हामी,
हाम्रो भविष्यभन्दा पहिले
थकानको व्याकरण सिकेका;
आशाभन्दा अघि
पराजयको गन्ध थाहा पाएका,
भर्खर जन्मिएका- बुढा मान्छेहरू हौँ।
हामी,
छालाहरूले घोटिएका हातहरू,
भोकले चुहिएको पसिना,
मेशिनभित्र हराउँदै गएको मानव स्वर।
हामीलाई लाग्यो-
विरोध पनि एउटा उत्सव हो।
दुःखका झण्डा टाँसिएका भित्तामा
फेरि एकपटक,
इतिहासको ढुङ्गा फुटाएर
खरानी बनाएको देशको
गर्वगान गाउँदैछौं।
एउटा पुस्ता-
जो उठेको थियो- परिवर्तनको नाममा;
फुटेका भित्तामा- त्यसैदिन टाँसिए युवा नामहरू,
हराएका सपनाहरू खोज्दै
बाँच्न उठेका ती आवाजहरू।
सडकहरू उज्याला थिए-
तर, संसदको उज्यालोमै,
भविष्यहरू ढलिरहेका थिए।
रातको अँध्यारोमा-
ढलेको आकाशमुनि,
अस्ताएका सपनाहरू-
रगतले लटपटिएका, धुलोले ढाकिएका,
सडकको कोलाहलमा भाग्दा- भाग्दै,
हतारमा छुटेका जुत्ताहरूको आवरण भिरे।
जसको जुत्ता छुट्यो- उसको नाम भुलेर-
जसले देखेको थियो- त्यो देशको सपना,
त्यो सपनाको दिशा- देशले फेरि गुमाउँदै थियो।
धुवाँ र धुलोको असमञ्जस्यतामा-
भोलिपल्ट घामले माफी माग्न नपाउँदै,
हिजो- उसको छायाँ हराएको
भित्ता ढाक्न- नयाँ पोस्टरहरू आइसकेका थिए।
भर्खर निभेका सपना,
नयाँ घोषणापत्रको आवरणमा हराए।
हामीले देख्यौं- आकाशमा धुवाँ,
धुवाँमा हराएका- सपनाहरूको अनुहार।
तर, भोलिपल्ट-
रगत र ब्यानर- एउटै रंगका भए,
त्यो रंग बजारमा गयो,
बजारमा मोल तोकियो,
र उनिहरूको बिद्रोह बिक्री भयो।
प्रतिसोधको आगो
सडकमा सल्लियो
शहर आफैं भाँचियो,
ट्राफिक लाइटहरू रोएर उल्टै
हामीलाई सोध्ने थाले-
“अब म कुन दिशातिर जाऊँ?”
सडक तातिएको थियो,
तर, अब जल्न बाँकी आगो रहेको थिएन्।
हाम्रो विद्रोह-
हाम्रो रक्तरञ्जित सोच,
सपना नयाँ थिए,
तर व्याकरण पुरानै,
शब्दहरू उस्तै,
अर्थहरू पहिले नै
भागिसकेका रहेछन्।
सडक फेरि एकपटक-
खाली भएको थियो,
तर खालीपन शून्यपन थिएन।
सपना बिसाएको उज्यालो-
हावाको दिशासँग चलि नै रह्यो,
धुलोमा नारा चर्को सुनिन्छ
र, मानवता बिर्सिइने रहेछ।
कसैको मौन,
कसैको बिन्ति,
कसैको हुँकार, कसैको उल्लास;
सबै अनुहारहरू एउटै जस्ता,
फर्केर हेर्दा सबै समान।
कसैले भन्छ-
“यो पनि त प्रगति हो।”
हो- किनभने अब हामी,
हाम्रो राष्ट्रिय थकानलाई
राष्ट्रको उपलब्धि ठान्छौं।
फुटेका शिसामा-
म आफ्नै अनुहार चिन्छु,
अनुहारमा आकार भेट्छु,
आकारमा देश खोज्छु,
थकित, मौन, अक्रान्त र उदास।
हामी बाँचिरहेका छौं,
जुन देश अब सपना होइन,
बरु सम्झना बनेको छ।
हामी,
भूलिनका लागि जन्मिएका
स्मृतिका सिकारुहरू।
बिर्सन्छौं, सुन्दैनौं।
शहरका ढुङ्गा बोल्छन्-
“हामीले हाम्रो सपना गाड्यौं।”
हाम्रो स्मृतिमा,
अझै धुवाँ बाँचिरहेको छ,
अझै आकाश भाँची रहेको छ।
देश थकानको दिशामा,
आफ्नै गतिमा घस्रिरहेको छ।
हामी-
ध्वंसलाई विकास भनिरहेका छौं,
र हरेक भत्किएको घरभित्र
आफ्नो डर सुरक्षित राखिरहेका छौं।
माटोले अघाएको देश यो-
यहाँ हरेक नयाँ पुस्ता,
पुरानो थकान बोकेर हिँड्छ।
हामी,
सामूहिक रूपमा हराइरहेका छौं।
लाग्छ,
सायद हराउनु नै हाम्रो नियति हो।
- जमैका, न्युयोर्क
११/११/२०२५
Occasional reader, occasional writer and photographer, mostly a cancer researcher.
Leave a comment