हामी
भूगोलले थिचिएका
समयका सन्तान।

न राजा,
न प्रजा-
बीचमै अड्किएको
एक अपूरो पहिचान।

हिमाल
मौन थियो,
पहाड
आफ्नै हठमा जकडिएको,
तराई
हामीले बुझ्न नसकेको
एक असहज धड्कन।

त्यही धड्कनभित्र
एउटा पार्टी जन्मियो-
चुनाव चिह्नबाट होइन,
जेलको भित्तामा
नङले कोरिएको
लोकतन्त्र।

सपना होइन-
अस्तित्वको भाषा।

बी.पी. ले
राजनीतिलाई
सत्ताको सीमामा थुनेनन्।

उनले
भोकलाई विचारसँग,
प्रेमलाई स्वतन्त्रतासँग,
मानिसलाई राज्यसँग
जोडे-
र त्यसको मूल्य
जेलमा चुकाए।

गणेशमानका लागि
कुर्सी नपाउनु
पराजय थिएन,
कुर्सी पाउनु
लक्ष्य पनि थिएन।

त्यो बेला
कांग्रेस
पार्टी थिएन।
यो
डरभन्दा ठूलो,
राजाभन्दा अग्लो
एक विचार थियो।

तर समय
कसैको मित्र हुँदैन

सबैलाई
आफ्नै गतिमा
थकाउँछ।

जब बलिदान
स्मृतिमा सीमित भयो,
र स्मृति
विरासतमा बदलियो,
त्याग अब
उत्तरदायित्व रहेन,
हकदाबी बन्यो।

क्रान्ति: फाइल बन्यो।
आन्दोलन: बुँदा बन्यो।
राजनीति: गणनाको भाषा।

चुनाव
जनताको फैसला रहेन,
पार्टीभित्रको कारोबार-
कति सांसद,
कति मन्त्रालय,
कति सम्झौता-
विश्वास होइन,
लगानी गनियो।

देउवाको कांग्रेस
तुफानबाट बाँचेको
पुरानो जहाज भएको छ,
कहिले डुब्ने,
कहिले तैरिने।

दिशा छैन,
अब
बन्दरगाहलाई नै
समुद्र ठान्छ।

यसैबीच
गगनहरू आए-
प्रश्न लिएर,
आक्रोश बोकेर।

तर
जोखिम नलिने शब्दले
इतिहास बदल्दैन।

युवाहरू
झण्डा बोक्दैनन्,
प्रस्थानको नक्सा कोर्छन्।

र यो नै
सबैभन्दा ठूलो
राजनीतिक अभियोग हो।

कांग्रेस
अझै
दुई समयबीच अड्किएको छ-

एकातिर
बी.पी. को सपना,
अर्कोतिर
सत्ताको निद्रा।

अब प्रश्न
बाँच्ने–मर्नेको होइन।

के यो पार्टीले
आफ्नै अनुहार
फेरि चिन्न सक्छ?

यो पार्टी
न इतिहासले बाँचेको हो
न चुनावले,
न बी.पी.को नामले।

यो,
लाज बाँकी रहेसम्म
मात्र बाँच्छ।

किनकि
इतिहासले
धेरै कुरा माफ गर्छ,
तर
विस्मृति
कहिल्यै गर्दैन।

र जब
लाज पनि सकिन्छ-

तब पार्टी
इतिहास होइन,
स्मारक बन्छ।

- जमैका, न्युयोर्क
जनवरी २०, २०२६
Posted in , , ,


Leave a comment


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun




कांग्रेस: विरासतको विज्ञापन

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.