बहुला राजा रणबहादुरको दरबार: कान्तिवती, शीतला माजुको त्रासदी र भण्डारखाल- नेपाली इतिहासमा रक्तरञ्जित चार दशक


त्रिपुरा सुन्दरी

नेपाली राजदरबारभित्रको कलह पृथ्वीनारायण शाहको मृत्यु भएसँगै सुरुवात भएको थियो। पृथ्वीलाई बहादुर शाह बढी प्रिय, तर उनी पछि जेठा छोरा प्रतापसिंह राजा हुनेवाला थिए। पृथ्वीनारायणकी श्रीमती नरेन्द्र राज्यलक्ष्मी देवीले दुवै जना छोरालाई बाबुले बनाएको देश मिलीजुली बचाउनु है भन्दै पति सँगै (सन् १७७५ मा) सती गएकी थिइन्। पृथ्वीनारायण दम्पतीको शव जल्दै गर्दा नै बहादुर शाह नजरबन्दमा परिसकेका थिए। बाबु-आमाको तेह्र दिने काजक्रिया सकिने बित्तिकै बहादुर शाहलाई बेतिया लखेटिएको थियो। प्रताप चाँडै बिते, बहादुर र भाउजूको शक्ति सङ्घर्षको कहानी गज्जबको छ, कुनै दिन मिले लेखौँला।

आज प्रताप सिंहका छोरा, रणबहादुर शाहको कुरा गर्ने। सन् १७७५ मा पृथ्वीनारायण बित्दै गर्दा जन्मिएका नाति रणबहादुर  जम्माजम्मी ३१ वर्ष बाँचेका थिए। उनको राजकाज वा उनी जिवित रहँदा दरबारमा भएको भाँडभैलो सायद अरू कुनै बेलको नेपालमा भएको थियो होला।

रणबहादुर राजा भए पनि राज्यलक्ष्मीको मृत्युपछि बहादुर शाहको नायवी सन् १७९४ सम्म चलिरहेको थियो। बहादुर शाहले नै सन् १७९० को सुरु तिर- नौजवान नभइसकेका रणबहादुरलाई देश बुझ्न जनकपुर र बाँकी तराइ भ्रमणमा पठाइएको थिए, त्यही बेला उनले कान्तिवतीलाई देखेका रहेछन्। कान्तिवतीलाई पहिलो पटक देख्ने बित्तिकै मोहमा परेका उनले तुरुन्त विवाहको प्रस्ताव राखेका थिए।

“बहुला राजा” रणबहादुर र कान्तिवतीको भेट
महोत्तरीमा जन्मिएकी कान्तिवती देवी झा, सुन्दरता र स्वरले गर्दा तत्कालीन मिथिला भरी प्रसिद्ध थिइन। ब्रामहन परिवारमा जन्मिएकी उनको विवाह, त्यो बेलाको परम्परा अनुसार सानै उमेरमा जगन्नाथ झा सँग भएको थियो। विवाहको केही वर्षपछि नै जगन्नाथको मृत्यु भयो र बिधुवा कान्तिवती माइतमै बसेकी थिइन्। त्यो बेलाको जमानामा राजाको त्यो प्रस्तावले दरबारका पण्डित र भारदारहरू यस प्रस्तावले स्तब्ध भएका थिए। त्यस समयको समाज कडा धार्मिक परम्परामा बाँधिएका थियो- विधुवाले पुनः विवाह गर्न निषेध नै गरिएको हुन्थ्यो। रणबहादुर तराइबाट काठमाडौँ फर्कँदा, कान्तिवतीलाई उनको इच्छा विपरीत साथै-साथै लिएर  आएका थिए।

सन् १७९४ मा रणबहादुर तराइ घुमेर काठमाडौँ फर्कँदा, राजा रणबहादुर बनेर फर्क। नेपाली इतिहासमा “बहुला राजा” भनेर चिनिने रणबहादुर त्यो बेला नौजवान, उग्र र स्वच्छन्दताको कथा गनिसाध्य छैन। झन्डै दुई तिहाई नेपाल एकीकरण गरेका काका बहादुर शाहलाई पशुपतिको धर्मशालामा बस्न बाध्य बनाएर लखेटिएको थियो। रणबहादुर-कान्तिवती को विवाह गर्न दिनुहुन्न भनेर विरोध गरिरहेका समूहमा उनी पनि थिए। उनको हत्या त्यही धर्मशालामा, सन् १७९७ जुन २७ गते शरीरभरि तातो तेल खन्याएर भएको भनेर उनकै सन्ततिले भन्ने गर्छन्। काकाको हत्या गर्ने आदेश पनि रणबहादुरले दिएका थिए। भीमसेन थापासँगको उनको घनिष्ठ मित्रता त्यहीँबाट सुरु भएको थियो।

कान्तिवतीलाई भेट्न अघि नै रणबहादुरका दुई जना रानीहरू थिए- राजराजेश्वरी र सुवर्ण प्रभा। रणबहादुर कान्तिवतिको मोहमा लठ्ठ थिए, धर्म र राज्यको मोहभन्दा उनको चाहना नै ठुलो बनिसकेको थियो। कान्तिवतीले भनिरहन्थिन, “तपाईँ राजा हुनुहुन्छ, धर्म पनि बुझ्नुहोस्। म बिधुवा,  तपाईँ राजा-  हाम्रो सम्बन्धले धर्म, समाज र राज्य सबैको नाश गर्छ।”  तर, रणबहादुरको मोह एकतमासको थियो। रावणले सितालाई हरण गरेझैँ,  उनले पनि कान्तिवतीलाई राजदरबारमा बन्धकसरह जबरजस्ती ल्याएका थिए। केही विवरण अनुसार, उनको परिवारले राजाको दबाबमा उनलाई काठमाडौँ पठाएको उल्लेख पाइन्छ। जसरी भए पनि कान्तिवती दरबार भित्रिइन्, तर उनले विवाह गर्न अस्वीकार गरिरहेकी थिइन्।

कान्तिवती को गिर्वाणयुद्धलाई राजा बनाउने सर्तपछिको भाँडभैलो
रणबहादुरको आशक्ति समयसँगै उन्मादमा परिणत भएको थियो। उनको दिनचर्या र राजदरबारका सबै काम छाडेर दरबारमा कैद कान्तिवती कै वरिपरि घुम्न थालेको थियो। उनका पुराना रानीहरू-  राज राजेश्वरी र सुवर्ण प्रभा- किनारामा परे। पण्डितहरूले चेतावनी दिए,  भारदारहरूले विरोध गरे। तर, राजाले न त धर्म सुने, न राजनीति, न कान्तिवतीलाई नै। अझै, राजकाज सबै त्यागेर सन्यासी बन्छु भनेर भनिरहन्थे। कान्तिवतिले, अन्ततः विधुवाले विवाह गर्ने नदिने समाजमा, राजाको मृत्यु पछि आफ्नो र आफ्नो सन्तानको भविष्य के हुन्छ भन्ने डरले सर्त राखेर विवाह स्विकारेकी थिइन्; “हाम्रो छोरालाई राजा बनाउँछौँ भने मात्रै म राजी हुन्छु।”

कान्तिवतीको सर्त रणबहादुर शाहले एक पटकमा मानेका थिए। उनीहरूको विवाह सन् १७९५ मा भएको धेरै जनाले मान्ने गर्छन्। रणबहादुरको तेस्रो श्रीमती बनेर दरबारमा भित्रिएकी कान्तिवतीलाई “राजेश्वरी रानी” को दर्जा दिइएको थियो। बिहे गरेको झन्डै दुई वर्षपछि जन्मिएका थिए भावी महाराज गिर्वाणयुद्ध वीर विक्रम शाहदेव, सन् १७९७ अक्टोबर १९ गते। रणबहादुर शाहले कान्तिवतीबाट जन्मिएका छोरा गिर्वाणयुद्धलाई तत्कालै युवराज घोषित गरी हाले। राजदरबारमा राजाको जेठो छोरा राजा हुनुपर्छ भन्ने मान्यता बहादुर शाह कै बेलाबाट व्याप्त थियो।

रणबहादुर शाहकी दोस्रो रानी, सुवर्णप्रभाबाट जन्मेका उनका जेठा छोरा रणद्योत्त शाह पहिले बाट नै युवराज घोषित थिए। रणबहादुरले कान्तिवतीलाई दिएको बचन पुरा गर्न, र राजा को बन्ने भनेर भविष्यमा हुनसक्ने लडाइँबाट नव-युवराजलाई बचाउन, रणबहादुरले आफ्ना जेठा छोरा रणद्योत्तलाई पदच्युत गरेर निर्वासन पठाएका थिए। नुवाकोटमा लामो समय निर्वासन बिताएका उनका सन्तानहरू अझै पनि भेटिन्छन्।
कान्तिवतिको सौन्दर्य र सौम्यताले रणबहादुरलाई पूर्ण रूपमा मोहित बनाए पनि, उनी राजनीतिक रूपमा अब एक्लिँदै गएका थिए। रणद्योत्तलाई पदच्युत गरेर गिर्वाणयुद्धलाई युवराज बनाउँदा दरबारको शक्ति सन्तुलन नै बिग्रिएको थियो। उनको निर्णयले दरबारका परम्परागत पण्डित वर्ग, भारदार र चौतरियाहरू सबै असन्तुष्ट बनेका थिए। यही बेला रणबहादुरको अङ्गरक्षक र विश्वासपात्र बनेर भीमसेन थापाको उदय भएको थियो।

काठमाडौँमा बिफरको महामारी, स्वामी निर्गुनान्द र भीमसेनको उदय
सन् १७९९को गर्मी लाग्दै गर्दा, काठमाडौँ उपत्यका- दरबारको राजनीतिक अस्थिरताभन्दा डरलाग्दो- बिफरको महामारीले गाँजियो। यही महामारीले राजा रणबहादुर शाहकी प्रिय पत्नी, राजेश्वरी रानी, कान्तिवती देवी झालाई भेटाएको थियो। कान्तिवतीको प्रेममा लठ्ठ भएका रणबहादुर उनको बिरामीले पागलपनको नजिक पुगे। स्वामी महाराज बनेर राजकाज नै छाडेर स्वामी निरगुनान्द बनका उनी देव पत्तनमा पत्नीको हेरचाहमा लागेका थिए। कान्तिवतीको हेरचार गर्न देव पत्तनमा निरगुनान्द बनेका रणबहादुर सहित दोस्रो श्रीमती सुवर्रण प्रभा पनि सँगै थिइन्। अङ्गरक्षक भीमसेन पनि साथमै थिए।

रणबहादुरले देव पत्तन जाँदै गर्दा, कान्तिवतीलाई दिएको बचन पुरा गर्न सन् १७९९ को मार्च २३मा भर्खरै अठार महिना पुगेका गिर्वाणयुद्धलाई राजा घोषणा गरेका थिए। राजकाज छाडेर सन्न्यासी बनेका रणबहादुरले बच्चा राजा गिर्वाणयुद्धको हेरचाहको जिम्मा, जेठी श्रीमती राज राजेश्वरी र मुख्तियार किर्रतिमान सिंह बस्नेत र काजी दामोदर पाण्डेलाई छाडेका थिए। गिर्वाणयुद्ध दुई वर्षको पुग्दै गर्दा, अक्टोबर ३१, १७९९ मा कान्तिवतीको निधन भयो। प्रिय राजेश्वरी पत्नी गुमाउनुको पीडामा उनी त्यसपछि बहुला राजामा परिणत भए।

बहुला राजाको पागलपनको पराकाष्ठ: शीतला माजुको कथा
आफ्नी पत्नीलाई बिफरबाट बचाउन नसकेको झोँकमा विक्षिप्त रणबहादुरले बिफरकी देवी मानिने हरिती माता वा शीतला माता माथि रिस पोखे। उनले स्वयम्भू वरपर रहेका हरिती माताका मूर्तिहरू र मन्दिरहरू भत्काउन लगाएको प्रमाण भेटिन्छ, भत्काउनुअघि उनले मलमूत्रले पूजा गर्ने जस्तो निन्दनीय कार्यसमेत गराएका थिए भनेर धेरै जनाले भनेका/लेखेका छन्। उनको रिस यतिमै थामिएको थिएन; रिसले चुर भएका रणबहादुरले पशुपतिनाथ मन्दिर भत्काउन तोप लिएर जान खोजेका पनि थिए भनेर कतिपय इतिहासविद्ले भन्ने गरेका छन्।

राजाको यो उन्मादपूर्ण रोगको असर र त्यसपछिको क्रूर सजाय त्यो बेलाको काठमाडौँ उपत्यकाका नेवार समुदायले विशेषसरि भोग्नु पर्‍यो। रणबहादुरको आदेशमा, बिफर सङ्क्रमित बालबालिका र तिनका परिवारका सबै जनालाई बलपूर्वक, परिवार समेत उपत्यकाबाट निष्कासन गरिएको थियो। बिरामी बालबालिका र उनीहरूका परिवारलाई पूर्वी भेगमा तामाकोसी नदीपारि वा पश्चिममा मर्स्याङ्दी नदी पारिका निर्जन क्षेत्रहरूमा सेना लगाएरै धपाइएको थियो। नयाँ राजा गिर्वाणुद्धलाई बिफर लाग्नबाट जोगाउन गरिएको अमानवीय निष्कासनले हजारौँ परिवारलाई भोक, कष्ट र थप रोगले मर्न बाध्य बनायो।

काठमाडौँबाट निष्कासित भएका नेवार समुदायका केहीले दोलखा वरपर शरण लिए र रानी कान्तिवती र बिफरको दुःखको नाममा कान्ति भैरव मन्दिर स्थापना गरेका थिए। यही मन्दिरमा, रणबहादुरले दिएको त्रासदीको पीडालाई नेवार समुदायले "शीतला माजु" नामक लोकगीतको रूपमा आजसम्म जीवित राखेका छन्।

शीतला माजु, केवल महामारीको कथा होइन, त्यो समयमा भएको जातीय अन्याय र राजाको पागलपनको ऐतिहासिक दस्ताबेज पनि हो। शीतला माजु राजाको क्रूरता र निर्वासित परिवारको दुःखान्त यात्राको चिरस्थायी इतिहासलाई सम्झाउँछ। घरबारविहीन र भोकै हिँडेका आमाबाबुहरू अन्त्यमा शीतला मातासँग बिन्ती गर्छन्- राजाको क्रूरताका कारण अब बाँच्नुभन्दा छिट्टै मृत्यु दिएर यो दुःखको जीवन समाप्त गरिदिनुहोस्।

बालबालिकाहरूलाई बलपूर्वक उपत्यका छाडेर तामाकोसी किनारतर्फ जान आदेश दिएको वर्णन गर्ने "शीतला माजु" ले आरम्भमै भन्छ: "स्वयम्भू न्ह्यःने हरिती माजु छें म्वाःत! (स्वयम्भू अगाडिकी हरिती माता टिक्न सकिनन्!) महाराजं हुकुम बिइबिल— (महाराजले आदेश दिनुभयो—) 'थ्व देय् त्वःताः उखें हिले मायेक, (यो देश छाडेर उता जानै पर्‍यो,) थ्व देय् न्ह्यने ज्वरो वम्ह म्हायेक म्वाःत।' (यो देशमा रोगी बच्चा बस्न पाउँदैनन्।)"

शीतला माजुमा एउटी आमाको स्वरमा कथा खोलिएको छ: "छम्ह म्हायेचा क्वय्‌ दु, छम्ह क्वाखय् दु, (एउटा बच्चा ढाडमा छ, एउटा काखमा छ,) छम्ह म्हायेचा ल्हातय् ज्वना लं चाःत। (एउटा बच्चा हात समातेर बाटो हिँड्यो।) लं चाःत तातो सीमा, भोकं रुइबिल! (बाटो हिँड्दा तातो घाम, भोकले रुन थाल्यो!) छिबलय् मिखा तिइकं (दूध चुस्ने बेला आँखा बन्द गरेर) न्ह्यायेकं म्वाःत।" (मैले दूध दिन सकिनँ- यो पाप भोगिरहेँ।)

शीतला माजु करुणा र विद्रोही दुवै बन्दै तलेजु र चण्डेश्वरीलाई सम्बोधन गर्छ: "जिमिगु मन्दिर नं ताःपा जुइबिल, (हाम्रो मन्दिर पनि टाढा भयो,) छिमि देवी नं मौन जुइबिल। (तपाईँ देवीहरू पनि मौन हुनुभयो।) शीतला माजु! जिमिगु सन्तान जगे यात।" (शीतला माता! हाम्रा सन्तानको रक्षा गर्नुहोस्।)
शीतला माजुको अन्त्यतिर आक्रोश मिसिएको याचना छ: "राजाया हुकुमं जिपिं रोगी जुल, (राजाको आदेशले हामी रोगी भयौँ,) तर, रोग त राजाया छेँनं हे न्ह्याःगु तः। (तर, रोग त राजाको घरबाटै फैलिएको हो।) जिमिगु पाप छु दु, जुगै शहरं नउकाल?" (हाम्रो पाप के थियो, जो आफ्नै सहरले निकाल्यो?) शीतला माजु! दुःख म्वालु, दयेकं ब्यु।(शीतला माता! यस्तो दुःख नहोओस्, छिट्टै मृत्यु देऊ।)

बहुला राजाको बानारस निर्वासन र इस्ट इन्डिया कम्पनीको नेपाली दरबारमा आगमन
रणबहादुरले राजकाज, सन् १७९९ को मार्चमा गिर्वाणयुद्धलाई राजा घोषित गरेपछि नै लगभग सकिइसकेको थियो। स्वामी निर्नुनान्द बनेसँगै राजदरबारमा बढेको भाँडभैलो, कान्तिवतीको मृत्युपछि मुख्तियार नायवी लिएर राजकाजमा फर्किने रणबहादुरको सनकपछि झन् धेरै बढेको थियो। राजदरबारका भारदारहरू, भर्खरै राजा भएका गिर्वाणयुद्धको नाममा शपथ खाएका थिए, र रणबहादुरको पागलपनसँग वाक्क-दिक्क भएका थिए। त्यति बेलाका मुख्तियार कीर्तिमान सिंह बस्नेत र दामोदर पाण्डे खेमाका भरदार र चौतारीयाहरू मुख्यतया लागेर ‘बहुला राजा’ रणबहादुरलाई बनारस निर्वासनमा पठाइएको हो।

सन् १८०० को सुरुमा बनारस निर्वासित भएका रणबहादुर सँग जेठी रानी राज राजेस्वरी, सौतेला भाइ शेरबहादुर, रङ्गनाथ पौड्याल र भीमसेन थापा पनि साथै बनारस गएका थिए। रणबहादुरकी अर्की रानी सुवर्ण प्रभा काठमाडौँमै गिर्वाणयुद्धको हेरचाहमा बसिन। निर्वासित रणबहादुरको लागि सबैभन्दा महत्त्वपूर्ण राजदरबारका भारदरहरूमाथि प्रतिसोध साँध्नु थियो। आफ्नै बा’ले बनाएको देशबाट लखेटेका भारदारहरूसँगको बदला लिन आतुर रणबहादुरले, ब्रिटिससँग सहयोगको याचना गरेका थिए। ब्रिटिसहरूले रणबहादुरलाई राजा बन्न सहयोग गरे, काठमाडौँमा ब्रिटिसहरूलाई कार्यालय राख्न दिने र राजस्वको केही अंस पनि दिने सर्त राखेका थिए।

भारतमा आइसकेको इस्ट इन्डिया कम्पनीले बहादुर शाहकै नयावी हुँदा(सन् १७९२) नेपालको दरबारसँग अन-आधिकारिक सन्धि गरेको थियो, जसको बारेमा रणबहादुरलाई अत्तोपत्तो थिएन। इस्ट इन्डिया कम्पनीले निर्वासित राजालाई सहयोग गर्न चाहेन; बरु बहुला राजा भन्दा उनीहरू त्यति बेलाको नेपालको सत्तासँग सम्बन्ध सुधार्न बढी इच्छुक देखिएका थिए। काठमाडौँ दरबारले पनि ब्रिटिससँग मिल्न चाह्यो र व्यापार सन्धि गर्ने सर्तमा बनारसका राणा बहादुर र उनका समर्थकलाई भारतमै निगरानीमा राख्ने सहमति भएको थियो। रणबहादुरलाई थाहा नदिई गरिएको यो सन्धिको पत्तो पाएपछि उनीहरू ब्रिटिस र दामोदर पाँडे  गुटका सबैप्रति अझै बढी आक्रोशित बनेका थिए। त्यसपछि त, रणबहादुरले दरबारभित्र फुट ल्याउने, दामोदर पाँडेलाई विरोध गर्ने र दरबारका भारदारहरूलाई आफूतिर तान्ने षड्यन्त्र सुरु गर्न पत्राचारै सुरु गरेका थिए।

काठमाडौँका बहुला राजा रणबहादुर, बनारसमा पनि उस्तै नै थिए, मन मौजी थिए, खर्च पनि गर्थे। रणबहादुरको उद्दन्दताबाट दिक्क भएर, बेलायतीहरूको सहायतामा जेठी रानी राज राजेस्वरी सन् १८०१ जुलाई २६ मा नेपाल फर्किएकी थिइन्। काठमाडौँ फर्किएकी उनले कमजोर सुसानको फाइदा लिँदै, सुवर्ण प्रभाको हातमा रहेको सत्ता उम्काउने प्रयास थालिहालिन्। राज राजेस्वरीका समर्थकहरूले ऊनी काठमाडौँ आएको केही महिनामै (२८ सेप्टेम्बर), मुलकाजी कीर्तिमान सिंह बस्नेतको हत्या गरेका थिए। सुवर्ण प्रभाका प्रिय मूलकाजीको हत्याले दरबारमा ठुलो हलचल पैदा भएको थियो। सुवर्ण प्रभाकै निर्देशनमा, कयौँ भारदारहरू कैद भएका थिए र दर्जनौँलाई शङ्काकै भरमा हत्या गरिएको थियो। भीमसेनले रणबहादुरको हत्यापछि सुरु गरेको भण्डारखाल भन्दा पहिले नै अरू पनि नरसंहार हुने गर्थे, त्यसैको प्रमाण हो यो किर्तिमान सिंह हत्यापछिको हत्याकाण्ड।

मूलकाजी कीर्तिमान सिंह बस्नेतको हत्यापछि सुरु भएको दरबारभित्रको षड्यन्त्र शृङ्खला
कीर्तिमान सिंह बस्नेतको हत्या भएपछि रानी सुवर्ण प्रभाले उनैका भाइ बखत बरसिंह बस्नेतलाई नयाँ मूलकाजी बनाइएकी थिइन। उनको कार्यकाल सुने बित्तिकै, सन् १८०१ अक्टोबर २८ मा नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनीबिच पहिलो व्यापार तथा मित्रता सन्धि भएको थियो। अर्को वर्ष, क्याप्टेन विलियम नक्स पहिलो ब्रिटिस रेसिडेन्टका रूपमा काठमाडौँ नै आइपुगेका थिए। नक्साको उद्देश्य नेपालको दरबारमा ब्रिटिसहरूको  प्रभाव बढाउनु थियो भने दरबारको उद्देश्य रणबहादुर शाहलाई ब्रिटिसहरूको निगरानीमा बनारसमै राख्न खोज्नु थियो।

इस्ट इन्डिया कम्पनीकै सहयोगमा काठमाडौँ आइपुगेकी राज राजेस्वरीले क्याप्टेन नक्स आएको झन्डै आठ महिनाको शक्ति संघर्षपछि, सन् १८०२ डिसेम्बर १७ मा औपचारिक रूपमा नायवी सम्हालेकी थिइन्। उता बनारसमा बहुला राजाको ताल उस्तै थियो, तिर्न-पर्ने रिन सबैतिर आकासिएको थियो। राज राजेस्वरीले नायवी सम्हालेपछि नक्सकै प्रयासमा रणबहादुरलाई बर्सेनि रु ८२,००० पेन्सन दिने व्यवस्था भयो। उनले यो रकम बनारसमा निर्वासनका ठूल्ठूला ऋणहरू तिर्न प्रयोग गरेका थिए। दरबारका धेरै भारदारहरूले, रणबहादुरलाई उचित समयमा नेपाल फर्काउने बाटो खुला राख्न यस्तो व्यवस्था गरेको थिए भनेर कतिपयले तर्क पनि भेटिन्छ।

रणबहादुरकी जेठी श्रीमती राज राजेश्वरी काठमाडौँ आइपुगेपछि दरबारभित्र दुई शक्तिकेन्द्र बने - एउटा उनको वरिपरि, अर्को सुवर्ण प्रभा रानीको वरिपरिका गुटहरू। ब्रिटिस रेसिडेन्ट नक्सले परिस्थिति बिग्रँदै गएको देखे र सुवर्ण प्रभाको पक्षमा उभिएर नेपाली दरबारको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न खोजे। क्याप्टेन नक्साको यो तिकडम राज राजेस्वरीले पचाउने कुरै भएन, उनले तुरुन्तै बखतसिंहको सरकारलाई पदच्युत गरेकी थिइन्, सुवरणप्रभा र उनका समर्थकहरू पक्राउ परेका थिए। नक्स भने ‘काठमाडौँमा हैजा फैलिएको’ भन्दै, भारत वा बेलायत नफर्की मकवानपुर तिर केही समय बसेका रहेछन्।

दामोदर पाण्डे को उदय र क्याप्टेन नक्सको निष्कासन
यही कोकोहोलोमा कालु पान्डेका छोरा दामोदर पाण्डे नेपालका मूलकाजी बनेका थिए र दरबारले नक्सलाई अस्वीकार्य घोषित गर्‍यो। दरबारमा ब्रिटिस विरोधी भावना खुलेर देखियो, जसको परिणामस्वरूप इस्ट इन्डिया कम्पनीका तत्कालीन भारतका गभर्नर जनरल रिचर्ड वेलस्लीले, विलियम नक्सलाई भारत फर्काउने आदेश दिए र नेपालसँगको कूटनीतिक सम्बन्ध एकतर्फी रूपमा तोडे। यससँगै, सन् १७९२ बाट सुरु भएको अंग्रेज- नेपाल सम्बन्ध विधिवत् रूपमा, सन् १८०१मा गरिएको सन्धि सन् १८०४ जनवरी २४ मा औपचारिक रूपमा खारेज भएको थियो।

भारतको इस्ट-इन्डिया कम्पनी र नेपाली दरबार बिचको खटपटको फाइदा भने उनै रणबहादुरलाई भएको थियो। नेपाली दरबारसँगको सम्बन्ध चिसिएपछि भारतका गभर्नर जनरल रिचर्ड वेलस्लीले उनलाई विना सर्त फर्केर नेपाल फर्किने अनुमति दिएका थिए। सन् १८०४ मा काठमाडौँमा फर्किरहेका रणबहादुर शाहको पुनरागमनको खबर दरबारमा पनि पुगेको थियो। मूलकाजी दामोदर पाण्डेले रणबहादुरको प्रगतिलाई रोक्न केही सैनिक टुकडी पठाएका थिए। तर, रणबहादुरसँग भेट हुने बित्तिकै त्यो फौज हतियार बिसाएर उनको पक्षमा लागेको थियो।

बहुला राजाको प्रतिसोध र रक्तपात
दरबारले पठाएको फौज रणबहादुरको साथमा लागेको दामोदर पाँडे र अरू सेना- भारदारहरूलाई भेउ नै थिएन। दामोदर गुटका नातेदारहरूले रणबहादुरलाई राजकीय सम्मानका साथ स्वागत गरी एकान्त वास पठाउने तयारी गरेका थिए। दामोदर पाण्डे थानकोटमै पक्राउ परेका थिए। रणबहादुर काठमाडौँ फर्किए र पुनः सत्तामा बसेपछि, उनले निर्वासनमा पठाउने, रोक्ने, वा ब्रिटिससँग सहयोग गर्ने सबैमाथि बदला लिन थाले। जेठी रानी राज राजेश्वरीलाई दामोदर पाँडे र अङ्ग्रेजहरूसँग मिलेको आरोपमा हेलम्बु निर्वासन पठाइयो, उनले बाँकी जीवन बौद्ध भिक्षुणी बनेर बिताएकी थिइन। अर्की सुवर्ण प्रभालाई भनेर आममाफी दिएका रणबहादुरको सन् १८०६ मा मृत्यु हुँदा, दुवै रानीहरू सती जान बाध्य पारिएको थियो।

स्वामी निर्गुनान्द बनेर बनारस गएका रणबहादुर सन् १८०४ मार्च १ मा काठमाडौँ आइपुगेका थिए, दरबार पुगेर आफैँलाई मुख्तियार घोषणा गरे। त्यसको केही दिनपछि नै सन् १८०४ मार्च १३ मा, दामोदर पाँडे र उनका दुई निर्दोष छोराहरूलाई बिना-कुनै सुनुवाइ हत्या गरियो। दामोदरका समर्थक भारदारहरूलाई पनि कडा यातना दिइएको थियो, धेरैलाई फाँसी लगाइयो। रणबहादुरले आफ्नो निर्वासनको बेला मद्दत नगरेका वा मौन बसेका व्यक्तिहरूमाथि कठोर प्रतिशोध लिए। यही बेला हो उनले पाल्पाका राजा पृथ्वी पाल सेनलाई छलपूर्वक काठमाडौँ बोलाएर कारागारमा हालियो र पाल्पा राज्यलाई जबरजस्ती नेपालमा मिलाइएको थियो। रणबहादुर शाहले पाल्पा कब्जा गरेपछि साना काजी अमरसिंह थापालाई त्यहाँको गभर्नर बनाएर पठाएका थिए।

यिनै साना काजी अमरसिंह थापाका छोरा हुन् भीमसेन थापा। रणबहादुर शाहसँग उनको भेट सानै बेलामै (सन् १७८५) भएको थियो भनिन्छ। सामान्य परिवारका साना काजीको नेपाल एकीकरणका सेनानी  अभिमान सिंहको परिवार सँग राम्रो सम्बन्ध थियो। सन् १७९४ मा बहादुर शाहलाई निष्कासित गरेपछि बनेका मूलकाजी किर्तिमानसिंह बस्नेतले, त्यही सम्बन्धको आधारमा भीमसेनलाई सन् १७९८ मा रणबहादुरको अङ्गरक्षक पनि बनाइदिएका थिए।

रणबहादुर र भीमसेनको मित्रता
सुबेदारको रूपमा दरबारमा प्रवेश गरेका भीमसेनले राजाको अति अस्थिर र अराजक शासनकालमा उनको व्यक्तिगत सचिव तथा भरपर्दो सहयोगी बनेर पूर्ण विश्वास जितेका थिए। एक वर्षभित्रै, भीमसेन थापा राजाका हरेक विवादास्पद निर्णय जस्तै, कान्तिवती देवीको प्रेममा परेर राजकाजबाट ध्यान हटाउनु,  नाबालक छोरालाई युवराज घोषणा गर्ने, आदी कार्यान्वयन गर्ने थापा गुटका प्रमुख रणनीतिकार नै बनिसकेका थिए। रणबहादुर, कान्तिवतीबिरामी भएको बेला देव पत्तन बस्दा उनका अङ्गरक्षक बनेर गएका थिए, भीमसेन।

सन् १८०० अक्टोबर ३१ मा कान्तिवती बितेपछि विक्षिप्त भएर “बहुला राजा” बनेका रणबहादुरलाई दामोदर पाण्डे समर्थक दरबारियाहरूले रणबहादुरलाई बनारस निर्वासनमा पठाउँदा, भीमसेन पनि साथमै थिए। भीमसेनसँगै रणबहादुरको साथ बनारस जानेमा शेरबहादुर शाह र रङ्गनाथ पौडेल पनि थिए। निर्वासनको यो अवधिमा भीमसेनले आफ्नो वफादारी र रणनीतिक क्षमता प्रदर्शन गरेका थिए। उनले राजाको धन व्यवस्थापन गर्ने, नेपाली भारदारहरूको समर्थन जुटाउने र ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग कूटनीतिक सम्झौता गर्ने कार्यको नेतृत्व गरेका थिए। भीमसेनको सफल कूटनीतिक चालकै कारण सन् १८०४ मा रणबहादुर शाह नेपाल फर्कन सफल भए।

सुबेदारको रूपमा अस्थिर अवस्था दरबारमा प्रवेश गरेका उनी रणबहादुरको सबैभन्दा  भरपर्दो सहयोगी बनेर पूर्ण विश्वास जितिसकेका थिए। सन् १८०४ मा रणबहादुरको विवाह नै उनले आफ्नी भतिजी- ललिता त्रिपुरा सुन्दरीसँग विवाह गराइदिएका थिए। ललित त्रिपुरा, जङबहादुरका मामा माथवर सिंह थापा र गणेशकुमारीको आफ्नै दिदी हुन्। रणबहादुर २१ वर्षका थिए भने ललित त्रिपुरा भर्खरै १० वर्षकी थिइन्। रणबहादुरले ललित त्रिपुरामा कान्तिवती देखेर विवाह गर्ने इच्छा गरेका थिए भनिन्छ।

सन् १८०६ को भण्डारखाल पर्व: रणबहादुरको हत्या र भीमसेनको उत्कर्ष
रणबहादुरको मुख्तियारी भने दुई वर्ष मात्रै चल्यो। नेपाली इतिहासकै सबैभन्दा उग्र, बहुला राजा रणबहादुरको यो दुई वर्षे मुख्तियारी पनि उनको अघिल्ला वर्षहरू जस्तै बहुलठ्ठीको हुन्थ्यो। एक रात चौतारीया समसेर शाहलाई मृत्युदण्ड दिने विषमा अनौपचारिक छलफल भइरहेको थियो, रणबहादुर आफ्ना सौतेला भाइ शेरबहादुर विरुद्ध खनिएका थिए। रणबहादुरको लगातार अपमान, धम्की, खोक्रो व्यवहारले शेरबहादुर निकै समयदेखि दबिइरहेका थिए। बनारस निर्वासनको समयमा शेरबहादुर पनि साथमा थिए, तर त्यति बेला नभएका घटना/दोषहरू पनि थोपरेर राजाले उनलाई अपमान गर्दै आएका थिए।

दाइ रणबहादुरको त्यस दिनको अपमान शेरबहादुरलाई सह्य भएन। उनले अचानक, आफ्नो पटुकीबाट खुकुरी निकालेर रणबहादुरले दुई पटक पेटमा र एक पटक घाँटीमा प्रहार गरे। अचानक भएको हमालापछि रणबहादुर त्यहीँ बितेका थिए, उनले चिच्याउन पनि पाएका थिएनन् भनेर प्रत्यक्षदर्शी पण्डित रङ्गनाथ पौडेलले पछि लेखेको छन्।

शेरबहादुरले एकै निमेषमा रणबहादुरको हत्या गरिसकेका थिए। रणबहादुरको आकस्मिक हत्यापछि हुने अस्थिरताको डरले, दरबार थरथर काँपेको अवस्था थियो। तर त्यसभन्दा अझ तेज प्रतिक्रियामा भीमसेन थापा उत्रिएका थिए। त्यो दिनको बैठकमा भीमसेन थापा केही कारणले थिएनन्। रणबहादुरको हत्याको खबर सुनेपछि भीमसेन दरबार वरिपरिका सैनिकहरूलाई आफ्नो पक्षमा उभ्याउँदै सिधै घट्टे कुलोको घरबाट दरबार पुगेका थिए। रणबहादुरका शरीरबाट रगत नधोई नसक्दै उनले शेरबहादुरमाथि प्रतिशोध लिएका थिए-  त्यही रात, त्यही ठाउँमा, तत्कालै। दरबारका सबै जनालाई त्यही रात नै नजरबन्द गरिएको थियो।

भीमसेनको बदला केवल शेरबहादुरसम्म सीमित हुनेवाला थिएन। भीमसेनले रणबहादुरका हत्यामा संलग्न भएको अनुमान गरिएका, वा, निर्वासनको बेला उनलाई कमजोर बनाएको वा उनका आदेश उल्लङ्घन गरेको आरोपमा सबैलाई पक्राउ गर्ने कठोर निर्णय गरे। यही घटनाबाट सुरु भयो भण्डार खाल हत्याकाण्ड-  काठमाडौँ दरबारमा भएको सबैभन्दा ठुलो राजनीतिक सफाया। रातभर चलेको यो नरसंहारमा ९० जना भन्दा बढी दरबारिया को हत्या भएको थियो। राजदरबारमा शक्तिशाली पाँडे-बस्नेतहरूका परिवारहरू, महिलादेखि बालकसम्म संलग्न भन्दै धेरै मारिएका थिए- केही तुरुन्तै, केही घिसारेर, केही यातनापछि। अरू थुप्रैलाई जेल, जफत र निर्वासनमा पठाइएको थियो। त्रिपुरासुन्दरी बाहेक रणबहादुरका सबै बिहे गरेका रानीहरू र अरू ‘ल्याइते’ रानीहरू सबैले रणबहादुरसँगै सती जानुपरेको थियो।

ललित त्रिपुरासुन्दरी को नायवी र भीमसेनको मुख्तियारी शासन
रणबहादुरको हत्यापछि दरबारमा एक मात्रै शक्ति भएर निस्केको थिए- मुख्तियार भीमसेन थापा। गिर्वाणयुद्ध औपचारिक रूपमा राजा भए पनि, राज्यसत्ता पूर्ण रूपमा भीमसेन र त्रिपुरा सुन्दरीको हातमा थियो। थापा गुट विस्तार हुँदै गयो- दरबार, सेनादेखि किल्ला प्रशासनसम्म। भीमसेनले त्रिपुरासुन्दरीलाई राजमाता को प्रतिष्ठा दिएर बाल राजाको नाममा सबै शक्तिकेन्द्रलाई आफ्नो नियन्त्रणमा राखेका थिए। सानेबाटका दिर्घरोगी गिर्वाणयुद्ध, सन् १८१६ मा बितेका थिए। कर्माले बिर्सँदैन भनेजस्तै उनको मृत्यु बिफरकै कारण भयो। गिर्वाणयुद्धकै बेलामा हो, अङ्ग्रेज नेपाली युद्ध र सुगौली सन्धि भएका थिए। कतिपय इतिहासकारले त्यही सन्धि र सानै बाट को दिर्घरोगकै कारण उनको मृत्यु भएको हो भनेर भन्ने गरेको पनि भेटिन्छ।

गिर्वाणयुद्धको मृत्युपछि उनका छोरा राजेन्द्र राजा भएका थिए, तर शासन त्रिपुरा सुन्दरीको नाममा चल्यो- भीमसेन थापाले मुख्तियारी सञ्चालन गर्ने गरी। गिर्वाणयुद्धको मृत्युपछि र त्रिपुरा सुन्दरीको मृत्यु हुनु अघि नेपालमा वास्तविक सत्ता यिनै दुई जनाको गठबन्धनले चलाएको थियो। राज्यका सबै महत्त्वपूर्ण निर्णय- सेनाको पुनर्गठन, कर नीति, किल्ला प्रणाली, कूटनीति- सबै भीमसेनमुखी थिए। त्रिपुरासुन्दरीले भने दरबारको महिला गुट नियन्त्रण, राजपरिवारको देख भाल, परम्परागत वैधता सुनिश्चित गर्थिन्।

कान्तिवतीजस्तै त्रिपुरासुन्दरी अत्यन्त धार्मिक, कडा स्वभावकी, र राजनीति बुझ्ने महिला थिइन्। महाभारतको शान्तिपर्वलाई नेपालीमा “राजधर्म” भनेर किताब प्रकाशित गरेकी ऊनी पहिलो नेपाली महिला लेखिका पनि हुन्। अरू धेरै कविताहरूपनि लेखेकी ऊनैले धरहरा बनाउन लगाएकी हुन् भनेर धेरै जना मान्ने गर्छन्। उनले बनाएको मन्दिर र मन्दिर बाहिर उनको मूर्ति अझै पनि छ।

भीमसेनको दुःखद अन्त्य- दरबारमा शक्तिसंघर्षको निरन्तरता
भीमसेन थापाकी सबैभन्दा ठुलो अङ्गरक्षक बनेर सन् १८०६ बाट राजकाजको नायवी बोकेकी त्रिपुरासुन्दरीले सौतेलो छोरा गिर्वाणयुद्धको मृत्युपछि नाति राजेन्द्रको नायवी पनि बोकिरहेकी थिइन्। हैजाको कारण सन् १८३२ अप्रिल ६ मा त्रिपुरा सुन्दरीको मृत्यु भयो। उनको मृत्युसँगै भीमसेन थापाको राजनैतिक सुरक्षा कवच चिरिएको थियो। राजेन्द्र शाह वयस्क हुँदै गएका थिए, र अब राज्यलक्ष्मीको नायवी शासन सुरु हुन लागेको थियो। राज्यको बागडोर भीमसेनको हातमा गएको दरबारिया पाँडे–बस्नेत-कुँवरहरू बलियो हुँदै थिए, ब्रिटिसहरू त अझै भीमसेनको शक्ति मन पराइरहेका थिएनन्।

नेपालका पहिलो मूलकाजी भीमसेनको अन्त्य भने रणबहादुरको भन्दा धेरै भयानक थियो। राज्यलक्ष्मीकै आदेशमा पक्राउ परेका उनले पत्नी र छोरीको इज्जत बचाउनको लागि आफ्नै भुत्ते खुकुरीले सेरेर आत्महत्या को प्रयास गरेका थिए। भीमसेनको घाँटी- आधी मात्रै काटियो र मृत्यु पर्खन अरू नौ दिन लाग्यो। आफ्नै घरमा अर्ध मृत्य उनको शरीरलाई, नौ दिन सम्म कसैलाई छुन दिइएको थिएन। आधी काटिएको घाँटी, भोक-तिर्खा र मलमूत्र को बिचमा छटपटाउँदै, नौ दिन पछि बितेका थिए, हतार हतार राती नै शरीर जलाइएको थियो।

यसरी बहुला राजाको सनकपूर्ण प्रेम, राजनीतिक प्रतिशोध, र एक महत्त्वाकाङ्क्षी मुख्तियारको उदयले नेपाली इतिहासलाई रक्तपातपूर्ण बाटोमा डोर्‍याएको थियो। दरबारको यो भाँडभैलो अरू धेरै वर्षसम्म चलिरह्यो, जसको फलस्वरूप नेपालमा राणा शासन सुरु हुन पुग्यो।

शीतला माजु (नेवारी)
हे शीतला माजु! क्येंने छ वल?
क्येंने छ वल, छं दुःख बिल।
कान्तिवती रानी ज्वरोय् म्हात,
बाउलाःम्ह राजां थथे यात।

स्वयम्भू न्ह्यःने हरिती माजु छें म्वाःत!
महाराजं हुकुम बिइबिल— 'ज्वरो वःम्ह म्हायेचाः थन जुइ म्वाःत।'
थ्व देय् त्वःताः उखें हिले मायेक!माँ या वेदना
छम्ह म्हायेचा क्वय्‌ दु, छम्ह क्वाखय् दु,
मेम्ह ल्हातय् ज्वना लं चाःत।
लं चाःत तातो सिमा, भोकं रुइबिल!
छिबलय् मिखा तिइकं न्ह्यायेकं म्वाःत,
थ्व पाप भोग यानाच्वन।

क्वथं आक्रोश व बिन्ति
राजाया हुकुमं जिपिं रोगी जुल,
तर, रोग त राजाया छेँनं हे न्ह्याःगु खः!
जिमिगु पाप छु दु, जुगु शहरं नेकाल?
शीतला माजु! दुःख म्वालु, दयेकं ब्यु।
Posted in , , ,


Leave a comment


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun





kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.