कामरेड! काले, बाले, ध्रुबे र रामेले त तिमी सिंहदरबारमै व्यस्त छौ भन्थे, अनि- गठबन्धनको नयाँ संस्करण बनाउन कसरी भ्यायौ?
कामरेड! तिमी आयौ? बोली पनि सर्लक्कै फेरिएछ। यता हामी उस्तै छौँ, अनि उता सरकारको खबर के छ? किन छोडेको? झोला छोडेछौ। अनि प्लटिङ कहाँ–कहाँ किन्यौ?
कामरेड! मलाई चिन्यौ? दाउरा सुरुवालमा थियौ, सुटमा सजिएछौ। भुँडी पनि टम्म बढाएछौ। कामरेड हराएको हल्ला गाउँभरि चलेको थियो, तिमीलाई महलमा देखेपछि हल्ला गर्नेहरू जिल्ल परे। प्राडोबाट ओर्लियौ कि क्या हो, बाटो पनि बाङ्गो–बाङ्गो हिँड्छौ?
कामरेड! गाउँघर कहिले आउँछौ? समाज सेवाको नाममा चुनावको धुलो उडाएर गजबको बाटो चालेछौ। नेपाली उत्पादन फालेर विदेशी रक्सी खालेछौ। खुसी लाग्यो- ब्रान्ड नै भए पनि चिन्न थालेछौ।
कामरेड! तिम्रो चुल्होले भोज दियो। त्यस दिन अरूका चुल्हो निभिरहे। जुन रात गाउँमा सिटामोल नपाएर एउटा बिरामी बित्यो, रातको हावासँगै पिरो लाग्दै साँघुरो गल्लीबाट हामीले चुपचाप हेरिरह्यौँ।
कामरेड! अनि तिम्रो छोराले पिआर लियो? जनतालाई सडकमा उरालेर संसद भवन छिर्ने सोख तिम्रो मात्रै होइन, तिम्रा बाको पनि थियो। तिमीले दिएको भाषण पनि काटीकुटी तिम्रा बाको जस्तै देखियो। यो भाषण पनि उही हो कि क्या हो? कपी–पेस्ट गर्यौ?
कामरेड! अनि तिमीले रातो पासपोर्ट लियौ? विदेशी भूमि देखेर कति सपना बिके? कति साख चोरेको महसुस गर्यौ? तर मुस्कान उही छ, आँखा उही- साँझको नदीमा फर्किएको छायाजस्तै। के केही परिवर्तन भयो?
कामरेड! भोलि तिमी फर्कने हो? हाम्रा गल्लीहरू, पुराना ढोकाहरू, हामीले जोगाएको स्मृतिहरू- के तिमीले सम्झ्यौ? कि सिर्जना सधैँ तिम्रै लागि मात्रै थियो?
कामरेड! यो पुनर्मिलन भारी छ- हामी बोलेनौँ, हाम्रा सपना पनि बोल्न सकेनन्।
सपना कुर्सीमा थन्किएर धुलो खाइरहे, र हामी एक–अर्कालाई हेर्दै चुपचाप उभिइरह्यौँ।
Leave a comment