मलाई माफ गर, म तिमीलाई कुनै स्फटिकको राजालाई जस्तै दुई हातले समात्न सक्दिन। म तिमीलाई बाँध्न सक्दिन।
तिमी त मेरो सोचको धारमा बग्ने एउटा अनाम उज्यालो हौ, जसलाई समाउने प्रयासमा म आफैँ हराउँछु।
मेरो प्रेम केवल तिम्रो संसारलाई उज्यालो बनाउने चाहन होइन। यो त मात्रै छायाँसँग बस्ने एउटा शान्त अभ्यास हो।
र आज यसले मलाई दुखाउँदैन, मात्र थोरै थकान दिन्छ। म बारम्बार नदोहोऱ्याउन चाहन्छु, तर मनले आफैँ दोहोर्याइरहन्छ। जसरी नदीले आफ्नो किनार रोज्दैन, तर बगिरहन्छ।
अघोषित माया! तिमी त झ्यालमा अड्किएको चिसो उज्यालो, काँचको प्रकाश, जसको न आदि छ, न अन्त्य। जसलाई छुन खोज्दा आफ्नै छायाँ मात्र फर्किन्छ।
सायद यही कारण हो, म तिमीलाई छुन डराउँछु, तर नछोएर नै तिमीलाई सुरक्षित राख्न खोज्छु।
ओ! तिम्रो अव्यक्त हाँसोका रेखाहरू! ती रेखाहरूले कुनै अनुहार कोर्दैनन्, मेरो मौनता कोर्छन्। र त्यो मौनले मभित्रका सबै घडीहरू एकैचोटि रोकिदिन्छ।
समय यहाँ कुनै सीधा रेखा होइन, यो त पानीजस्तै बग्छ अचानक नरम, अस्थिर, र गहिरो।
असमाप्त प्रेम, म जीउँदै छु एकान्तको लयमा। दिनहरू चल्छन्, तर समय हिँड्दैन। चेतनाको एउटा छाल आउँछ, तिम्रो यादलाई किनारमा छोड्छ, र फेरि आफ्नै गहिराइतिर फर्कन्छ।
यो कुनै अधुरो कथा होइन। यो त कथा सुरु हुनुअघि मस्तिष्कमा उठ्ने त्यो मसिनी कम्पन हो, जहाँ कलम रोकिएको हुन्छ। पुरानो घडीको टिक–टिक जस्तो- निरन्तर, नदेखिने, तर सधैँ उपस्थित।
म तिमीलाई परिवर्तन गर्न चाहन्नँ। म तिमीलाई 'बुझ्न' पनि चाहन्नँ, किनकि तिमी त्यो भूलभुलैया, जहाँ म हराउन मात्र चाहन्छु, बाटो भेट्टाउन होइन। साहस त केवल तिनलाई चाहिन्छ, जो किनारामा बसेर डुब्न डराउँछन्।
असार प्रेमको यो पसलमा म अझै उभिएको छु। किन्ने कुनै मन छैन, र अब फर्कने कुनै ठाउँ छैन।
ए! सुनहरी स्वप्न। म बाहिर निस्केर नदी हेर्छु, आकाश हेर्छु, आफ्नै सास सुन्छु, र बल्ल बुझ्छु- पूर्णता भनेको केही पाउनु होइन रहेछ। पूर्णता त- सबै कुरा रित्तिएर पनि यो साँझलाई, यो हावालाई, र यो अभावलाई विपनामा मुस्कुराएर स्वीकार गर्नु रहेछ।
अघोषित माया, सायद प्रेमको अन्तिम सत्य यही हो- जहाँ कोही कसैको हुँदैन, तर कोही पनि एक्लै हुँदैन।
हामी दुई किनार हौँ, जो कहिल्यै जोडिँदैनन्, तर त्यही नजोडिनुले नै यो नदीलाई बग्ने बाटो दिएको छ।
Leave a comment