Juthi Damini, created using Google Gemini.
गाउँको अन्तिम भित्तामा
एउटा घडी अड्किएको छ -
भित्र समय छैन,
डरको ताल मात्र।

त्यही तालको छेउमा
आकाशमा अड्किएको उज्यालो -
नाम उसले रोजेकी होइन,
नाम उसमाथि राखिएको:
जुठी दमिनी।

घाम पर्छ,
न्यानो हुँदैन।
मानिसहरू छायाँ हेर्छन्,
टालिएको घाउ
फेरि फुट्ला कि जस्तो।

बाटो धूलोले मात्र ढाकिएको छैन।
पुराना विधानका
अदृश्य चिहानहरु
खुट्टामुनि सास फेर्छन्।
प्रत्येक दैलोमा
एउटै प्रश्न
टाँसिएको छ-
कसको देह भित्र,
कसको देह सँधै बाहिर।

उसको हातमा सधैँ धागो छ।
तर धागोले लुगा होइन -
उसैलाई
वर्षौँदेखि छेड्दै आएको छ।
सियोको टुप्पो
उसैको छालामा।
काम लाग्ने,
तर छुन नहुने।

उसको पिठ्युँमा
पखेटाको आकृति छ।
तर दुवै-
अलग–अलग नियममा बाँधिएका।
मानौँ उडान पनि
अनुमतिको भाषा बोल्छ।

कहिलेकाहीँ
ऊ खुट्टा खोस्रेर हेर्छे-
माटोभन्दा भित्र
अर्कै रङ,
अर्कै धड्कन,
अर्कै गणित,
ऊ भेटाउँछे -
ऊ देह होइन,
कुनै ग्रन्थको
गलत अंकजस्तो।

कति साँझ-
ऊ देहमा
आगो राख्छे
ऊ जाँच्न खोज्छे-
दुनियाले अस्वीकार
गरेको यो शरीर
अझै दुख्छ कि दुख्दैन-
दुख्छ।
र दुखाइले
उसलाई सम्झाउँछ -
आवाज शब्द होइन,
भूगोलले थिचिएको
सास हो।

ऊ सोध्छे -
यदि मैले
चुलो, खेत र नदी
सबै ठाउँमा
पसिना छोडेकी छु भने
मेरो जन्ममा
पाप कसले लेख्यो?

त्यसपछि ऊ
माटो सुँघ्छे।
माटो निर्दोष छ।
अपराधी त
देउताका छायाहरूको पसल जहाँ,
पवित्रता छालाको रङ र
हातको कामले नापिन्छ।

ऊ सोध्दिन अब।
राती-
ओठभित्रको ढुंगा
खस्छ।
आँगनको चिसो ढुंगामा
उ सिउँछे-
फाटेको दौरा होइन,
आफ्नै च्यातिएको मन।

सिउन थाली।
उसले बुझ्छे -
देह कुनै मन्त्रबाट बनेको होइन,
फाटो नामले होइन
सासले बाँधिन्छ।

बिहान
आकाशले अचानक
सयौँ ढोका उघार्छ
ऊ आफ्नै छायाँ
छातीबाट निकाल्छे
छायाँ अब
देह रहेन,
छालामा आफ्नो
प्रतिविम्ब
नभेटेर प्रकाश
आफैँ तर्सिन्छ।

गाउँलेहरूले देख्छन् -
यसपालि
उसको छायाँ
जमिनमा लत्रिएको छैन।
छायाँले
मानिसहरूलाई हेरिरहेको छ।


अड्किएको घडीभित्र पस्छे -
र घडीले
पहिलोपटक
समय होइन,
स्वतन्त्रताको कम्पन बजाउँछ।

अब ऊ
भाँचिएको सियो होइन।
त्यही सियोबाट
आफैले बुनेको
चट्याङ हो।

गाउँ भन्छ -
“जुठी दमिनी
फेरि चम्किएकी।”

तर उनीहरू
जान्दैनन् -
यो चमक
कसैले दिएको होइन,
यो त
भाँचिएको सियो,
टुटेको देह
र अस्वीकारको
अँध्यारोलाई
आँफैले सिएर बुनेको
उसको आफ्नै
उज्यालो हो।

अब
उसले केही भन्दिन-
उज्यालो अब
उत्तर होइन,
अवस्था हो,
जसलाई छुँदा
कसैको हात
डराउँदैन।

- जमैका, न्युयोर्क
क्रिसमस, २०२५



Posted in , ,


Leave a comment


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun




जुठी दमिनीको छायाँपारि

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.