यो सहर- मेरो रहरले होइन मेरो थकानमा जेलिएको छ। कुनै रोजाइजस्तो होइन, कुनै पुरानो बानी जस्तो।
जसरी- मेरो शरीरले मलाई बोकिरहेको छ, म पनि यो सहरलाई त्यसरी नै बोकिरहेको छु, र, यसैभित्र बाँचिरहेको छु।
यहाँ- साँझ खस्नुअघि नै शरीर थाकेर बस्छ। रात र बिहानको धमिलो सन्धिमा, कतै- रातले अधूरै छोडेका सपनाहरू फेरि टिप्ने आशामा अर्को दिन ब्युझनका लागि मात्रै यो सहर निदाउन जान्छ।
तर, सहर निदाउँदैन। ऊ केवल आँखा आधा बन्द गरेर मेरो सपनाभित्र पसेको हुन्छ। रातभरि पैतालामुनि समय पग्लिरहन्छ, र मलाई थाहा हुँदैन- म हिँडिरहेको छु, वा ब्युँझिरहेको छु?
घडीको सुइ- मेरो नाडीभित्रै सरेको भान हुन्छ। धड्कनहरू समय रहँदैनन्, ति केवल निरन्तरको टिक-टिक। जसले जीवनलाई न त अगाडी नै बढाउँछ न त रोकिन नै दिन्छ।
यो सहर, मेरा हड्डीहरूबीचको सुन्यतामा मेरा सासका लयसँगै, बिस्तारै अघि बड्छ। यहाँ, समय बग्दैन ऊ थाक्छ, र थकानमै बाँच्छ।
कहिलेकाहीँ लाग्छ- मेरो छालाभित्रको मानचित्र यसै सहरको नक्सा हो। कतै मुटु भरी कोरिएका चिरा कतै पुराना दुखाइका निलडाम, सबै एकै सतहमा, मौन शान्ति- सहमतिमा।
बिहान यहाँ, घाम बोकेर आउँदैन, आकाशमा कुनै अमूर्त चित्रकारले हतासमा पोतेको फुस्रो रङ्गझैँ खुल्छ।
जीवन कुनै पूर्वसुचना बिना आफैँलाई एक अद्रृश्य परिधिमा, दोहर्याइ नै रहन्छ- जहाँ दिनहरुको गन्ति बदलिन्छ, तर, अर्थ सँधै, अर्को पानामा सरिरहन्छ।
म घडीको सुई हेर्छु, र, महसुस गर्छु - जीवन, न कुनै गन्तव्य यात्रा, न कुनै दौड; यो त, मृत्युको प्रतीक्षामा बिताइने पट्यारलाग्दो बानी एक समय-तालिका मात्र रहेछ।
यो शहरसँग मेरो कुनै प्रमको साइनो छैन, यहाँ म स्वतन्त्र छैन र, म कैद पनि छैन। म दुई अवस्थाको बीचमा बाँचिरहेको छु- जहाँ आशा लाज मान्छ र निराशा आफ्नो नाम खुलस्त बोल्छ।
यो शहर मेरो हैन। म पनि यस शहरको होइन। यहाँ म अडिएको छु त्यसैले मात्र यो मेरो भएको छ।
शहरले मलाई बोकेको छ, र मैले उसलाई - हामी दुवैले सकेसम्म।
सायद, त्यसैले त, यो मेरो भएको भ्रम मभित्र बाँचिरहेको हुन्छ।
Leave a comment