भुपी,
हिजो तिमीले तिम्रो चोकमा
रोग, भोक र शोक देख्यौ,
“देशको नाभी” त्यही चोकमा
आज धेरै थोक थपिएको छ।
ती चोकहरूका भित्तामा,
पुरुषहरूले इतिहास लेख्दै गर्दा,
टाउकोमा पानीको घाम बोकेर
कविताको छायाँ बनेर
बाँचिरहेकी मानुषी देखेनौँ,
उसको शरीर देखेनौँ,
उसको आत्माको चित्कार
के तिमीले देख्यौ
त्यो चोकको छेउमा
चुपचाप टोलाउँदी मानुषी?
उसको स्वर तिम्रा कविताबाट
किन कहिल्यै फुत्किएनन्?

उ मानुषी,
उ पनि त त्यही चोककै थिई।
उ न त कवितामा पसी
न मन्दिरको देउतामा।
के तिमीले त्यो चोकमा
उसको आवाज सुनेका थियौ, भुपी?

तिमी शहीदको गणना गरिरह्यौ,
तर सुनेनौ विस्थापित सपनाहरू,
दिनदिनै बरबराउने
मानुषीको मौनता -
शब्दहीन, इतिहासविहीन।

भुपी,
तिमीले त लेख्यौ–
“म चोकमा बस्दछु,”
तर ऊ त त्यस चोकमै हराइरहेकी थिई।
शब्दहरू लेख्न सक्नेहरूले
कति सजिलै पचाइदिन्छन्
अदृश्य अन्याय?

भुपी, मलाई जवाफ चाहिएको छ -
किन उसको हाँसो कहिल्यै
तिम्रो चिया बोटहरूमा फक्रेन?
किन उसको उपस्थिति -
सधैं ओझेल, सधैं पृष्ठभूमि?
कविता बन्न नसकेकी इतिहास?

भुपी -
के बुझ्यौ कहिलेकाहीँ,
अल्झिएको हाँसोभित्र
चर्को चित्कार लुकेको हुन्छ?
हिजो तिमीले पनि त उसको
अनुहार चिनेका थियौ -
उसको आँसु बुझेका थियौ कि?

आज ऊ मानुषी -
बाँचिरहेकी छे
बहिरा कान र बन्द आँखाबीच।
इतिहासले लेखिरहन्छ -
पुरुषले देख्ने, पुरुषले भोग्ने,
पुरुषले व्याख्या गर्ने दुःख।

म मानुषी -
तिमी यो चोकको कवि थियौ,
म - यो चोकको साक्षी।
तिमी बस्यौ कविताको साथ,
अहिले म यो चोककी निवासी -
बिनाशब्दका घाउ बोकेर
टोलाउँदै, टुक्रिँदै
घण्टाघरको फेदमा उभिएर
रानीपोखरीको रित्तोपनजस्तै
समय उल्टिएको हेरिरहेकी छु।

कविता किन बोल्दैन, भुपी?

म मानुषी -
कहिले भित्तामा झुन्ड्याइएकी चित्र,
कहिले नारी दिवसको भाषण।
तिमीहरूले मलाई चिनेका थियौ,
तिमीहरूले मलाई नियालीरहेका थियौ -
मेरो शरीरको हरेक चाल, हरेक कमजोरी।
नदेखिएको त वर्षौँदेखिको दोहन छ,
नसुनिएको त मजस्ताका चित्कार छन्,
नलुटिएका त मेरो जस्तै मौनता छन्,
नखोसिएको त सास मात्रै छन्।

तिम्रो चोकले - तिम्रा कविताहरूले
सुनेनन् - म मानुषीको मौन चित्कार।

म मानुषी -
अब म तिम्रो
कविताको पात्र होइन,
आफ्नै कथाको लेखिका।
मैले देखेको छु -
तिमीहरूको इतिहासमा,
तिमीहरूको कृति‌हरूमा -
राजा, कवि, शासक, र विद्रोही।

तर म?
म त केवल प्रसंग थिएँ -
कहिले दुःखको, कहिले प्रेमको,
तर कहिल्यै निर्णयको होइन।

तिमीले रङ देख्यौ झण्डामा,
मैले रगत देखेँ
आफ्नो शरीरबाट बगिरहेको।

तिमीले भन्ने गर्थ्यौ “देश”
तर त्यो देश
मेरा लागि कहिल्यै घर भएन।

मलाई त तिमीहरूको
वंशावलीमा पनि ठाउँ भएन।

म मानुषी,
अब मलाई तिमीहरुको कविता होइन,
मेरो आफ्नै स्वर चाहिएको छ।
अब म लेख्दैछु नयाँ इतिहास -
म पुरुषहरूको आँखामा प्रश्न राखिदिन्छु -
किन युद्ध सधैं पुरुषका नाममा हुन्छ?
किन वीरगति पाउनेहरूलाई
सधैं पुरुषत्व चाहिन्छ?
किन बलिदान स्त्रीको हुन्छ,
तर श्रेय पुरुषको?

तिमीहरू सधैं भन्थ्यौ -
“युग बदल्न कविहरू चाहिन्छ।”
जो कवितामा चुपचाप आत्मा लुकाउँछन्
र हाँस्दा आँसु पखाल्छन्?

अब म भन्छु -
युग बदल्न कवयित्रिहरूको क्रोध चाहिन्छ।

मेरो कविताहरू कराउनेछन् -
तोड्छन्, खण्ड–खण्ड पार्छन्
र फेरि बनाउँछन् नयाँ ढाँचा।

भुपी,
अब म मैनवत्तीजस्तो जल्दिन -
म आगो बन्छु, र जलाउँछु
इतिहासका ती पृष्ठ,
जहाँ मेरा कथा कहिल्यै लेखिएनन्।
Posted in , , ,


Leave a reply to Bookaholic Swarnim Cancel reply

One response to “मानुषी: भुपीसँगका थाँती संवाद।”


Subscribe to get the latest posts sent to your email.

Discover more from kafkaintherun




मानुषी: भुपीसँगका थाँती संवाद।

kafkaintherun

who tells the birds where to fly?

© 2025 all rights reserved. Designed with WordPress.