ओजिमान्डियसको मरुभूमिमा विजयीहरूको गाथा।


ओजिमान्डियसको मरुभूमिमा
उसले आदेश दिएको थियो रे-
“हे मेरा कृतिहरू,
हेर्नेहरू! डराउ!”

तर आज-
मरुभूमिको तातो बालुवामाथि
शुष्क हावा चलिरहेको छ,
भाँचिएका मूर्तिका टुक्राहरु,
उज्यालो छैन,
छायाँ छैन,
छ त- बिर्सिइएको
“राजाहरूको राजा” को घोषणा,
केवल विगतको आवाज-
“के म कहिल्यै थिएँ?”

टोर्जन युद्धको अजय सेनानी,
अख्खिलीस;
वीरताको कथा सँधैभरी
लेख्न, लड्न गएको थियो-
रंगिएका ढालहरू-
रगतको सौन्दर्यमा
झल्किएको स्वाभिमान,
अनि चुपचाप प्रतीक्षा
गरिरहेको भाग्य।

कसैले सोचेको थिएन-
न ढाल, न तरबार
उसको मृत्यु चुपचाप आउँछ
यति सानो, यति सजिलो
उ मात्रै मरेन युद्धमा,
मर्यो  स्वाभिमान,
अब, युद्धको आवाज छैन,
बस्!  स्मृतिको पौरख।

सिकन्दरले उसैको पूजा गर्यो-
सपना थियो-
संसार जित्ने, इतिहास लेख्ने,
मलेरियाले गर्दा, सिकन्दर महान-
जिवनको पहिलो युद्ध हार्यो-
जिन्दगीसँग।
बिर्सियो की-
अन्तत, हार्नु नै छ,
एकपल्ट एकान्तमा, सबैले।

उत्तर र उत्तराधिकारी दुवै
दिन नसकेको भएर,
५० वर्ष पनि टिक्न सकेन,
उसको महान विजय यात्रा,
उसको महान सम्राज्य,
संसार जित्दै हिँडेको
उसलाई ६ फिट जमिननै
काफि भयो अन्त्यमा।

रोम जल्दै गर्दा,
सम्राट निरो-
बाँसुरी बजाएर हेर्दै थियो रे,
यौटा सभ्यता, इतिहास, यथार्थ-
झन्डै पन्ध्र सय वर्षलाई
मासिन लागेको बेला,
आफ्नो अन्तिम गीत रच्दै थियो।

सुनिन्छ-
उसले बाँसुरी चर्काउँदै
भनिरहेको थियो:
“यो त इतिहासको पुनर्लेखन हो”
कतै- खुशी भएको थियो,
सभ्यता-  आफैँ ढल्दैथियो,
बिना युद्ध, बिना शत्रु।

नेपोलियनले अन्तिम सास फेर्यो
सेंट हेलेना, टाढा अनकन्टारको टापुमा-
जहाँ न त युद्ध थियो,
न सैनिक, न सम्मान
शब्द गुमेको, मानचित्र हराएको,
टुक्रिएको मुकुट मात्रै बाँकि।

घोडामाथि चढेर,
जलाएको मस्को हेर्दै सोधेको थियो रे,
“विजय साँच्चै कुन मोडमा हुन्छ?”
महान साम्राज्यको सपना
देखेको उ, अन्त्यमा
आफ्नै सपनाको ओजनमा
स्लो पोइजनको सिकार भएको थियो,
उसको संसार जित्ने घोडाले
त्यो टापु कहिल्यै भेटेन।

हिरोसिमाको भोलीपल्ट,
ह्यारी ट्रुमेनले-
बिहानै उठेर,
पत्रिकामा हेर्यो होला,
लिटल ब्वाइको-
एटोमिक क्लाउड,
क्षतविक्षत लासहरु,
कहालीलाग्दो विभत्सता,
देख्यो होला
नयाँ हिरोसिमा।

हिरोसिमाको खरानीसँगै
मानवता जलिरहेको,
चिच्याहटले भरिएको आकाश,
लाखौँ निर्दोषहरु जलेर
सफल भएको अमेरिकाको
विश्वविजेता बन्ने सपना।

विभत्सता देखेर-
आत्तियोकी कतै?
उद्देलित हुँदै सायद
सबैले पढे होलान्
“विजय भनेको मृत्युलाई
उपहारमा थमाउने कला हो।”
अनि सबेरै- एक-एक पेग
वाइन उठाएर गरे होलान,
सब्बैजनाले चियर्स।

ओजिमान्डियसको मरुभूमिमा
ट्रुमन र नेपोलियनले-
एक-अर्काको छायाँ मात्र देखे
साथमा थिए-
हराइसकेका सपना
बचेको थियो-
शून्यको एक सानो आवाज,
“उनीहरूलाई रोटी छैन?
केक बाँडिदिउँ?”
मरी एन्तोनेटले
झ्यालबाट हेर्दै भन्दै थपिन,
“राजनीति मिठो भ्रम हो।”

एलेक्जेन्डरले,
सपना देखेको थियो-
उसले जितेको संसार,
टिकेन विजयको नक्सा,
टिकेनन् ति सहरहरू।
निरो बाँसुरी बजाइरहँदा,
रोम फेरि एकपटक
धुवाँमै हरायो,
एटोमिक क्लाउडको छायाँमा,
ट्रुमेनले खरानीहरू माझ
गरेको विजयको घोषणाझैँ।

विजय आखिर कसको?
“सभ्यताको नाममा!”
लाखौं जिउँदाहरू
खरानी बनाएको दम्भ-
विभत्सता- सबैलाई
ऐना बनेर खुल्याइ देखाइ दिन्छ।

सबैको अन्त्य एउटै-
छायाँभन्दा हल्का
सम्झनाहरू,
६ फिट जमिन,
सस्तो इतिहास।
Posted in , , , ,


Leave a reply to Bookaholic Swarnim Cancel reply

One response to “ओजिमान्डियसको मरुभूमिमा विजयीहरूको गाथा।”

  1. Bookaholic Swarnim Avatar

Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun





kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.