घामको ठूलो पसारोमुनि थोरै बादल, अलिकति अँध्यारो। हामी पूरै छैनौँ, पूरै हुनुपर्ने कुरा पनि छैन। कहिलेकाहीँ घाम नजिक आउँछ, अनुहार बनाउँछ। छालाले नै स्वीकार्न नसक्ने चिसो उज्यालो भित्ताका सासभित्र झनझन गर्छ।
छायाँहरू भित्तामा मात्र छैनन् हड्डीभित्र एक किसिमको निरन्तर थकान बनेर बस्छन्। उनीहरू हामीलाई तौलिन्छन्, हामीलाई नाप्छन्, र भन्छन्- तिमी यत्तिकै छौ, यत्तिकै मात्रै।
जीवन त यस्तै हो- साधारण दिनहरूको निशब्द बगान, जहाँ समय कहिले माटो हुन खोज्छ, कहिले धुलोसरी हल्का कहिले छातीभित्र नथामिएको पीडा।
आज एक दिन, भोलि अर्को, फेरि अर्को… चक्रहरू दोहोरिन्छन् साधारण, तर कहिल्यै सामान्य होइन; साधारण, तर कहिल्यै मध्यस्थ होइन।
दिनहरू सिधा रेखाजस्तो हिँड्दैनन्, तिनीहरू तरल बन्छन्, गोलाकार बन्छन्, र सधैं सुरु भएको ठाउँमा फर्किन्छन्। किन यतिबेला यत्ति भारी? किन यतिबेला यत्ति हल्का? तर उत्तर कहिल्यै बाहिर आँउदैन। उत्तर भित्रैको खोलिन नचाहेको अलि तरल चोटमा हुन्छ।
रात कहिलेकाहीँ हल्लिन्छ, जसरी सास फेर्दा छातीभित्र एक पुरानो पुस्तक आफैँ पल्टिन्छ। त्यो पानामा हामीले आफूलाई पढ्नु पर्छ निर्दयी रूपमा शब्दहरू कहिलेकाहीँ चक्कु जस्तै काट्छन्, कहिलेकाहीँ पानीझैँ बग्छन् र केही पनि नराखि सबै कुरा लिएर जान्छन्।
बितेका डरहरू अब आकार बोक्दैनन्, तर तिनीहरूको तीतोपन रगतजस्तै मनको सतहमा फेरि फेरि उठ्छन।
अमावस्याको अँध्यारो आँखाभित्र बस्दा ताराहरू दूर–दराजको सत्यझैँ बिस्तारै नजिक आउँछन्। उनीहरूले हामीलाई चलाउँछन्- हाम्रो चाहना होइन, उनीहरूको निरन्तर चम्काइ।
संसार कहिलेकाहीँ पानीभित्र देखिने उल्टो आकाशजस्तै लाग्छ ठ्याक्कै चिनेको, तर एकछिनमा भाँचिने। हिँडिरहनुको अर्थ शायद यही हो: भाँचिने बित्तिकै फेरि आफ्नो नामले खोलिनु।
नरम, तर भयानक सानो एउटा मृत्यु, जसलाई कसैले देख्दैन, तर फोक्सोभित्र अचानक नयाँ कोठा खुल्छ। र त्यो कोठासँग डर पनि आउँछ, किनकि नयाँ हावा हाम्रो पुरानो कथा सुरक्षित राख्न सक्दैन।
जीवन समुद्र हो। तर कहिलेकाहीँ छालाहरू हाम्रो नाडी मापन गर्छन् र भन्छन्- फेरि हिँड।
र पैताला- हिँडिरहनै जन्मिएका तर बाटो सधैं धरतीमै हुँदैन। कहिलेकाहीँ बिस्तारै भत्कँदै गएको मनको खोल भित्र लम्बिएर जान्छ।
हामी हिँडिरहन्छौँ उज्यालोबाट अँध्यारोतिर, अँध्यारोबाट उज्यालोतिर, तर वास्तविकता- कहिल्यै ठोस हुँदैन। कहिलेकाहीँ बाँच्नु भनेको रातभरि आफ्नै मनको तरल रूप फेरि, फेरि, फेरि बुझ्ने प्रयास मात्र हो, बिहानीको घाम आँगनमा आइपुग्दा, अझै नखुलेको रहस्यजस्तै।
Leave a comment