१. २०१०, जुन। एकाबिहानै फेसबुक खोल्नु मेरो दैनिकी नै भै सकेको थियो। रिकोमेन्डेड फ्रेन्डस को लिस्टमा यौटा अनौठो नाममा गएर आँखा टक्क अडियो। अना मिका, नयाँ ट्याब हतार हतार खोलेर, फ्रेन्ड रिक्वेस्टको निलो बटन क्लीक गरेर एकछिन उसको एक्टिभिटी नियाँले। कलेज सकेर केहि घन्टापछि, फेरी फेसबुक खोल्दा यौटा नोटिफिकेसन र यौटा म्यासेज आएको रहेछ। हेरेँ, त्यहि अनामिका अनलाइन रैछ, लैखिएको थियो, "हेल्लो बोधिसत्व।", ढिला नगरि रिपलाई गरेँ, "हाइ”।
टुप्लुक्क प्रश्न गरी, "सो, बुद्धु, की बुद्ध?", सोचेँ, फरासिली रहिछ। बठ्याईँ देखाउँदै उत्तर दिएँ, "लेट्स गिभ अस सम टाइम, यु विल नो युरसेल्फ।" एकफेर हाँसेझैँ गर्दै उसले भनि, "अनि, नाम चाहिँ प्रवेश होला हैन? बोधिसत्व त पक्कै भैसक्या छैन होला।" "बोधिसत्व हुन दिएन सांसारीक सुख-सयनले, अहिले नाम मात्रै भएपनि राखौँ भनेर नि।” अनि, "ए अनामिका, भन्न त कस्तो नमिल्दो रैछ क्या।", घुमाउरो पारामा नाम जान्न खोजेँ मैले। "फर्मालिटि उफ्फ!" चिढीएझैँ गरि उसले थपि, "पल्पसा, पल्पसा काफ्ले", "कसो, पल्पसा क्याफे भएन छौ" मैले भनेँ। रिसाओस् भनेर हतार-हतार यौटा स्माइली पनि थपिवरी म्यासेज पठाएँ। "भएको भए के हुन्थ्यो र?" उ पनि कहाँ कम थिइ त। "के थाह, मलाई तिमी पनि मन पर्न सक्थ्यो।" मैले टेस्टेस्टोरन फ्यूल्ड रिप्लाई दिएँ। "तिमिलाई के बढी मन परेको? नारयण वाग्ले की उसले बनाएको पल्पसा?" प्रश्न सोझ्याएकि थिइ मलाइ।
"पल्पसा र दृश्यको केमिस्ट्रि।" बाठो उत्तर दिएँ। "बाठो रहेछौ, दृश्य झैँ।" कम्प्लिमेन्ट हो कि अरु केही, बुझिन, मुस्कुराउँदै लेखेँ, "तिमी, बरु ठ्याक्कै पल्पसा झैँ रहेछौ। आशावादी छु, हाम्रो मिलन वियोगान्त नहोस्।" "हामी त्यस्तो वादमा किन अल्झनु पर्यो र?" झर्केर भनि उसले। एकछिन, घोरिएर फेरि पढि क्यार केही बेर, लेखि, "तिमी आफूलाई त्यहि दृश्य जस्तो ठान्छौ की?” "म परिस्थितिमा बाँधिएको छु, मनमौजी छैन उसको जस्तो। फेरि मेरो क्रियटिभिटि भनेको गफीन मै सीमित हुन्छ।" मैले यथार्थ सुनाएँ। "फिक्सन झैँ जिन्दगि कहाँ हुन्छ र?" उसले थपि, "त्यो पल्पसा जस्तो स्वदेशमा बसेर क्यामेरा बोकेर हिँड्न सकेको छैन, सिंगापुरमा कपडा काट्नु परेको छ।” "दर्जी हो?" मैले रिङाउनलाई भनेँ। "हैन, यहाँ फेसन डिजाइन पढिरहेको छु। तिमी के गर्छौ नी?” प्रतिप्रश्न तेर्स्याइ उसले। “जेनेटीक इन्जिनियरिङमा ब्याचलर्स गर्दै छु, बंगलादेशमा।”
एक्कासि, भेट भएको थियो हाम्रो त्यो दिन। पहिलो पटकमै यसरी खुलेर कुरा सायदै कोही सँग गरेको थिए होला मैलै। तर, त्यो अन्तिम कुराकानी थिएन, बस सुरुवात थियो उसंगको मित्रताको, एक भारी सम्झनाहरूको।
२. २०१०, नोभेम्बर। हाम्रो कुराकानी प्राय बेलुका हुने गर्थ्यो। दिनभरि कलेजको थकाइ, अनि कुरा गर्ने अधैर्यता, कोठा पुगेर हतार हतार फेसबुक खोल्थेँ। फेसबुक खोल्न कम गार्हो हुन्थेन उसबेला। हतार हतार गर्दै ग्रामीनफोनको डङ्गल घुसाएर ल्यापटप मा फेसबुक खोल्दा उसैको म्यासेज टुङ्ग बजथ्यो।
केही दिन दैनिकी को बारेमा मुन्ड्यान वार्तालाप हुने गर्थे, विस्तारै हामी दर्शन, साहित्य, विज्ञान, धर्म, म्युजिक, स्पिरिचुलिटी, हेरेका सिनामाहरू, पढेका किताबहरु.. हरेक खाले र सबैखाले कुरा गर्न थालेका थियौं। पल्पसा क्याफेमा, नारायण दाइले पल्पसा को क्यारेक्टरमा न्याय गर्न सकेझैँ लाग्दैन थियो, यो पल्पसा सबै कुरामा मैले कल्पना गरेको उही पल्पसा झैँ लाग्न थालेको थियो, 'ट्यालेन्टेट, क्रियटिभ, मिलनसार, एक्स्ट्रोभर्ट' अनि त्यो भन्दा पनि बढि डाउन टु अर्थ। समयले अरुनै केहि निर्णय गर्यो, नभए, पक्कै एक सफल डिजाइनर हुने थिई होला।
म दृश्य थिइन, शब्दलाई पेपरको क्यानभासमा बेला बेला उतार्ने गरेको थिएँ। मनमौजी पक्कै थिइन, अलि अलि भएको स्वतन्त्रता पनि बंगलादेशको दुई वर्षमा कुण्ठित भै सकेको थिए। मलाई दृश्य मन परेन, अलि बढी हावादारी, इगोइस्ट र लापरवाह लाग्थ्यो। लथालिङ्ग त म जरुर थिएँ, घमन्डी कत्तिको थिएँ, अरूले जज गरिहाल्छन।
"प्रवेश, जीवन के हो जस्तो लाग्छ?" एक दिन एक्कासि प्रश्न गरेकी थिई पल्पसाले, "तिमिलाई आफूले पाएको यो समय प्रति जस्टिस गरेजस्तो लाग्छ त?
त्यसो त हामीले हरेक विषयमा कुरा गरिसकेको थियौँ। वैदिक गन्थन देखि जुलियन एसेन्जको “बहादुरी” को बहस गर्थ्यौ। गान्धी र मन्डेलाका शान्ति सन्देश, अनि सिकन्दर महान् र नेपोलियनका युद्धहरू, जनयुद्धको नेपाल, अनि जनयुद्धमा विनाकारण जेल मा बसिरहेको अन्तरको कथाहरू को कुरा गर्थ्यौँ। राम, जिसस र बुद्ध का प्रिन्सिपलहरू; अनि राधा, द्रौपदी, मेरी र यशोधराहरूले सहनु परेका कष्टहरू उद्धरण गर्दै, धर्म र धर्मको नाममा धर्म भिक्षुका कर्तुतहरू पर्दाफास गर्थ्यौं समय मिलेसम्म। इन्द्र, जिउस, अनि जरासुत्र को समानता, आर्यन इन्भेजन, हराएको सिन्धुघाँटीको सभ्यता, वेद देखि मनुस्म्रीती सम्म आएपुग्दा बहकिएको हाम्रो हिन्दु धर्म; लाग्थ्यो, हरेक विषयमा हाम्रो कुरा मिल्थ्यो। हैन, केही असमानता थिए हाम्रो, नत्र त पट्यार लाग्दो हुन्थ्यो होला हाम्रो मित्रता।
अनि, हेन्ड्रिक्सको गितार, लेनन र म्याककार्थीका ट्युन्स, बब डायलन र जोनी मिचेलका प्रेरणादायी लिरिक्स, अनि रे चार्लस र, अर्रिथा फ्रयाङ्कलिन का सोल सँग थिए हामी सँग, सँग-सँगै सुन्थ्यौँ। अँ, पिंक फ्लोयड अनि साइक्लेडिक म्युजिक सँग पनि उसैले परिचय गराएकी थिई मलाई। कति चाँडै कति धेरै कुरा गरिसकेका हामी, उसको प्रश्न गहिरो लाग्यो मलाई, खै किन हो।
तैपनि, हलुङ्गो उत्तर दिएको थिएँ, "मर्नु अघि हामीले बाँच्ने समय।" पछी थपेँ, "२०+ हुँदेछौँ भर्खर, अहिले नै कन्टेम्पलेट गर्न पर्छ जस्तो लाग्दैन पल्पसा मलाई। जीवन त धेरै लामो छ; भन्छ नि हामीले बाँचुन्जेल गर्ने सबैभन्दा लामो काम नै जिउनु हो।" उसले गम्भीर हुँदै भनेको थिइ, "हेन्ड्रिक्स जस्तै जिन्दगी पो जिन्दगी त, २६ वर्षमै मरेर पनि गितारको लिजेन्ड भएको छ" अनेपक्षित सिरियसनेस तिर मोडिएपछि मैले भनेको थिएँ, "हैन, मलाई त सिकन्दर हुनु छ, संसार जित्नु छ। सिकन्दर भन्दा फरक अन्त्य गर्नु छ जिन्दगीको।" उसले साथ दिँदै भनेको थिइ, "डायरिया बाट बचेर इन्डिया पनि जित है यो पल्ट।" हाँसेका थियौँ दुबैजाना.... "विल यु वि ह्याप्पी, ह्वेन यु डाइ?" उसले सोधी। इन्टरनेट सकिए छ क्यार, ल्यापटप बन्द गरेँ। मोबाइलमा, 'लाइक अ रोलिङ स्टोन' सुन्दै सुतेको थिएँ त्यो रात। केही महिना, दिनचर्या यसरी नै बित्दै थिए।
३. २०११, फेब्रुअरी। हिउँद अलि बढि नै चिसो थियो यो यामको। पल्पसाले म्यासेजको रिप्लाई नगरेको एक हप्ता जस्तो भएको थियो, मन अलि बढी नै अधीर हुँदै थियो। जाडोमा ठिहीले ओइलाएको बिरुवा जस्तै, यो जाडोमा, उसँग नबोल्दा मेरा दिनहरु पनि ओइलाएझैँ लाग्न थालेको थिए। एक किसिमले बानी परिसकेको रहेछ उ सँग कुरा गर्ने। अचम्मको हुने है बानी पनी, लाग्न गार्हो, लागेपछि छुट्न सार्हो। रिस पनि उठ्थ्यो बेला-बेला, केही भएर होला, त्यतिकै त हराउन नपर्ने भन्ठानेर चित्त बुझाउँथेँ।
उसको प्रोफाइल हेर्थैँ दिनहुँ, बेला बेला कता गायब भएको भन्दै म्यासेज गर्ने गर्थेँ, कता हराएको, मलाई बिर्स्यौ आदि इत्यादि... अहँ, केही उत्तर आएन। हप्तौसम्म रहिरह्यो शून्यता, कतै केही खबर आएन। थक्क थक्क लाग्न थालेको थियो, फोन नम्बर, इमेल लिएको भए पनि हुन्थ्यो नि भन्दै; अस्ति-अस्ति त्यसको आवश्यक्ता पनि महसुस भएको थिएन नी।
झन्डै एक महिना बितेको थियो, पल्पसा हराएकी। एक दिन नचिनेको नामबाट म्यासेज आएको देखेँ, उसैकी बहिनीले गरेकी रहिछे,”दाइ पल्पसाले हजुरको लागि यौटा चिठ्ठी छाडेकी छ, मैले स्क्यान गरेर पठाएको छु है" भन्दै, एट्याजमेन्ट पढ्न थालेँ।
" बोधिसत्व नभैसकेको प्यारो प्रवेश, सुरुमा, सरी भनेर यो पत्र लेख्न सुरु गर्दैछु। यो पत्र पाउँदा तिमीलाई केही पनि थाह नदिइ हराएको हुनेछु म, तिमीले पाउने कष्ट, तिमीले पाउने तनाव, र पक्कै रिसाका हुनेछौ, माफी माग्छु म, मेरो विवशता थियो सब। तिमीसँग कुरा गरेर मैले ४-५ महिना बिताएँ होला। तिमीले फेसबुकको सजेसनमा मलाई नदेखेको भए, देखेर पनि फ्रेन्ड रिक्वेस्ट नपठाएको भए, मैले पनि त जो पायो तेही भन्दै तिमीलाई इग्नोर गर्न सक्थेँ। यी सब संयोगहरू नभएको भए कति अपूरो हुने रहेछ मेरा यी आखिरी दिनहरू।
हो प्रवेश, मैले आफ्नोबारे सबैकुरा भनेको थिइन मैले। तिमीसँग भेट्दा नै लगभग थाह भैसकेको मलाई, म मर्न आँटेकी थिए। तिमी सँग भेट भयो, मेरो ट्रान्जिसन सहज भयो। जम्मा-जम्मी २२ वर्ष बसेँ यो संसारमा, गर्न पर्ने र गर्नै सोचेको कामहरू कत्ति थिए कत्ति। म खासमा सार्है डराएकी थिएँ, सुरू-सुरूमा- मरेर, सबैकुरा र सबैलाई छाडेर जान कहाँ सहज हुन्थ्यो र। तिमीसँग गरेका कुराकानीहरू मेरा लागि पेन किलर थिए, कहिले लागेन चाँडै मर्नेवाला छु, ब्रेनट्युमर त के, माइग्रेन छ जस्तो पनि लागेन कहिले। सायद भनेको भए तिम्रो र मेरो सम्बन्ध अर्कै हुन्थ्यो होला कि सोचेर केहि पनि भनिन मैले तिमीलाई। सायद तिमी मलाई यौटी मर्न लागेको केटीको नजरले हेर्थ्यौ होला, हाम्रो च्याटहरूमा ख्याल ठट्टा भन्दा बढी सान्त्वनाका शब्द हुन्थ्यो होला।
हो म स्वार्थी भएँ। म सिकन्दर वा हेन्ड्रिक्स हुन सकिन, तर मर्नु अघि टन्नै सम्झनाहरू लिएर जान चाहन्थेँ। मैले कैले पुनर्रजन्ममा विश्वास गरीनँ, मलाई थाह छ तिमी म भन्दा बढी एग्नोस्टिक छौँ, यिनै शब्दहरूनै हाम्रो आखिरी भेट, तिम्रो लागि मेरो आखिरी सम्झना। यु आर अ भेरी गुड म्यान प्रवेश, स्मार्ट, क्रियटिभ, अनि डाउन टु अर्थ। हाम्रा ख्याल ठट्टा, ती गम्भिर डिबेट्स, म तिम्रो सबैकुरामा भएको नलेज को कायल थिएँ म। आशा गर्छु यु विल डु जस्टिस टु इट, याद छ, सिकन्दर बन्नु छ तिमीलाई, करेजको अफ़ग़ानिस्तान कटेर सपनाहरूको इन्डीया पनि जित्न बाँकी छ।भनिन्छ नि शिखर चड्न हिंडेको मान्छे, फेदिमै अल्मलियो भने, उसले शिखर कहिल्यै टेक्दैन। आशा छ, हिँड्न छाड्दैनौँ, बाटो बिर्सदैनौँ।
जब म हस्पिटलको बेडमा थला परेर बसेको हुनेछु, मलाई थाह छ आइ विल मिस यु टेरिब्ली। पल्पसा क्याफेको त्यो "झरी' भन्ने पेन्टिङ याद छ? म त्यसरीनै झरिरहेको हुनेछु, सायद प्रेम गर्न थालेछु तिमीलाई, थाह नपाइ। कस्तो कमजोर हुन्छ है मन, मर्छु भन्दा भन्दै पनि रोक्न नसकिने। भेट भएन है हाम्रो, बेला बेला कल्पना गर्छु, भेट भए के गर्थेँ होला भनेर। अहिले, शब्दहरू मात्रै भएपनि लिएर-छाडेर जाँदैछु।
धत्, बिदाइ कति गार्हो हुन्छ है? म कतै धुवाँ बनेर उडिसकेको हुनेछु तिमीले यो पत्र पढ्दा। मेरो कमजोरीको समयमा, मेरो लागि पनि उर्जा दिएका थियौ तिमीले, यो पढेर पनि तिमी रुनेछैनौ भन्ने आशा गरेको छु। किन दु:ख मान्नु र, म त विगत हुँ, केही दिन कुरा भयो, रमाइलो भयो, होपफुल्ली यु इन्जोएड माई कम्पनि एस मच एस आइ डीड। तिमीसँग त सारा जिन्दगी छ, जिउनलाई, म जस्ता अरू कति भेट्छौ भेट्छौ तिमीले। मेरो यौटा इच्छा छ, सक्छौ भने बिर्सीदेउ मलाई, होइन भने तिम्रो कथामा कतै यौटा पात्र बनाइदेउ, तिम्री अनामिका जस्तै। ए साँच्ची, ऐना हेर त, दु:खी हुँदा कति नराम्रो देखिन्छौ तिमी।............ “
ऐनातिर आँखा डोर्याउन साहस थिएन मेरो। त्यो भन्दा बढी पढ्न पनि सकिन मैले। फेरी इनबक्समा कहिल्यै आएन, "हेल्लो बोधिसत्व, तिमी बुद्धु कि बुद्ध?" भन्दै उसका म्यासेजहरू।
Leave a reply to Bookaholic Swarnim Cancel reply