सबैले चतुरे भन्थे उसलाई, सायद सोझो भएर होला, थाप्लोभन्दा ठूलो संसार बोकेको फुस्रो पेट लिएर हिँड्ने बालक।
पिपलबोटे खोलाको छेउमा, ऊ, उसकी आमा, र तीन जना साना बहिनीहरू बस्दथे- सानो झुप्रोमा- टालटुल छाना, च्यातिएको प्लास्टिक, जसको छानाले पानी थाम्न सक्दैनथ्यो, न त आँसु नै रोक्न सक्थ्यो, जहाँ खसिरहेको आशा मात्रै बाँकी हुन्छ।
उसकी आमा, खोलाको आवाजमा हराउँदै आफ्ना कठोर हातहरूले दैनिक गिट्टी कुट्थिन्, सहर पुऱ्याउने सडक बनाउन- बिहान बेलुकाको छाक टार्न- चूलोमा भात होइन, दैनिक दुःख पाक्थ्यो।
बाउ मुगलान गएको तीन वर्ष- न चिठी, न खबर, न सपना बाँकी छ, उसको नाम अब सम्झनामा पनि अलिकति बोझ भएको थियो।
त्यो साल- आकाशले पिउन बिर्सेझैं पानी खन्यायो, छाना हाँस्यो। पानी आकाशबाट मात्रै खसेन, छानाबाट झरेको- भोकको आवाज खोलाभन्दा ठूलो भेल बनेर आयो।
पानीले काम रोकियो, भाँडामा न तरकारी- न भात, न त माड नै। तीन दिन भयो, एक गेडो अन्न नपरेको पेटमा।
कताबाट टिभीमा देखेछ- गाडीले मान्छे किच्यो भने दश लाख क्षतिपूर्ति! दश लाख!
त्यति धेरै पैसा- उसको आँखामा त्यो रकम भात जस्तो देखियो, अन्न जस्तो गन्हायो, जिन्दगीजस्तो लाग्यो उसको सपना भन्दा ठूलो। अनि ऊ- गाडीको तल छिऱ्यो।
न शहीद, न बहादुर, एक भोकाएको केटो, जसले बुझिसकेको थियो कि यो संसारमा हारेकाले केही पाउँदैन, गुन्द्रुकको झोल पनि नभेटेर, उसले साँच्चै गर्यो- चौथो दिन बिहानै, गाडीको तल पस्यो।
आमाले गिट्टी कुटेर बनाएको नयाँ राजमार्ग, गाडी आयो, धन्न चिच्यायो ब्रेक, मर्न त मरेन तर उसको बायाँ हात सडकमै हरायो, कच्याककुचुक्क- जिन्दगीभरि नचल्ने बनाइदियो।
अस्पतालमा, आँखा खोलेर हेर्दा, चतुरेले देख्यो- मौनताले भरिएको कोठा, आफ्नो टुक्रिएको हात, आमाको निधारमा घामजस्तो पसिना।
सबैको एउटै प्रश्न- “किन गरिस् यस्तो?”
चतुरेले हाँसेन- आँसु पोख्दै भन्यो- “मल्न, मलेर दश लाख लुपियाँ कमाउन, म, बुहिनिहरु, अनि आमालाई भात किल्न।”
Leave a reply to Bookaholic Swarnim Cancel reply