
kafkaintherun
who tells the birds where to fly?
Tag: Poetry
-
मिनपचासको जाडोमा कठ्याङ्ग्रिएको देश- यहाँ मौसम होइन, विवेक चिसिएको छ। अफसोस, हामीलाई त कठ्यांग्रिनुमै ‘निशाचर’ आनन्द छ।

-
इतिहासले सोध्नेछ, त्यो कालो सेप्टेम्बरपछि देशमा के फेरियो? थाहा छैन हामी के भन्नेछौँ, यहाँ जब सुसासन खोज्दै बितेका सपनाहरू निर्वाचनको कच्चा पदार्थ बनाएर नयाँ मसिहाहरूले बोक्न थालेका छन्। म आक्रोशित छैन, आक्रोश त ऊर्जा हो। म थाकेको छु, रियालिटी सो बनेको देशमा नयाँ भविष्यको विपनाले, अब रमिता छ।

-
यो पार्टी न इतिहासले बाँचेको हो न चुनावले, न बी.पी.को नामले। यो, लाज बाँकी रहेसम्म मात्र बाँच्छ। र जब लाज पनि सकिन्छ- तब पार्टी इतिहास होइन, स्मारक बन्छ।

-
दिनहरू चल्छन्, तर समय हिँड्दैन। चेतनाको एउटा छाल आउँछ, तिम्रो यादलाई किनारमा छोड्छ, र फेरि आफ्नै गहिराइतिर फर्कन्छ।

-
पृथ्वीनारायण! तिमी आयौ? सिंहदरबारको गेटमा उभिएको सालिकले ठड्याएको औँला अब देश हाँक्ने बाटो होइन, युवाहरूलाई ‘एयरपोर्ट’ को बाटो देखाइरहेछ।

-
कामरेड, तिमी फर्कियौ, बा–पुस्ताको आवाज लिएर। दाउरा सुरुवालको स्मृति अझै बाँकी थियो। महल, कुर्सी, र भाषणहरूले त्यो स्मृति मेटाए। हामी सुन्दै बुढा भयौँ, सपना नबोलिकन। हामी उभियौँ, नामसहित, अर्थविहीन।

-
तर आज, यो साँघुरो गल्लीमा उभिँदा, आफैँसँग झूट नबोल। तिमी यहाँ ल्याइएका होइनौ। तिमी आफैँ आइपुगेका हौ – थकित निर्णयहरूको बाटो हुँदै। शहरले तिमीलाई निलेको हैन। तिमीले आफैँ यसको लयसँग आफ्नो सास मिलाउन सिकेका हौ। त्यसैले त खोलाको सुसाइ अब तिमीलाई चर्को लाग्छ, र मौनताले तिमीलाई असहज बनाउँछ।

-
यो सहर मेरो रोजाइ होइन- मेरो थकानको निरन्तरता हो। यहाँ समय बग्दैन, ऊ मेरो नाडीभित्र थाकेर अड्किन्छ, र दिनहरू हिजोका अधुरा बोझ बोकेर फेरि उठ्छन्।

-
गाउँको अन्तिम भित्तामा समय छैन- डरको ताल मात्र। उसको देह काम लाग्ने, तर छुन नहुने। उसले सिउँछे फाटेको लुगा होइन, आफूलाई। उज्यालो अब उत्तर होइन अवस्था हो।

-
हामी हिँडिरहन्छौँ- उज्यालोबाट अँध्यारोतिर, अँध्यारोबाट उज्यालोतिर। तर वास्तविकता कहिल्यै ठोस हुँदैन। रातभरि आफ्नै मनको तरल रूप बुझ्ने प्रयास मात्र हो, फेरि, फेरि, फेरि। बिहानीको घाम आँगनमा आइपुग्दा, अझै नखुलेको रहस्यजस्तै।

-
हाम्रो स्मृतिमा, अझै धुवाँ बाँचिरहेको छ, अझै आकाश भाँचिँ नै रहेको छ। देश थकानको दिशामा, आफ्नै गतिमा घस्रिरहेको छ। हामी- ध्वंसलाई विकास भनिरहेका छौं, र हरेक भत्किएको घरभित्र आफ्नो डर सुरक्षित राखिरहेका छौं।

-
तिमीले पढिरहेकीछ्यौ मेरो मौनता, ओल्टाइ- पल्टाइ, भित्तामा झुण्डाइएका प्रश्न जस्तै। के तिमीले सुनेकी छ्यौ मैले नबोल्दै पोखिएका शब्दहरू? तिमी सोध्छ्यौ- “पर्खूँ कि फर्कूँ?” म त त्यो प्रश्नमै बाँचिरहेछु न पर्खाइको समय टुङ्गिन्छ, न फर्काइको बाटो खुल्छ।

-
छालाभित्र न्यानो सास मात्र बाँकी रहन्छ। जसरी नदी शब्दहरू नाघेर, अर्थहरू बिर्सेर, पहाड फोरेर बगेको हुन्छ, म बोल्छु, उसले सुन्छ, म हिँड्छु, उसले बाटो सम्झिन्छ। जसलाई उज्यालोले मात्र हल्लाउँछ। जसलाई छायाँले मात्र बचाइराख्छ।

-
वाद्यहरूको यो सेना उठोस्; सारंगीका तार, ढोलका ठोका, बाँसुरीका श्वासहरू एउटै तालमा मिल्छन हाम्रो सङ्गीतले कागजातमा लेखिएका दावीहरू पनि बचाउन। म सारंगी हुँ- मेरो तारबाट उठ्ने ध्वनि सुन। म ढोल हुँ- मेरो ठोकाबाट उठ्ने कदम देख।

-
तिमी बुझ्नेछौ; स्थिरता असम्भव छ, तर सुन्दरता हरेक बिहान सम्भव हुन्छ। अन्ततः ऐनाले तिम्रो अनुहार बोक्दैन अब त्यहाँ, तिम्रो आत्मा झल्किन्छ; ऐनाभित्रको घामको झिल्कोमा म लुप्त हुन्छु, तिमी बाँच्छौ; अरू धेरै जन्मदिनहरूका निमित्त।

-
कहिलेकाहीँ म आफ्नै छालाबाट बाहिर निस्केको छायाँ बन्छु- छायाँ जो हिँड्छ, तर वजन महसुस गर्न सक्दैन। छायाभित्रको शरीरलाई तानेर हेर्दा आफ्नै सास काट्ने सुइँ देख्छु। लाग्छ- कुनै नाटकको पर्दा, जो बारम्बार तानिन्छ, तर अन्त्य- कहिल्यै आउँदैन।

-
नोस्टालजिया पसल- कहिल्यै बन्द हुँदैन यहाँ जीवन टुक्रिन्छ र समय हुर्किन्छ, उसका अधुरा सम्झनाहरू गुनासो र मायाको छाप बोकेर मलाई बाँधिरहन्छ। म पसल छोड्न खोज्छु, तर ढोकाबाहिर निस्कँदा फेरि पसलमै फर्केको पाउँछु, “उसको अनुपस्थिति नै मेरो उपस्थितिको कारण हो।” नोस्टालजिया पसल- मभित्र छ र म यस पसलको, नियमित ग्राहक सम्झनाहरू बाँचिरहेको।

-
ती नयनका गहिराई, त्यो एकाकार अधर; ती स्पर्शका न्यानोपन हरू, अनि ति चुलबुलाहट, एक अर्कामा विलय हुने कल्पना; हराएर ती केश-राशीमा, तिमी-म, म-तिमी, हारेँ म तिमीसँग, पर्दैन अब बाँधिराख्न मोहनीमा, जित तिम्रै भयो- तिम्रै भए म। सुस्तरी-सुस्तरी-एकमुष्ट आऊ, समाउ हातहरू- नत्र बेहाल भए म।

-
म सीता, म माटोकी छोरी, अझै वनवासी, अझै प्रश्नवाची। कहिले जनकपुर, कहिले अयोध्या, कहिले वनवास, कहिले ऋषिको कुटी; म कहिल्यै घरकी भइन। कसरी प्रमाणित गरूँ – म यही माटोकी छोरी? कसरी देखाउँ तिमीलाई – मेरो गर्भमा हुर्किएको पीडा?

-
उसका पातहरूमा – लेखिएका छन् घामका अक्षर। उसको मुटुमा – कुँदिएका छन् घामकै छायाँ। उसको गन्धमा – घुलिएका छन् घामको सम्झना। उ देखिएन भने पनि बाँच्छ, उ बुझिएन भने पनि बोल्छ।

- Articles (25)
- English (26)
- English Poetry (8)
- History (13)
- Letters (4)
- Monologues (7)
- Musings (27)
- Nepali (52)
- Nepali literature (45)
- Nepali Poetry (46)
- Poetry (50)
- Ramblings (44)
- Science (8)
- Stories (2)
- February 2026 (2)
- January 2026 (8)
- December 2025 (6)
- November 2025 (6)
- October 2025 (6)
- September 2025 (2)
- August 2025 (7)
- July 2025 (3)
- June 2025 (4)
- May 2025 (4)
- April 2025 (27)
- March 2025 (6)
- December 2024 (1)
- October 2024 (1)
- September 2024 (1)
- March 2023 (1)
- February 2023 (1)
Akkad (5) Biology (5) hinduism (6) History (9) literature (57) love (7) love poems (6) Mesopotamia (6) muse (22) Musing (21) Nepal (31) Nepali (5) Nepali Poetry (6) nepali politics (19) Nepali Society (4) New York (12) nostalgia (4) Poetry (54) politics (4) random musing (29) romance (9) romantic (5) Science (5) Sumer (7) Writing (40) कविता (5) नेपाल (40) नेपाली कविता (20) नेपाली राजनीति (4) नेपाली साहित्य (5)
who tells the birds where to fly?
© 2025 all rights reserved. Designed with WordPress.