पृथ्वीनारायण! तिमी आयौ? सिंहदरबारको गेटमा उभिएको सालिकले ठड्याएको चोर औँला अझै पनि ठडिएकै छ। तर फरक यत्ति हो- आजकाल त्यही औँलाले देश हाँक्ने बाटो होइन, युवाहरूलाई ‘एयरपोर्ट’ को बाटो देखाइरहेछ।
औँला ठड्याएर के के न गरौला भन्थ्यौ, तिमीले अर्जेको "दुई ढुङ्गाको तरुल" अहिले बजारमा लिलाम छ। "दिव्य उपदेश" हरू संग्रहालयको कुनामा धमिराले खाएका पानामा शान्त सुतेका छन्।
चार वर्ण छत्तीस जातको 'साझा फूलबारी' अहिले झारै-झारको जंगल भएको छ। तिमीले कोरेको नक्सा त छ, तर "भावनात्मक एकीकरण" को धागो कुनै अदृश्य कैँचीले काटिदिएको छ।
पृथ्वीनारायण! मलाई चिन्यौ? नुवाकोट जिते जस्तो सजिलो छैन महाराज! अहिले सिंहदरबार जित्न। ‘घूस लिन्या र दिन्या दुबै देशका शत्रु हुन्’ भन्थ्यौ, देख्यौ? अहिले त तिनै देशका मालिक भएका छन्। महाराज! अब तिमी पनि नयाँ पार्टी खोल्छौ कि?
महाराज, भीमसेन थापा पनि सँगै छन् कि? सेतो धरहरा फेरि उभियो, तर उनको स्वाभिमान कहिल्यै उठेन। जेलको चिसो छिँडीमा गला रेट्नुको पीडाभन्दा आज देश रेटिएको दृश्य बढी कहालीलाग्दो छ।
उनले बुझिसके- यहाँ राष्ट्रभक्ति भनेको सबैभन्दा छिटो बिक्ने "शेयर" मात्र रहेछ। भीमसेन! अझै पनि मुख्तियार बन्ने रहर छ?
नालापानीको किल्लामा बलभद्रको तिर्खा अझै मेटिएको छैन, मेलम्चीको पानी पर्खिएर बस्यौ कि? काँगडामा थाकेका अमरसिंहको खुकुरीमा अब धार होइन, खिया लागेको छ।
रगतले भिजेको माटोमा उनीहरूले रोपेको "स्वाभिमान", आज पासपोर्टको पानामा भिसा बनेर टाँसिन्छ। त्रिभुवन विमानस्थलको लामो लाइनमा विदेशी मरुभूमिमा बेचिने ‘पसिना’ टल्कन्छ।
वीरताको इतिहास अब खुकुरीको धारमा होइन- आफ्नै देश छोड्नुपर्ने विवशताको आँसु या “रेमिट्यान्स” को भौचरमा साटिन्छ। वीरहरू! युद्ध जितेर पनि जिन्दगी हार्यौ कि? वा, सुगौली सन्धि च्यातेर, हातमा रातो पासपोर्ट लियौ?
ए, जंगबहादुर पनि सँगै आएछौ। मध्यरातमा, कोतपर्वको चिच्याहट अझै पनि सहरको सन्नाटामा सुनिन्छ। जङ्गबहादुरले पखालेको हात कहिल्यै सफा भएन। फरक यत्ति हो- कोतपर्वको रगत सुक्यो, तर लुटको पर्व सकिएन।
"हुकुम" र "हाजिरी" को टोपी, सुट-टाईमा फेरिएर आज पनि शासकहरूको रगतमा दौडिरहेकै छ। शासन त फेरियो, तर जङ्गबहादुरको घोडा अझै पनि सहरको गल्लीमा जनता कुल्चँदैछ। जङ्गबहादुर! तिमीले पनि आफ्ना भाइ-भारदारलाई राजदूत बनायौ कि?
टेकुको त्यो खरीको बोटमा, शुक्रराजको झुन्डिएको सपना अझै हल्लिरहेको छ। गंगालाल र धर्मभक्तहरूको रगतले लेखेको "प्रजातन्त्र"- अहिले "भागबन्डा" को तराजुमा जोखिँदै छ।
उनीहरूले रोजेको मृत्यु, जीवन भन्दा महँगो थियो, तर उनीहरूले ल्याएको बिहानी- कुहिरोमा हराएको काग जस्तै भयो। जुन रुखमा तिमीहरू झुन्डियौ, त्यही रुखको फेदमा बसेर नेताले देश लिलाम गरेको देख्यौ? शहिदहरू! तिमीहरू स्वर्गबाटै पछुतायौ कि?
महेन्द्र ! तिमी पनि सुटुक्क आएछौ? एउटा राजा, जसले पूर्व र पश्चिम जोड्ने सडक त बनायो, तर, मनहरू जोड्न सकेन। तिमीले लगाएको "राष्ट्रियता" को बार, समयको हुरीले भत्काइसक्यो। "एक भाषा, एक भेष" को सपना, अहिले इतिहासको खल्लो व्यंग्य बनेर बाँचेको छ।
आज, यी सबै इतिहासका यात्रीहरू समयको मरुभूमिमा टुटेका मूर्तिहरू झैँ लडिरहेका छन्। र, यिनको बीचमा अलपत्र परेको छ- एउटा अधुरो "लोकतन्त्र", जसले न त तिम्रो औँलाले देखाएको बाटो भेट्यो, न सहिदको रगतलाई बचाउन सक्यो।
पृथ्वीनारायण! फेरि तिमीलाई नै सोध्न मन लाग्छ- तिमीले देखेको देश यही थियो?
अन्त्यमा, सत्य यही रहेछ- हामीले इतिहासका पन्नाहरूमा नायक खोज्यौँ, तर वर्तमानको ऐनामा मात्र व्यापारीहरू भेट्टायौँ। यहाँ रगत सहिदको बग्छ, तर राज- सँधै भ्रम बेच्नेहरूको चल्छ।
महाराज! यदि तिमी आज आइपुग्यौ भने, देश जोड्न नक्सा होइन, सायद, पहिले त्यो ठडिएको औँला नै तल झुकाउनु पर्थ्यो कि?
Leave a comment