View from CUMC, 
Washington Heights, NYC
आज बिहान, मैले झ्याल खोलेँ र शहरलाई हेरेँ -
उही हतार, उही कोलाहल,
जसरी यो हिजो थियो,
र जसरी यो सँधै हुनेछ,
आफ्नै आवाजले बोझिएको।

मानिसहरू तल बगिरहेका थिए -
नदीझैँ होइन, घडीका काँटाझैँ,
आफूलाई धकेल्दै, आफूबाट उम्किँदै।
कोही हराइरहेका, कोही भागिरहेका,
कोही अझै उज्यालोको खोजीमा।
उनीहरूलाई ठेगाना थाहा थिएन,
तर हिँडिरहनु आफैंमा
एउटा विश्वास थियो।

म सोच्थेँ -
के हामी गन्तव्यतिर जाँदैछौं,
कि केवल आजलाई टार्न?
कि हामी पछाडिबाट आइरहेको
कुनै नामहीन भयबाट
भागिरहेका हौं?

त्यही सोचको फाटोमा,
मैले एउटा छुट्टै सास सुनेँ।

पेटीको छेउमा
एउटा सानो हरियो झार
सिमेन्ट चिरेर
घामतिर फर्किएको थियो -
आफ्नो उपस्थितिको अभ्यास गरिरहेको।

म त्यसलाई तुरुन्तै
असहज कथा दिन खोजेँ -
गलत ठाउँ, छोटो आयु, आगामी अन्त्य।
किनकि यहाँ
हरेक कुरालाई
अन्त्यबाट पढ्ने बानी छ।

तर उसले मलाई उल्टै सिकायो -
‘गलत ठाउँ’ भन्ने कुरा
घाम नपुग्दासम्म मात्र हो।
प्रकृतिले अनुमति माग्दैन,
ऊ केवल उम्रिन्छ।
त्यो हरियो
कुनै व्याख्या थिएन।
यो केवल अहिले थियो।

यो शहर अझै ठूलो छ,
अझै मेसिनजस्तै चल्छ।
तर हरेक बिहान
यसका दाँतीहरूका बीच
कुनै न कुनै चरा बोल्छ,
कुनै न कुनै झ्याल खुल्छ,
कुनै न कुनै मन
आज अलिकति कम कठोर हुन्छ।

हो, सपना यहाँ जल्छन्,
तर केही सपना
ताप बनेर
हामीलाई जिउँदो पनि राख्छन्।

म यहाँ छु, तिमी पनि यहीँ छौ -
यो कमजोरी होइन।
हामीले अझै
एकअर्काको आवाज सुन्न सक्छौं,
भीडमा पनि
नाम लिएर बोलाउन सक्छौं।

त्यसैले
तिमीले यहाँका दिनहरू
गन्दै बितायौ -
यो ठाउँलाई एउटा गल्ती ठानेर,
आफूलाई अस्थायी।

तर आज,
यो साँघुरो गल्लीमा उभिँदा,
आफैँसँग झूट नबोल।
तिमी यहाँ ल्याइएका होइनौ।
तिमी आफैँ आइपुगेका हौ -
थकित निर्णयहरूको बाटो हुँदै।

शहरले तिमीलाई निलेको हैन।
तिमीले आफैँ
यसको लयसँग
आफ्नो सास मिलाउन सिकेका हौ।
त्यसैले त
खोलाको सुसाइ
अब तिमीलाई चर्को लाग्छ,
र मौनताले
तिमीलाई असहज बनाउँछ।

यही अधुरोपनभित्र
तिमी बाँच्छौ -
न विजेता भएर,
न पराजित।
केवल
अझै यहाँ रहेको मान्छे भएर।

शहरलाई
कुनै प्रेमपत्र नलेखी,
कुनै विदाइ नदिई,
तिमी मनमनै यति मात्र भन्छौ -
“आज पनि म यहीँ छु।
त्यो नै मेरो जीवन हो।”

बाँच्नु
खुसीको घोषणाजस्तै हुँदैन।
बाँच्नु भनेको
आफ्नै अँध्यारोसँग
इमानदार बसाइ हो।

र आज, यो शहरमा,
जहाँ हरेक कुरा
चाँडो हुनुपर्छ,
म अलिकति ढिलो भएर
यत्ति महसुस गर्न सक्छु -
अहिले पनि,
केही बाँकी छ।

सडकछेउको रुखमा
एकछिन चुपचाप बसेको चराले
मलाई सम्झाउँछ -
बाँच्नु भनेको
सधैँ अर्थ खोज्नु होइन,
कहिलेकाहीँ
केवल हुनु पनि पर्याप्त हुन्छ।

भोलि बिहान,
म चियाको बाफसँगै फेरि उठ्नेछु।
झ्यालबाट
धुलोभित्र अलिकति आकाश देख्नेछु।

त्यो आकाश
पूर्ण छैन।
तर त्यो छ।

Posted in , , , ,


Leave a comment


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun




सहरभित्रको अलिकति आश

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.