हामीले बच्चाहरूलाई
नारा सिकायौँ,
अक्षरभन्दा पहिले दोषी चिनायौँ।
सरकार
एक अमूर्त शत्रु,
र हातमा खेलौनाको
स्मृति अझै बोकेका
स-साना बच्चाहरू
सबैभन्दा सस्तो शरीर।

कसैले योजना बनायो,
कसैले नाराहरू तयार गर्‍यो,
कसैले जानाजान पठायो
‘नो-गो जोन’ को त्यो सिमानाभित्र,
जहाँ सुरक्षाको छाताको नियममा
गोलीले अनुमति पाएको थियो।

नेताहरूले आक्रोश सुनेनन्,
नियमले विवेक बुझेनन्,
सरकारले कर्तव्य बिर्सियो।
बन्दुकका गोलीले
सधैं शरीर खोज्छ।

सत्ताको लाचारीले
परिवर्तनका निमित्त
उठेका नयाँ सपनाहरू
सडकमै मृत लडेका थिए।

सेप्टेम्बरको त्यो साँझ
आकाश होइन,
सडक रातो भएको थियो।

देशभरि,
शोक, आक्रोश र निराशाको
लामो रातमा सुत्ने तयारी हुँदैथियो।

हामीले रगत पुछेनौँ,
बरु त्यसैलाई ‘इंक-प्याड’ बनायौँ
र छाप लगायौँ
नयाँ अन्धकार को यात्रामा।

गोली चलेपछि
देश एकछिन स्तब्ध बन्यो,
अनि सुरु भयो
ती चिसा नभैसेका शरीरहरूको
सपनाहरु ढालिएको आँशुबाट
जन्मिएको आक्रोशका उत्सव।

सिंहदरबार जल्दै गर्दा
पुरानो सत्ताका कागजातहरू उडिरहेका थिए,
र देश खरानी हुँदैगर्दा
नयाँ ‘मसिहा’ हरू भने
त्यही आगोमा
‘लास’ सरकारको सपना
सेकाइरहेका थिए।

अहिले
सहरका भित्ताहरूमा
ढलेका ती कलिला सपनाहरूको
‘कपिराइट’ लिन होडबाजी छ।
एउटा ‘स्क्रिन’ बाट गर्जन्छ,
अर्को ‘स्टेज’ बाट र्‍याप गाउँछ,
र दुवै मिलेर
मृतकका आमाहरूको आँसुलाई
भोटको ‘डिजिटल वालेट’ मा
जम्मा गर्दैछन्।

पुराना शक्तिहरू ढले,
तर पतन सधैं न्याय हुँदैन।
कहिलेकाहीँ
त्यो केवल
नयाँ अनुहारहरू खेल्नका लागि
खुला मैदान पनि बन्ने गर्छ।

त्यही खाली ठाउँमा
तिनीहरू उभिए,
जसले
बच्चाहरूलाई अघि धकेलेका थिए,
अब
तिनै चिसा शरीरहरूलाई
राजनीतिक प्रमाणपत्र बनाएर
बेचिरहेका छन्।

लासहरू
पोस्टर बने,
पोस्टरहरू
आश्वासन बने,
र आश्वासनहरू
भोट माग्ने भाषामा अनुवाद भए।
किनकि
यहाँ नीति होइन,
पुराना सत्ताको रिस
सबैभन्दा सजिलो दर्शन हो।

इतिहासले सोध्नेछ,
त्यो कालो सेप्टेम्बरपछि
देशमा के फेरियो?
थाहा छैन हामी के भन्नेछौ,
यहाँ जब
सुसासन खोज्दै बितेका सपनाहरू
निर्वाचनको कच्चा पदार्थ बनाएर
नयाँ मसिहाहरूले
बोक्न थालेका छन्।

म आक्रोशित छैन,
आक्रोश त ऊर्जा हो।
म थाकेको छु,
रियालिटी सो बनेको देशमा
भविष्यको नयाँ विपनाको,
अब रमिता छ।
- जमैका, न्युयोर्क,
        जनवरी २०२६, कोल्डस्टोर्म
Posted in , ,


Leave a comment


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun




अब रमिता छ

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.