देशभक्ति देख्नेहरुले, अलिकति, दौराको फेरमा अल्झिएको देखे, अलिकति, हिमालको टुप्पोमा टल्किएको देखे, अलिकति, स्वयम्भूको आँखामा चम्किएको देखे, अलिकति, नेताको भाषणमा पस्किएको देखे, देख्नेहरुले, मान्छेको मनभित्र सल्किएको पनि देखे! देशभक्ति; खै म कहाँ गएर भेटुँ, छातीभित्र हुन्छ भन्छन्, खै म कहाँ गएर देखुँ?
देशभक्ति; खुकुरीको धारसँगै चम्किएको थियो रे कुनैबेला, वीरहरूको गर्जनसँगै गर्जिएको थियो रे कुनैबेला, म, यति बेला इतिहास खाएर आफ्नो भोक टार्न सक्दिन, मलाई बलभद्रसँगै देशभक्तिले शाहदत पाएको थाह छ, मलाई अमरसिंहसँगै देशभक्तिले अवकाश लिएको थाह छ, मलाई भीमसेनसँगै देशभक्ति सेरिएको पनि थाह छ।
चेतनाले ब्यूँझाइदिएको देशभक्तिलाई, थप्-थपाएर फेरी सुत्न लगाएको मलाई थाह छ, चस्मा जस्तै फुकालेर देशभक्तिलाई, मान्छेहरू मस्त सुतिरहेको- मलाई थाह छ, झन्डा तल बसेर, देश बेचिरहेको पनि मलाई थाह छ, दौडन्छ भन्छन् नशा-नशामा देशभक्ति, सलबलाउँछ भन्छन् रगत रगतमा देशभक्ति, देशभक्ति बहने मैले कुनै नशा देखेको छैन, देशभक्ति कसैको रगतमा सल्बलाएको देखेको छैन, देशका लागि कसैले साउती मारिरहेको देखेको छैन।
समय आएपछि देशभक्ति फुल भएर फुल्छ भन्छन्, सम्सानघाट भैसक्यो देश, खै समय आएको छैन? साना भंगेराहरु सधैँ जालमा परि रहे, सुगाहरू सधैँ पिञ्जरामा बन्द रहे, पश्चिमी हावाका झोँकाले कोपिलाहरू झरि रहे, कोशी-कर्णाली सधैँ रुँदै-रुँदै बहिरहे, फेरी स्यालहरू नयाँ स्वरमा कराइ रहे, दक्षिण हावाहरू त्यसैगरि बहिरहे, खै त, कसैमा पनि- देशभक्ति जागृत भा ‘छैन ।
म यति बेला चुपचाप झ्यालबाट टोलाइरहेको छु, अनि सोच्दै छु; देशभक्ति कुन चराको नाम हे, खै कहाँ हुन्छ यो ।
Leave a reply to Bookaholic Swarnim Cancel reply