्यसै गरी परिवार चलाउने बानी थालेका थिए, अन्तरे काका। सक्रिय राजतन्त्रको अन्त्य भएर माओवादी जङ्गलबाट निस्केपछि, पहिलो पटक माओवादी पार्टीको सदस्यता लिएका थिए। 

अन्तरेले, भर्खरै हतियार बिसाएको, अझै सक्रिय राजनीतिमा प्रवेश गरेको पार्टीले, आफूले पाएको दुःखमा साहनुभुति राख्छ कि झिनो आस बोकेका थिए। माओवादी त, केही बर्सपछिको निर्वाचनमा त झन्, देशकै ठुलो राजनैतिक पार्टी पनि भएको थियो। अझै, अन्तरेका मामाका छोरा, जो भनेर झुक्किएर त, उनी जेल गएका थिए, त त्यति बेला, पार्टीको केन्द्रीय सदस्य नै बनिसकेको थिए। अन्तरेले, त्यसपछि बाबुराम प्रधानमन्त्री हुँदा, छाप्रोमा मम बत्ती पनि बालेका थिए। जङ्गलमा फुकेको माओवादीका सिद्धान्त, सत्तामा पुग्ने बित्तिकै बदलियो। जङ्गलको माओवाद र कम्युनिजम, क्रमशः खाओवादमा परिवर्तन हुन माथिका सबै पर्खेर कुरिरहेका रहेछन्।

अन्तरेको गुजारा त्यसै गरी नै चल्दै गयो। कहिल्यै सडक बनाउने, कहिले कसैको घर बनाउने; ज्यामी काममै फेरी फर्किएका थिए। परिवार चलाउन पुग्ने गरी खेतीपाती छँदै थियो, छोरी पनि प्रतिभा स्कुलले फ्रीमै पढाइरहेको नै थिई। माओवादी पार्टीलाई भोट हालिरहे, तरपनि सक्रिय कार्यकर्ता भने कहिल्यै भएका थिएनन्। पटक-पटक सत्तामा आइरहेको माओवादी पार्टीले न अन्तरेलाई चिन्यो, न सन्देशले नै, न त बाबुराम वा प्रचण्डले नै।अझै, द्वन्द्व पीडितको लिस्टमा अन्तरेको गन्ती, पूर्वछानेकै जस्तो आटाएन।  

अन्तरे-अन्तरीको छोरीले, देशमा नयाँ संविधान बन्दै गर्दा, कक्षा आठको जिल्ला स्तरिय परीक्षामा जिल्ला टप गरेकी थिई। प्रतिभा स्कुलमा आठ कक्षा सम्म मात्रै पठाइ हुन्थ्यो, जिल्ला टप गरेको कारण बाह्र सम्म अर्को स्कुलमा पढ्न त्यसै गरी पाई। अहिले त बायोलोजीमा स्नातक सकाएर, स्कुले केटाकेटीहरूलाई पढाउने भेसकैकी छे।

अन्तरेको छोरी हुर्काएका पुर्वछानेको घरमा कान्छा छोराका अरू नाति-नातिना थपिए। बढ्यामा दश बार्ह वर्ष अघिनै बित्नुभए। नगिचैको पुलमा चिप्लेर रातभरी डुबेको बडामाको शब, भोलीपल्टमात्रै साइफनमा भेटिइएको थियो। अर्की नातिनी त्यसैगरी डोर्याएर हिँडीरहन्थे। बढ्यामा बितेको केही वर्षपछी पुर्वछाने बढाउ पनि बिते। निमोनिया भएका उनलाई टाइफाइडको औषधी दिइएछ, आोभरडोज भएको थियो। सँधैभरी हेपिएका पुर्वछानेलाई मृत्यु पनि छल गरेरै आएको थियो।

अन्तरेले, चौरत्तरसम्म माओवादीलाई नै भोट गरिरहे। एक नम्बर प्रदेशको पहिलो संसदमा सन्देश मन्त्री पनि भएका थिए, तैपनि अन्तरेलाई चिनेनन्। एमाले-माओवादीको संयुक्त सरकारको बेला, द्वन्द्व पीडित भनेर पहिलो पटक चिनिएका थिए बरु, अन्तरे। त्यसैको आधारमा, राहतको अस्थाई जागिर पाएका पनि थिए। कोभिडले त्यो पनि लग्यो। जागिर खाँदा बाँचेको पैसाले ब्याट्री भएको रिक्सा किनेर, फेरी गाउँमै फर्किए।

माओवादी भनेको के हो भनेर थाह नपाउँदै जेल परेका उनलाई, प्रहरीको लापावाही र सरकारको र अदालतको अत्याचारकै कारण माओवादी बनाएको थियो। आठ वर्ष जेल बसेपछी छुटेर घर फर्के अन्तरे काकाले, जङ्गलबाट हतियार बिसाएर फर्किएका माओवादीसँग गरेको थिए। अन्तरेले गरेको आस, सरकारमा पुगेको माओवादी नेता हरूले नै खरानी बनाई दिए। अन्तरेले चौहत्तर सालपछि माओवादीलाई फेरी भोट हालेका छैनन्। माओवादीले जङ्गलमा फुकेको सिद्धान्त, सिंहदरबारको मृगतृष्णामा भुल्यो। 

माओवादीबाट जमानामै खाओ वादी बनिसकेको पार्टीको सकुनी राजनीति अरू ठ्याक्कै आठ वर्ष बाँचेछ। अब त, पार्टीको अस्तित्व नै सकियो। अन्तरे काका हरूलाई पार्टीले चिनेको भए, आज आजको दीन आउँदैन थियो की?

जमैका, न्युयोर्क, 

नोभेम्बर, २०२५। 

Posted in , , , ,


Leave a comment


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun





kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.