मिनपचासको जाडोमा कठ्याङ्ग्रिएको देश- यहाँ मौसम होइन, विवेक चिसिएको छ।
हामी बोल्छौँ- तर आवाज सुनिँदैन। हामी हेर्छौँ- तर देख्दैनौँ। हामी, सुतिरहेका छैनौँ- हामी, नहेर्ने अभ्यासमा निपुण भएका हौँ।
हामी- ती सुतुर्मुर्गहरू, जसलाई लाग्छ, बलुवाको सिरानीभित्र चेतना बिसाएर, आफ्नै सासको आवाजबाट लुक्नु नै सबैभन्दा सुरक्षित उपाय हो।
रित्तो भाँडोले रित्तो भाँडोलाई हिर्काउँदा जुन आवाज निस्कन्छ- हामी त्यसैमा भोलिको लय खोजिरहेका छौँ।
चुनाब यसपटक ढोकाबाट होइन, पर्दाबाट आएको छ। स्टुडियोको बत्ती बल्छ। दलहरू निर्देशन गर्छन्, यहाँ, उम्मेदवार होइन, चरित्रहरू छानिन्छन्।
आवाज होइन, कथानक बिक्छ। अनेकथरी मुखहरू, भूमिकाजस्तै बदलिन्छन्।
बजारमा अब विचार बग्दैन- केवल कन्टेन्ट बिक्छ।
घृणाले म्यानिफेस्टो लेख्छ, आक्रोशले घोषणापत्र पढ्छ, र स्मृतिभ्रंश राजनीतिक चेतनाको नयाँ नाम बनेको छ।
यहाँ, पुरानाप्रतिको रिस नयाँलाई भोट दिने सबैभन्दा तर्क बनेको छ।
न नीति खोजिन्छ, किनकि नीति धैर्य माग्छ। न थिति सोधिन्छ, किनकि थिति जिम्मेवारी हो।
हामी उत्तर चाहँदैनौँ, हामी कसैलाई दोष दिन चाहन्छौँ।
यहाँ, निर्णय होइन, प्रतिक्रिया खोजिन्छ। विवेक होइन, मनोरञ्जन। हामी भन्छौँ- “यो होइन, त्यो होइन,” तर “के हो?” भन्ने साहस कतै हराएको छ। यो मौनता- यो चुप्पी- जानाजान रोजिएको छ।
हामी मतदाता- मौन दर्शक, ताली बजाउन मात्रै जानेका। हामी निर्णय गर्दैनौँ। हामी प्रतिक्रिया जनाउँछौँ। रिस सबैभन्दा सजिलो भाषा भएको छ।
सुतुर्मुर्गले टाउको लुकाउँदा आकाश हराउँदैन, तर ढाडमाथि उभिएर जो आकाश हेरिरहेको छ, उसले तिमीलाई बाटो देखाउने छैन।
यो मिनपचासको जाडो कहिले सकिने छैन, जबसम्म- हामी आफैँभित्रको हिउँलाई पग्लिन दिँदैनौँ।
Leave a comment