म जन्मिँदा - छाला एउटै थियो, रगत एउटै, हाँसो एउटै। तर धर्म आयो - उसले मलाई जातमा काट्यो, थरमा टाँस्यो।
उसले भन्यो - “तिमी यो होइनौ। तिमी त्यो - जसले छोएपछि पानी पनि अछुतो हुन्छ।” “पवित्रता किन आगोमा नापिन्छ?” चुलो छोएर कोही किन “दोषी” हुन्छ?
म जन्मिनु ममाथि थिएन - म जन्मनासाथ मलाई थरले बाँध्यो। म पनि मान्छे थिएँ - पसिना बगाउने, गीत गाउने, आँसु झार्ने अनि आँखा देख्ने।
तर तिमीहरूले मेरा सबै इन्द्रियहरूलाई अपराध बनायौ। धर्मले आदेश दियो – “तिमी तल्लो,” कसरी मानौँ आत्माको पनि थर हुन्छ?
मलाई थाहा छ - तिमीहरूले मुर्दा देवता बनाएका छौ। तिमिहरूका कुनै भजनको श्लोकले - मलाई चिनेन। कुनै धर्मग्रन्थले - मेरो हात समातेन।
मैले भगवान चिनेँ - तिमीहरूका भगवानले पहिले जात खोजे, को जाने वैकुण्ठ- को सँधै नरक।
म थरबाट जन्मिएँ - तर थर कहिल्यै मेरो थिएन। त्यो बुवाको थर थियो, बुबाको पनि, हरेक बुबाहरूको इतिहासमा मातृकुल हराइरहेको प्रमाण।
किनभने - म होइन, मेरो थर पो थियो यस देशको नागरिता।
कसरी मानौं - कि म पापी हुँ? म यो थर लिएर बाँचें। यो थर लिएर गरे संघर्ष। त्यो थर किन - जन्मदैँ दोष मानियो?
कसरी विश्वास गरौं? स्नान गर्दा शुद्धि गर्ने पानी मैले छुँदा तिमीलाई अपवित्र लाग्छ?
धारमा एउटै घाम पर्छ, शरीर एउटै रगतले भरिन्छ। तर जातको पर्खाल उचालेर हाम्रो हाँसोमा सिउरिइन्छ।
शब्दमा जस्तो लाज धर्ममा उस्तै मौनता - त्यही मौनता जसले हामीलाई जातको- अन्धकारमा गाड्यो, जहाँ धर्म एक भ्रम, र अधर्म नै परम्परा।
स्कुल भर्ना फर्ममा - सबैभन्दा पहिलो प्रश्न “तपाईंको जात?”
स्कुलको पर्खालमा लेखिएको थियो: “शिक्षा सबका लागि!” तर शिक्षकले नाम लिँदा, उसको नामसँगै जात टाँसिन्थ्यो - “कामी, दमाई, सार्की…”
आजभोली - स्कुलमा गुरुले सोधेभने - “बाआमाको थर के हो?” म टक्क अडिन्छु, मैले देवकोटा पढेको छु, म परिजात सम्झन्छु।
म भनिदिन्छु- “मेरो थर कविता हो!” “म थर नभएको आत्मा हुँ,” “म आत्मा मात्र होइन, म समाजको सम्पूर्ण रचना हुँ।”
मैले लेखिदिन्छु- मेरो थर कविता यो थर- मेरो विरासत होईन, यो थर- मेरो विरोध हो।
तर यहाँ - साहित्यमा पनि थर छ, शब्दमा पनि चुलो छ जसले मलाई सँधै छायाँमा लेखिरहन्छ।
अब बोल्ने पालो मेरो हो। म लेख्छु - पर्खालमाथि होइन, पर्खालभित्रका चिसा आत्माहरूका लागि।
मेरो कवितामा जात छैन, वर्ग छैन, पुर्खा छैन, भक्तिभाव छैन, तर कवितामा आफ्नै अनुहार भेटिन्छ।
तर आज म लेख्छु - मेरो रगत कुनै देवताको देन होइन, म तिनै देवतालाई झक्झकाउने कविता हुँ। म बगाउँदिन शब्दहरू सस्तो क्रोधमा। म चलाउँदिन जिब्रो बिना विवेकको नारा जस्तै।
अब भाषामा मात्र बोल्दिन, सांसमा बोल्छु - रगतमा बोल्छु, तिमीहरूले हेपेका ती सबै आंखाको त्यो नीलो भैसकेको मौनता बोल्छु, जहाँ जात छैन, केवल आँखा छन् - साधारण आँखा।
शिव, बुद्ध, र कालो पृथ्वी - तिमीहरूको मौनताले मलाई शब्द दियो। आज जब म कथा सुनाउँछु - शिवको, रामको, बुद्धको। म उनीहरूलाई पुछेर, नयाँ अनुहार दिन्छु, जहाँ ती देवताहरू मेरो आवाज सुनेर अलिकति थर्किन्छन्, अलिकति लजाउन्छन।
हे आकाश, तँ न कुनै थरको होस् न कुनै वर्णको। तँजस्तो शून्य, म पनि तँ बन्न चाहन्छु।
अथवा - त्यो अन्तिम धूवाँजस्तो, जातरहित।
म चाहन्छु - मेरो थर तिमीहरूको मौनता चिरेर तिमीहरूकै मनको भित्तामा कुँदियोस एक आगोको अक्षरजस्तो।
Leave a reply to Ramesh Luitel Cancel reply